भिम शार्की
नेपाल, ब्याट्समेन
नेपाल, ब्याट्समेन भिम शार्की नेपाली राष्ट्रिय क्रिकेट टोलीका दायाँहाते ब्याटर हुन् । मध्यक्रममा ब्याटिङ गर्ने उनी धैर्यपूर्वक इनिङ्स सम्हाल्न सक्ने, आवश्यक पर्दा आक्रामक शैलीमा रन बनाउन सक्ने खेलाडीका रूपमा परिचित छन् । सुदूरपश्चिमको कञ्चनपुरबाट क्रिकेट यात्रा सुरु गरेका भिमले उमेर समूह हुँदै राष्ट्रिय टोलीसम्मको यात्रा तय गरेका हुन् ।
कञ्चनपुरका २५ वर्षीय भिम नेपाली क्रिकेटका नयाँ पुस्ताका ब्याटरमध्ये एक हुन् । घरेलु क्रिकेटमा निरन्तर प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा स्थान बनाएका उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतकसमेत प्रहार गरिसकेका छन् । उनले सन् २०२४ फेब्रुअरीमा कीर्तिपुरमै भएको क्यानडा विरुद्धको खेलमा ओडिआई शतक प्रहार गरेका थिए ।
भिमले सन् २०१८ देखि विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट खेल्न थालेका थिए । ब्याटिङ र फिल्डिङ दुवैमा उनको प्रदर्शनले गर्दा घरेलु क्रिकेटमा उनले चर्चा पाउन थाल्यो । सुरुमा उनले चितवन टाइगर्सबाट एभरेस्ट प्रिमियर लिग (इपीएल) खेलेका थिए । जहाँ उनले ब्याटिङसँगै उत्कृष्ट फिल्डिङका कारण पनि पहिचान बनाए ।
उनको फिल्डिङ क्षमताका कारण उनलाई ‘जोन्टी’ उपनामले समेत चिनिन थालियो । दक्षिण अफ्रिकाका महान् फिल्डर जोन्टी रोड्सको नामबाट उनलाई यो उपनाम दिइएको थियो ।
सन् २०१९ मा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको सिरिजका लागि भिम पहिलोपटक राष्ट्रिय टोलीमा परेका थिए । तर त्यस टुरमा उनले डेब्यु गर्ने अवसर पाएनन् । त्यसपछि उनले घरेलु क्रिकेटमा आफ्नो प्रदर्शनलाई निरन्तरता दिँदै राष्ट्रिय टोलीमा पुनरागमनको प्रतीक्षा गरे । अन्ततः २२ मार्च २०२२ मा पपुवा न्युगिनीविरुद्ध खेल्दै उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरे ।
त्यसयता उनले नेपालका लागि ४१ ओडिआई खेलिसकेका छन् । जसमा उनले एक शतक र ४ अर्धशतकसहित १ हजार ३४ रन बनाएका छन् । यस्तै उनले दुई टी२०आई पनि खेलेका छन् ।भिमले सन् २०२५ मा स्कटल्यान्ड भ्रमणको अवसरमा नेदरल्यान्ड्स विरुद्ध टी२०आईमा डेब्यु गरेका थिए भने स्कटल्यान्ड विरुद्ध दोस्रो टी२०आई खेले ।
भिमलाई नेपाली राष्ट्रिय टिममा भरपर्दा मध्यक्रमको ब्याटरको रुपमा हेरिएको थियो । तर मैदानमा एकरुपको प्रदर्शन भने हुन सकेको छैन ।
भिम नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजमा आबद्ध भएर खेलिरहेका छन् । उनी पहिलो सिजन काठमान्डुमा अनुबन्ध भएपछि त्यसपछि लगातार दुई सिजन रिटेन भएका हुन् । घरेलु क्रिकेट भने उनले विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट खेल्छन् ।
Read Full
प्लेयर्स टु वाच



















