सन्तोष यादव
नेपाल, अलराउण्डर
नेपाल, अलराउण्डर रुपन्देहीका सन्तोष यादव नेपाली क्रिकेटका उदाउँदो अलराउण्डर हुन् । बायाँ हाते ब्याटर उनी स्लो लेफ्ट आर्म अर्थोडक्स बलर हुन् । १९ वर्षको उमेरमै सन्तोषले घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई प्रमाणित गरिसकेका छन् । उनले नेपालको उमेर समूह हुँदै नेपालको राष्ट्रिय टिमबाट टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरिसकेका छन् ।
कीर्तिपुरस्थित टी२० मैदानमा २०२६ अप्रलिमा युएई विरुद्धको खेलबाट उनले नेपालको लागि डेब्यु गरेका थिए । वान डाउनमै ब्याटिङ गर्ने अवसर पाएका उनी १ रनमै आउट भएपनि सिनियर टिमको अनुभव हासिल गर्ने अवसर पाए ।
यू-१९ टिम र पीएम कप सिनियर पुरुष एकदिवसीय क्रिकेटपछि सन्तोष चर्चामा आएका थिए । उनले सन् २०२४ डिसेम्बरमा भएको एसीसी यू-१९ एसिया कपमा श्रीलंका विरुद्ध ४ र अफगानिस्तान विरुद्ध ३ विकेट लिए ।
त्यसअघि उनले सन् २०२४ नोभेम्बरमा भएको क्यान यू-१९ राष्ट्रिय प्रतियोगितामा सनसनीपूर्ण प्रदर्शन गर्दै तहल्का मच्चाएका थिए । यू-१९ राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश फाइनलमा सुदूरपश्चिमसँग ८ रनले पराजित भएपनि सन्तोष प्रतियोगिताको प्लेअर अफ दि सिरिज घोषित भएका थिए । जहाँ उनले १८१ रन बनाउनुका साथै सर्वाधिक २७ विकेट लिएर अलराउण्ड प्रदर्शन गरेका थिए । ब्याटिङमा भने उनी सर्वाधिक रन बनाउनेमा तेस्रो स्थानमा थिए ।
यस्तै सन् २०२६ मै भएको प्रधानमन्त्री कप सिनियर पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशबाट खेलेका सन्तोषले अलराउण्ड प्रदर्शन गर्दै प्लेअर अफ दि सिरिजको अवार्ड जितेका थिए । जहाँ उनले ब्याटिङबाट २६५ रन बनाउनुका साथै बलिङमा २१ विकेट लिएका थिए । ब्याटिङमा उनी सर्वाधिक रन बनाउनेमा दशौँ स्थानमा थिए भने बलिङमा सर्वाधिक विकेट लिनेमा हेमन्त धामी, सन्दीप लामिछाने र शेर मल्लपछि चौथो स्थानमा थिए । त्यही प्रदर्शनमा आधारमा उनी पहिलो पटक सिनियर राष्ट्रिय टिममा अटाएका थिए ।
सन्तोष नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजमा आबद्ध छन् । एनपीएल दोस्रो संस्करणमा काठमान्डुले अक्सनमार्फत सन्तोषलाई अनुबन्ध गरेको थियो भने तेस्रो संस्करणका लागि रिटेन गरेको छ ।
Read Fullसमाचार
प्लेयर्स टु वाच

















