२१ फागुन, काठमाडौं । जेनजी आन्दोलनपछि सिर्जित राजनीतिक संक्रमण अन्त्य गर्न आज देशभर निर्वाचन भइरहेको छ ।
अनलाइनखबरको टोली ललितपुरका विभिन्न मतदान केन्द्र पुग्दा मतदाताहरू धैर्यका साथ मतदान प्रक्रियामा सहभागी थिए । मतदान गर्न लाइनमा उभिएका, मतदान गर्न गइरहेका र फर्किरहेकाहरू उत्साहित नै थिए ।
ललितपुर महानगरपालिका-२९, हरिसिद्धि मावि मतदान केन्द्रमा खटिएका निर्वाचन पर्यवेक्षक बाबुराम विश्वकर्माका अनुसार मध्यान्हसम्म शान्तिपूर्ण वातावरणमै निर्वाचन भइरहेको छ । ‘अहिलेसम्म शान्तिपूर्ण वातावरणमै यस वरपरका मतदान केन्द्रहरूमा मतदान भइरहेको छ,’ उनले भने ।
यद्यपि मतदाताहरूले पनि यो निर्वाचनलाई आवधिक निर्वाचनका रूपमा मात्र भने हेरेका छैनन् । ‘मुलुक सही तरिकाले चलेको भए ०८४ सालमा निर्वाचन हुनुपर्ने हो । तर बेला नहुँदै मतदान गर्दैछौँ,’ ललितपुर महानगर–२ टीका मावि केन्द्रमा भेटिएका एक मतदाताले भने, ‘विशेष समयमा निर्वाचन भएको छ भने त्यसले दिने नतिजा पनि विशेष नै हुन्छ होला ।’

यद्यपि जेनजी मतदाताहरू अपेक्षित संख्यामा देखिएनन् । बिहान ७ बजेदेखि मध्य दिनसम्म मतदान गर्ने लाइनमा अधिकांश मतदाता जेनजी उमेर समूह भन्दा माथिका देखिन्थे ।
तर उनीहरूमा जेनजी आन्दोलनको भावना र सन्देश भने लुक्दैन । कुराकानीका क्रममा थुप्रै मतदाताले परिवर्तनको सन्देश यो निर्वाचनबाट दिइनुपर्ने मत राखे भने ठुलै हिस्साले नयाँहरूले पनि निकास दिन्छन् भन्ने आधार नदेखिएको तर्क गरे । तर उनीहरू सबैको आशा साझा छ- यो निर्वाचनले मुलुकलाई राजनीतिक निकास देओस् ।

