
१३ साउन, काठमाडौं । दक्षिण कोरियामा अमेरिकी राजदूत हेरी ह्यारिसको जुँगाको विषयमा विवाद उत्पन्न भएको छ । यो विवाद जन्मिएसँगै उनले आफ्नो जुँगा काटेका छन् । उनले जुँगा काटेसँगै विवाद पनि साम्य हुने अपेक्षा गरिएको छ । दक्षिण कोरिया र अमेरिकी सेनाको बीचमा सैन्य सम्बन्ध रहेको छ ।
दक्षिण कोरियामा अमेरिकाका २८ हजार पाँच सय सैनिक छन् । तर, पछिल्लो समय यी दुई मुलुकको बीचमा केही मतभेद देखिएका छन् । विवादको कारण उत्तर कोरियाको विषयलाई लिएर दुई मुलुकको फरक फरक किसिमको कदम र सुरक्षा खर्चको हिस्सेदारीको मुद्दा हो ।
यो बीचमा दक्षिण कोरियामा ह्यारिस विवादमा तानिएका हुन् । उनीमाथि मनोमानीरुपमा काम गरेको आरोप छ । यहाँसम्मकी उनको जुँगाको विषयमा पनि बहस सुरु भएको थियो । यो विवाद आएसँगै उनले सामाजिक सञ्जालमा परमपरागत कोरियाली सैलुनमा गएर जुँगा काटेको भिडियो पोष्ट गरेका थिए ।
उनले सार्वजनिक गरेको भिडियोमा उनले सोलको गर्मीमा महामारीको कारण मास्क लगाउनमा समस्या देखिएको थियो, त्यसैले जुँगा काट्ने निर्णय गरेको बताएका छन् ।
यसअघि गत जनवरीमा कोरियाली प्रायद्वीपमा जारी तनावको बीचमा ह्यारिसको जुँगाको मुद्दा राजनीतिरुपले संवेदनशील बनेको थियो । अमेरिकी नौ सेनाको प्रमुखसमेत बनिसकेका ह्यारिसमाथि आफ्नो जुँगा बढाएर आफ्ना पाहुनाको अपमान गरेको आरोप लागेको थियो ।
धेरै कोरियालीले ह्यारिसको जुँगाले कोरियामा जापानी उपनिवेशको समयलाई सम्झाएको बताएका थिए । यसको कारण ह्यारिसको पारिवारिक पृष्ठभूमि पनि हो । ह्यारिसकी आमा जापानी र पिता अमेरिकी नागरिक हुन् । ह्यारिसका पिता अमेरिकी नौसेनाका अधिकारी थिए ।
सन् १९१० देखि १९४५ सम्म कोरियाली प्रायद्वीपमा शासन गर्ने जापानप्रति अहिले पनि कोरियाली नागरिकहरुमा असन्तोषको भाव रहँदै आएको छ ।
ह्यारिस सन् २०१८ देखि अमेरिकी राजदूतको रुपमा सोलमा रहँदै आएका छन् । उनी आएसँगै सामाजिक सञ्जालमा मानिसहरुले औपनिवेशिक कालमा सबै आठ गभर्नर जनरलको यस्तै जुँगा हुने गरेको बताउन थालेका थिए ।
स्रोत :बीबीसी
प्रतिक्रिया 4