शाखा अधिकृतबाट न्यायसेवामा प्रवेश गरेकी मीरा खड्का जिल्ला, पुनरावेदन हुँदै सर्वोच्च अदालतको न्यायाधीश हुने सीमित महिला न्यायाधीशमा पर्छिन् ।
२०३६ सालदेखि दुई वर्षभन्दा बढी कानूनको अध्यापनमा बिताएपछि उनी प्रतिस्पर्धा मार्फत न्यायसेवामा शाखा अधिकृत भएकी थिइन् ।
न्यायप्रशासनमा जोडिएको ६ वर्षपछि उनी २०४८ सालमा जिल्ला न्यायाधीशमा नियुक्त भइन् र ३१ वर्ष न्यायसम्पादनमा बिताएर २०७९ सालमा अवकाश पाइन् । जिल्ला तहबाटै पेशागत दक्षता विकास गरेर सर्वोच्च अदालत पुग्ने सीमित महिला न्यायाधीशमा खड्काको पनि नाम आउँछ ।
जिल्ला, पुनरावेदन, वैदेशिक रोजगार न्यायाधिकरण हुँदै सर्वोच्च अदालतको न्यायाधीश भएकी उनी आफ्नो कार्यकालमा देवानी मामिलामा विशेष दख्खल भएकी न्यायाधीशको रूपमा चिनिएकी थिइन् । त्यस बाहेक फौजदारी मुद्दा र संवैधानिक मामिलामा पनि उनको विज्ञता थियो ।
नेतृत्वले नै इजलास तोक्ने अभ्यास रहेको न्यायपालिकामा गोला प्रक्रियाबाट इजलास गठन गर्ने अभ्यास हुँदा उनले त्यसको प्रक्रिया र विधि तय गर्ने समितिको नेतृत्वले गरेकी थिइन् । अवकाश हुनुपूर्व उनी वरिष्ठतम न्यायाधीशको हैसियतले न्यायपरिषद्को सदस्य समेत थिइन् ।
उनी अवकाशप्राप्त जीवनमा न्याय तथा कानून सम्बन्धी अध्ययन एवं प्रशिक्षणहरूमा सक्रिय छन् ।
प्रतिक्रिया 4