+

आईपीओ

२३ च्याप्टर
Chapter - 3

आईपीओ जारी गर्नका लागि पूर्वशर्त र योग्यता के के हुन् ?

२०८० चैत  १५ गते १८:३० २०८० चैत १५ गते १८:३०

कम्पनी वा संगठित संस्थाले आफ्नो कम्पनी वा संगठित संस्थाको साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताहरूलाई उनीहरूले चाहेको बखतमा आफ्नो शेयर बिक्री गरेर लगानी फिर्ता लैजान सहज होस् भनेर धितोपत्रको दोस्रो बजार अर्थात् नेप्सेमा सूचीकृत गर्नका लागि समेत प्रारम्भिक सार्वजनिक निष्काशन अर्थात् आईपीओ निष्काशन गर्ने गर्छन् । नेपालमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्दा कम्पनीले पूरा गर्नुपर्ने पूर्वशर्त र योग्यताहरू रहेका छन्, यो प्रक्रिया नेपाल धितोपत्र बोर्ड (सेबोन) द्वारा नियमन गरिन्छ ।

आईपीओे जारी गर्न लागू हुने पूर्वशर्त र योग्यताहरू कम्पनी विशेष फरक–फरक हुन्छ र सोही अनुरूप कम्पनीहरूले आफ्नो कम्पनीहरूलाई कानूनी प्रावधान अनुसार तयार गर्नुपर्ने हुन्छ ।

१. संगठित संस्थाले, नियामक निकायले अन्यथा तोकेकोमा बाहेक संगठित संस्थाको जारी पूँजीको १० प्रतिशत भन्दा घटी र ४९ प्रतिशत भन्दा बढी नहुने गरी शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने तयारी गर्नुपर्छ ।

२. पब्लिक कम्पनीको रूपमा आफ्नो उद्देश्य अनुसार कारोबार सञ्चालन गर्नका लागि आवश्यक कार्यहरू अगाडि बढाई पूरा एक आर्थिक वर्षको अवधि पूरा गरेको हुनुपर्नेछ । तर साविकमा प्राइभेट लिमिटेड कम्पनीको रूपमा दर्ता भई कारोबार सञ्चालन गरेको कम्तीमा दुई आर्थिक वर्ष पूरा गरी पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको कम्पनीले यसरी पब्लिक लिमिटेड कम्पनीमा परिणत भए पश्चात् साधारणसभा सम्पन्न गरी अन्तिम आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन साधारणसभाबाट पारित गरेको भए त्यस्तो अवधि पूरा हुन आवश्यक पर्ने छैन ।

३. बैंकिङ, वित्तीय वा बीमा सम्बन्धी व्यवसाय गर्ने संगठित संस्थाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने भएमा त्यस्तो संगठित संस्थाले आफ्नो उद्देश्य अनुरूप कारोबार सञ्चालन गरेको पूरा एक आर्थिक वर्षको लेखा परीक्षण गरिएको वित्तीय विवरण सार्वजनिक रूपमा प्रकाशन गर्नुका साथै साधारणसभा समेत सम्पन्न गरिसकेको हुनुपर्नेछ ।

४. आईपीओमा जान चाहने कम्पनीले साधारणसभाबाट आईपीओ निष्काशन गर्ने निर्णय गरेको हुनुपर्नेछ ।

५. आईपीओ निष्काशन गर्न चाहने संगठित संस्थाको सञ्चालक तथा एक प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व रहेका शेयरधनी कर्जा सूचना केन्द्रको कालो सूचीमा नरहेको हुनुपर्नेछ ।

६. लेखा परीक्षण तथा साधारणसभा सम्पन्न गरेको र लेखा परीक्षण प्रतिवेदनमा उक्त संस्था भविष्यमा पनि निरन्तर सञ्चालन हुने आधारमा कुनै कैफियत नभएको पुष्टि भएको हुनुपर्नेछ ।

७. आफ्नो उद्देश्य अनुसार कारोबार सञ्चालन गर्नका लागि प्रचलित कानून बमोजिम कुनै निकायबाट इजाजत, अनुमति वा स्वीकृति लिनुपर्ने भएमा त्यस्तो इजाजत, अनुमति वा स्वीकृति लिइसकेको हुनुपर्नेछ ।