‘जेनजी आन्दोलन उठाउन म साथीहरूसँग सडकमा गएको थिएँ । त्यही आन्दोलनका कारण आज निर्वाचन हुँदैछ,’ ललितपुर महानगरपालिका–२९, हरिसिद्धिका २५ वर्षीय प्रज्वल महर्जनको विश्वास व्यक्त गर्दै भने, ‘यो निर्वाचनले सही मानिसहरूलाई निर्वाचित गरोस्, देशले सही बाटो समातोस् ।’
मतदानको आधार एजेन्डा
मतदानमा सहभागी युवाहरूमा सुनाएको अर्को विशेषता हो- नयाँ र पुरानाको आधारमा मात्र मत दिइँदैन । उनीहरूले फरक-फरक दल र तिनका उम्मेदवारलाई मतदान गरेको प्रतिक्रिया जनाएका छन् ।
कतिले चाहीँ परिवर्तनका लागि नयाँलाई मतदान गरेको जनाए । तर नयाँभित्रै पनि एकमत देखिएन । ‘नयाँ पनि त एउटै छैन । उनीहरूले विगतमा गरेका काम हेरेर नयाँमध्ये कसलाई रोज्ने भन्ने हुन्छ,’ सातदोबाटोस्थित मतदान केन्द्रमा भेटिएका एक युवकले भने ।
कतिपय युवा त मत दिनलाई विदेशबाटै आएका पनि भेटिए । त्यस्ता युवा मध्ये एक थिइन्- २७ वर्षीया दिना हिङ्माहाङ । ललितपुर-३ को महेन्द्र आदर्श विद्याश्रममा भेटिएकी उनी दुबईबाट मतदान गर्न आएकी थिइन् ।
‘भोट पनि हाल्न हुने र परिवारसँग पनि भेट हुने भएकाले नेपाल आएकी हुन्,’ बुढी औँलामा मतदान हालिसकेको चिन्ह देखाउँदै उनले भनिन् । उनका अनुसार केही वर्षदेखि रोजगारीका लागि दुबईमा छिन् ।
जेनजी आन्दोलनका दृष्यहरू उनले मोबाइल फोनबाट देखेकी थिइन् । आन्दोलनलाई देश बाहिरबाट हेर्दा उनको मनमा उकुसमुकुस भएको थियो । देश अस्थिरतातिर जाने त होइन भन्ने आशंका थियो । तर तोकिएको समयमा नै निर्वाचन हुँदा उनी खुसी छिन् । ‘भनेकै बेला निर्वाचन भयो । त्यही भएर मतदान गर्न आएकी हुँ,’ हिङमाङले भनिन् ।
यही मतदान केन्द्रमा मत दिएका २२ वर्षीय मिशल लिम्बूमा पनि मत दिन पाउनुको खुसी थियो । मतदान केन्द्र परिसरभित्र छिरेकी आमालाई कुरिरहेका उनी यसपटक आफ्नै बुझाइका आधारमा मत दिएको बताउँछन् ।
‘यो मेरो मतदान हो । तर दुवैपटक मैले कसैबाट प्रभावित नभई मत दिएँ,’ उनले अनलाइनखबरसँग भने । आफूले परिवर्तनकै पक्षमा मत दिएकोसम्म खुलाएपनि कसलाई दिए भन्ने गोप्य राख्न चाहे ।
दिना र मिसल जस्तै २४ वर्षीय प्रतीक्षा महर्जन पनि मतदानका निम्ति उत्साहित थिइन् । पहिलोपटक मत दिन लाइनमा उभिएकी उनले हल्का डर लागिरहेको बताइन् ।

एक हुल साथीहरूसहित हरिसिद्धि मावि मतदान केन्द्र परिसरमा घुमिरहेका प्रज्वलसँग भने अरू युवाहरू भन्दा तलुनतात्मक रूपमा धेरै राजनीतिक जानकारी थियो । उनले आफूले मतदान गर्ने ललितपुर–३ का उम्मेदवारहरूको सकारात्मक र नकारात्मक कुराहरूको लामै विवरण सुनाए ।
हरिसिद्धिका जनताको कुरा बुझ्न र प्रतिबद्धता जनाउन बालेन नआउँदाको असर नतिजामा देखिने पनि उनले बताए । ‘बालेन यता आएको भए त्यसको असर पर्थ्यो । तर आउनु भएन,’ उनले भने ।
बालेन मात्र नभएर ०७९ को चुनाव जितेका तोसिमा कार्कीले पनि यो क्षेत्रलाई बेवास्ता गरेको तर्क प्रज्वलले सुनाए । उनका साथीहरू अनुराग, रोहित, समतालगायत भने धेरै बोलेनन् । ‘यहाँ सबै जना महर्जन छौँ, युवा पनि छौँ । हाम्रो कुरा पनि एउटै हो,’ प्रज्वलको तर्कमा सहमत हुँदै उनका साथीहरूले भने ।
जेनजी आन्दोलनदेखि मतदानसम्म सहभागी भएका उनीहरूमा मुलुकले राजनीतिक निकास पाओस् भने साझा विश्वास छ । ‘जेनजी आन्दोलको सडकदेखि मतदानको लाइनसम्म उभिँदा हाम्रो एउटै कुरा छ । देशमा राम्रो होस्,’ प्रज्वलले भने ।
ललितपुर क्षेत्र न २ को मीननाथ बहाल मङ्गल मतदान केन्द्रमा भेटिएका आरती श्रेष्ठले भने आफ्नो राजनीतिक निर्णय बाकसमार्फत दिने बताइन् । मतदान गर्न हतारमा देखिएकी उनी मतपत्रमार्फत नै आफ्नो सन्देश दिँदै थिइन् । उनीहरू बाहेक हामीले कुराकानी गरेका युवा मतदाताहरूसँग मतदानप्रति उत्साह उत्साह थियो ।
प्रतिक्रिया 4