
१९ वैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोना संक्रमितको उपचार गराउन गाउँपालिका, नगरपालिका र महानगरपालिकालाई क्रमशः कम्तीमा १५, ५० र १०० बेडको अस्पताल सञ्चालन गर्न अनुरोध गरेको छ ।
तीनै तहका सरकार एवं निजी क्षेत्रका अस्पताल लगायत सबै निकायको समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने उदेश्यका साथ कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले यस्तो अनुरोध गरेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
कोभिड–१९ को दोस्रो लहर तीब्र रुपमा बढीरहेको भन्दै यसको रोकथाम तथा नियन्त्रणका लागि मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार अस्पताल सञ्चालन तथा व्यवस्थाप गर्न सबै स्थानीय तहलाई अनुरोध गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
दैनिक संक्रमितको संख्या बढ्दो रहेको भन्दै नेपाल सरकारले तोकेको सेवा सुविधा प्राप्त गर्ने गरी कोभिड–१८ डेडिकेटेट अस्पताल सञ्चालन गर्न जिल्लास्थित सबै निजी अस्पताललाई अनुरोध गर्ने निर्णय भएको उनले बताए ।
जिल्ला भित्र सञ्चालित सबै निजी अस्पतालहरुले कुल बेडको कम्तीमा २० प्रतिशत बेड कोभिड–१९ संक्रमित बिरामीहरुको उपचार तथा व्यवस्थापनका लागि छुट्याउने र त्यसरी छुट्याइएका बेडको प्रयोग र खाली अवस्था दैनिक रुपमा अध्यावधिक गरी कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द र स्वास्थ्य कार्यालयलाई जानकारी गराउनु पर्ने निर्णय समेत भएको उनले बताए ।
हेर्नुहोस् विज्ञप्ति :
प्रतिक्रिया 4