८. उत्पादनको प्रविधि छनोट गरी उद्योगको लागि आवश्यक पर्ने यान्त्रिक उपकरण तथा त्यसका पार्टपुर्जा आदि खरीद गर्नुपर्ने भएमा टेन्डर आदि गरी खरिद प्रक्रिया अगाडि बढाइसकेको हुनुपर्नेछ ।

९. धितोपत्रको सार्वजनिक निष्काशन सम्बन्धमा निष्काशन तथा बिक्री प्रबन्धकसँग सम्झौता भइसकेको हुनुपर्नेछ ।

१०. आयोजनाको निर्माण अवधिभर कम्पनीको ऋण र पूँजीको अनुपात निर्देशिकामा तोकिएको अनुपातमा राख्न सहमत भएका हुनुपर्नेछ । आयोजना निर्माणहरू चाहिं जलविद्युत् कम्पनी अन्तर्गत पर्छ ।

११. संस्थापकहरूले लिन कबुल गरेको धितोपत्रको रकम शतप्रतिशत चुक्ता भइसकेको हुनुपर्नेछ ।

१२. परियोजना निर्माणका लागि फाइनान्सियल क्लोजर (financial closure) भइसकेको हुनुपर्नेछ ।

१३. जलविद्युत् उत्पादन संस्था भएमा, विद्युत् खरीद सम्झौता गरिसकेको हुनुपर्नेछ ।

१४. सर्वसाधारणका लागि निष्काशन गर्न लागेको शेयरहरू निर्देशिकामा तोकिए बमोजिम प्रत्याभूति गराएको हुनुपर्नेछ ।

१५. संगठित संस्थाले आफ्नो जारी पूँजीको १० प्रतिशतसम्मको शेयर उद्योग वा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई बिक्री–वितरण गर्नको लागि छुट्याउनुपर्नेछ । तर सेवामूलक संस्थाहरूलाई भने यो नियम लागू हुने छैन ।

१६. संगठित संस्थाले बैंक, वित्तीय तथा इन्स्योरेन्स कम्पनीले कम्तीमा ३ करोड रकम बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओे) निष्कासन गर्नुपर्ने र अन्यको हकमा भने जारी तथा आईपीओे पछिको चुक्ता पूँजी ५० करोडको हुनुपर्ने व्यावहारिक अभ्यास रहेको छ ।

(क) चुक्ता मूल्यमा निष्काशन

यो प्रारम्भिक निष्काशनको सबैभन्दा बढी प्रचलित विधि हो । यस विधि अन्तर्गत सबै किसिमका कम्पनीहरूले सञ्चालनको न्यूनतम अवधि पूरा गरेपछि र धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ अन्तर्गत तोकिएको शर्तहरू पूरा भएपछि प्रारम्भिक सार्वजनिक निष्काशन गर्न सक्दछन् ।

यसरी निष्काशन गर्नका लागि निम्नानुसारको प्रक्रियाहरू पूरा गर्नुपर्छ ।

१. निष्काशन कम्पनीले पूरा गर्नुपर्ने शर्तः

  • पूरा एक आर्थिक वर्ष लिमिटेड कम्पनीको रूपमा सञ्चालन भई सोको लेखा परीक्षण गरेको वासलात तयार गरेको हुनुपर्ने तथा वार्षिक साधारणसभा सम्पन्न गरी साधारणसभाबाट आईपीओमा जाने निर्णय भएको हुनुपर्ने । तर यदि साबिकमा प्राइभेट कम्पनीको रूपमा दुई आर्थिक वर्ष सञ्चालन भइसकेको छ भने कम्पनीले दुई आर्थिक वर्ष पूरा भएपछि पब्लिक लिमिटेड कम्पनीको रूपमा परिवर्तन भएपश्चात् साधारणसभाबाट अन्तिम वर्षको लेखा परीक्षण प्रतिवेदन पारित भएको खण्डमा त्यस्तो कम्पनीले पूरा एक आर्थिक वर्ष पब्लिक लिमिटेड कम्पनीको रूपमा सञ्चालन नभएको खण्डमा पनि प्रारम्भिक सार्वजनिक निष्काशनको निवेदन दिन सक्नेछ ।
  • कम्पनीले आफ्नो जारी पूँजीको न्यूनतम १० प्रतिशत र अधिकतम ४९ प्रतिशतसम्म प्रारम्भिक निष्काशन गर्न सक्ने ।
  • निष्काशनकर्ता कम्पनीमा १ प्रतिशत भन्दा बढी शेयर धारण गरेको शेयरधनी कालोसूचीमा रहेको हुन नहुने ।
  • बैंक वित्त तथा बीमा क्षेत्रमा काम गर्ने कम्पनीहरूको हकमा नियामकले अनुमति दिई पब्लिक लिमिटेड कम्पनीको रूपमा पूरा एक आर्थिक वर्ष सञ्चालनमा रहेको हुनुपर्ने ।
  • हाइड्रोपावर कम्पनीहरूको हकमा हाइड्रोपावर निर्माण कम्तीमा ४० प्रतिशत सम्पन्न भएको तथा परियोजनाको आर्थिक स्रोतका लागि फाइनान्सियल क्लोजर भएको हुनुपर्ने तथा जलविद्युत् खरिद सम्झौता भएको तथा विद्युत् नियमन आयोगले आईपीओ निष्काशनको लागि स्वीकृति दिइसकेको हुनुपर्ने ।
  • अन्य उत्पादनमूलक कम्पनीहरूको हकमा कारखाना, गोदाम तथा अन्य कार्यालय तथा सुविधाहरूको निर्माण कार्य सुरु गरिसकेको हुनुपर्ने तथा पार्टपुर्जा तथा यान्त्रिक उपकरण खरिद गर्नुपर्ने आवश्यकता भएमा टेन्डर आह्वान गरी खरिद प्रक्रिया सुरु गरिसकेको हुनुपर्ने ।

२. उपरोक्त शर्त पूरा भएका कम्पनीहरूले निष्काशनका लागि निष्काशनकर्ता कम्पनीहरू अर्थात् बिक्री प्रबन्धक छनोट गरी नियुक्ति गर्नुपर्छ ।

३. बिक्री प्रबन्धक छनोट भएपछि निष्काशन गर्न लागिएको शेयरको रकम बराबरको प्रत्याभूति गर्नका लागि अन्डरराइटिङ गर्ने कम्पनीहरू छनोट गर्नुपर्ने हुन्छ ।

४. यसपछि निष्काशनकर्ता कम्पनीले इक्विटी रेटिङ गराउनका लागि रेटिङ एजेन्सी कम्पनीसँग सम्झौता गरी कम्पनीको रेटिङ गराउनुपर्ने हुन्छ । तर यसरी रेटिङ गराउँदा कमजोर जोखिम भएको रेटिङ आएको खण्डमा त्यस्तो कम्पनीलाई निष्काशन गर्ने अनुमति दिइँदैन । यस्तो कमजोर जोखिमको रेटिङ भन्नाले ‘D’ रेटिङलाई बुझिन्छ ।

५. माथिसम्मको सबै कामहरू सकिएपछि बिक्री प्रबन्धकले निष्काशनकर्ता कम्पनीको विवरणपत्र तयार गरी धितोपत्र बोर्डसमक्ष निष्काशन अनुमतिका लागि निवेदन दर्ता गराउँदछ ।

६. यसरी निष्काशनका लागि निवेदन प्राप्त गरेपछि धितोपत्र बोर्डबाट कम्पनीको विवरण पत्र उपर छानबिन कागजपत्र पुगे नपुगेको र नपुगेको भएमा कमेन्ट दिई थप कागजात माग गर्ने काम गरिन्छ ।

७. बैंक वित्तीय संस्था वा बीमा कम्पनीको हकमा स्थलगत निरीक्षण नगरी र हाइड्रोपावर तथा उत्पादनमूलक कम्पनीहरूको हकमा स्थलगत भ्रमण र निरीक्षण गरी सोको आधारमा तोकिए अनुसारको कम्पनीले भौतिक प्रगति पूरा गरे नगरेको चेक–जाँच गर्ने कार्य सम्पन्न गरिन्छ ।

८. यसरी सबै कार्यहरू सम्पन्न भएपछि निष्काशनकर्ता कम्पनीलाई शेयर निष्काशन गर्न मनासिब देखिएमा नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्काशन अर्थात् आईपीओ निष्काशन गर्ने अनुमति प्रदान गर्छ ।

(ख) प्रिमियममा निष्काशन

प्रारम्भिक सार्वजनिक निष्काशनका लागि नेपालमा प्रचलनमा रहेको अर्को लोकप्रिय विधि हो प्रिमियम मूल्यमा शेयर निष्काशन । यस विधि अन्तर्गत शेयर निष्काशन गर्ने कम्पनीले आफ्नो कम्पनीको शेयर प्रारम्भिक सार्वजनिक विधिबाट निष्काशन गर्दा कम्पनीको चुक्ता मूल्यमा थप मूल्य जोडेर निष्काशन गर्ने अनुमति पाएको हुन्छ । यस्तो प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्काशनको लागि नेपाल धितोपत्र बोर्डले तोकेको शर्तहरू पुरा गरेको हुनुपर्छ ।

प्रिमियममा प्रारम्भिक सार्वजनिक निष्काशनका प्रक्रियाहरू निम्नानुसार रहेको छ :

१. प्रिमियममा शेयर निष्काशन गर्न चाहने कम्पनी स्वयंले निम्नानुसारको शर्त पूरा गरेको हुनुपर्छ ।

  • निष्काशनकर्ता कम्पनी लगातार पछिल्लो तीन वर्षसम्म खुद नाफामा सञ्चालनमा रहेको हुनुपर्छ । तर यदि यस्तो कम्पनीको कम्तीमा एक अर्ब रुपैयाँ चुक्ता पूँजी भई पछिल्लो दुई वर्ष नाफामा रहेको भएमा यस्तो कम्पनीले समेत प्रिमियममा धितोपत्रको सार्वजनिक निष्काशन गर्न सक्नेछ ।
  • संगठित संस्थाको प्रति शेयर चुक्ता पूँजी भन्दा प्रति शेयर नेटवर्थ बढी भएको हुनुपर्नेछ ।
  • संगठित संस्थाको साधारणसभाले प्रिमियम मूल्यमा धितोपत्र जारी गर्ने निर्णय गरेको हुनुपर्नेछ ।
  • संगठित संस्थाले प्रिमियम मूल्य निर्धारण गर्दा अपनाइएको विधि, औचित्य र औचित्यलाई पुष्टि गर्ने गरी संगठित संस्था भन्दा बाहिरका विज्ञ वा विज्ञ संस्थाबाट प्रमाणित धितोपत्र मूल्यांकन प्रतिवेदन तयार गरेको हुनुपर्नेछ ।
  • संगठित संस्थाले कम्तीमा BBB- (ट्रिपल बी माइनस) वा सोभन्दा माथिल्लो क्रेडिट रेटिङ्गको ग्रेड प्राप्त गरेको हुनुपर्नेछ ।

२. धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन प्रिमियम मूल्य विधिमार्फत निष्काशन गर्न चाहने कम्पनीको प्रिमियम मूल्य निर्धारण गर्दा देहाय बमोजिम हुने गरी प्रिमियम मूल्य निर्धारण गरेको हुनुपर्नेछ ।

  • कम्तीमा एक अर्ब रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको हकमा कम्पनीको साधारणसभाबाट स्वीकृत पछिल्लो दुई आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको आधारमा पूँजीकृत भएको आम्दानी (क्यापिटलाइज्ड अर्निङ्ग), भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यास फ्लो) र प्रचलित नेपाल कानूनबाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय प्रचलनको आधारमा मूल्यांकन विधि अवलम्बन गरी प्राप्त हुने कुल मूल्यको औसत मूल्य ।
  • माथि उल्लेख भएका बाहेक अन्य कम्पनीको हकमा कम्पनीको साधारणसभाबाट स्वीकृत पछिल्लो तीन आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनका आधारमा पूँजीकृत भएको आम्दानी (क्यापिटलाइज्ड अर्निङ्ग), भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यास फ्लो) र प्रचलित नेपाल कानूनबाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय प्रचलनको आधारमा मूल्याङ्कन विधि अवलम्बन गरी प्राप्त हुने कुल मूल्यको औसत मूल्य ।
  • माथि दिइए बमोजिम निर्धारण गरिएको प्रिमियम मूल्यलाई सम्बन्धित प्रत्याभूतिकर्ताले समेत प्रमाणित गरी पेश गर्नुपर्छ ।
  • माथि दिइए बमोजिम कायम भएको औसत मूल्य र सङ्गठित संस्थाको साधारणसभाबाट स्वीकृत पछिल्लो लेखा परीक्षण भएको वित्तीय विवरण अनुसारको प्रति शेयर नेटवर्थको दुई गुणाले हुन आउने मूल्यमा जुन कम हुन्छ सो रकमलाई प्रिमियम सहितको मूल्य कायम गर्नुपर्नेछ ।

३. उपरोक्त शर्त पूरा भएका कम्पनीहरूले निष्काशनका लागि निष्काशनकर्ता कम्पनीहरू अर्थात् बिक्री प्रबन्धक छनोट गरी नियुक्ति गर्नुपर्छ ।

४. बिक्री प्रबन्धक छनोट भएपछि निष्काशन गर्न लागिएको शेयरको रकम र प्रिमियम रकम बराबरको प्रत्याभूति गर्नका लागि अन्डरराइटिङ गर्ने कम्पनीहरू छनोट गर्नुपर्ने हुन्छ । यसरी छनोट भएको प्रत्याभूतिकर्ताले प्रिमियम मूल्यलाई प्रमाणित गरी पेश गर्नुपर्ने हुन्छ ।

५. यसपछि निष्काशनकर्ता कम्पनीले इक्विटी रेटिङ गराउनका लागि रेटिङ एजेन्सी कम्पनीसँग सम्झौता गरी कम्पनीको रेटिङ गराउनुपर्ने हुन्छ । तर यसरी रेटिङ गराउँदा BBB- रेटिङ वा सोभन्दा माथिको रेटिङ आउनुपर्ने हुन्छ । सोभन्दा तलको रेटिङ आएको खण्डमा प्रिमियममा प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने अनुमति पाइन्न ।

५. माथिसम्मको सबै कामहरू सकिएपछि बिक्री प्रबन्धकले निष्काशनकर्ता कम्पनीको विवरणपत्र तयार गरी धितोपत्र बोर्डसमक्ष निष्काशन अनुमतिका लागि निवेदन दर्ता गराउँदछ ।

६. यसरी निष्काशनका लागि निवेदन प्राप्त गरेपछि धितोपत्र बोर्डबाट कम्पनीको विवरण पत्र उपर छानबिन कागजपत्र पुगे नपुगेको र नपुगेको भएमा कमेन्ट दिई थप कागजात माग गर्ने काम गरिन्छ । यसका साथै प्रिमियम मूल्यको विधि समेत छानबिन गरेर यस्तो प्रिमियम मूल्य धेरै भएको खण्डमा यसलाई पुनः घटाएर ल्याउनका लागि आदेश दिने काम गर्छ ।

७. बैंक वित्तीय संस्था वा बीमा कम्पनीको हकमा स्थलगत निरीक्षण नगरी र हाइड्रोपावर तथा उत्पादनमूलक कम्पनीहरूको हकमा स्थलगत भ्रमण र निरीक्षण गरी सोको आधारमा तोकिए अनुसारको कम्पनीले भौतिक प्रगति पूरा गरे नगरेको चेक–जाँच गर्ने कार्य सम्पन्न गरिन्छ ।

८. यसरी सबै कार्यहरू सम्पन्न भएपछि निष्काशनकर्ता कम्पनीलाई शेयर निष्काशन गर्न मनासिब देखिएमा नेपाल धितोपत्र बोर्डले प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्काशन अर्थात् आईपीओ निष्काशन गर्ने अनुमति प्रदान गर्छ ।

(ग) बुक बिल्डिङबाट निष्काशन :

बुक बिल्डिङ विधिबाट शेयर निष्काशन गरिने विधि नेपालमा नौलो हो । यद्यपि अन्तर्राष्ट्रिय प्रचलनमा यो विधिबाटै सबैभन्दा धेरै प्रारम्भिक सार्वजनिक निष्काशन अर्थात् आईपीओको निष्काशन गर्ने गरिन्छ । यो विधि अन्तर्गत निष्काशन गर्ने कम्पनीले आफ्नो कम्पनीले निष्काशन गर्न लागेको कुल शेयरको ४० प्रतिशत शेयर योग्य संस्थागत लगानीकर्ताहरूलाई र बाँकी ६० प्रतिशत शेयर सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गर्छन् । यसरी बिक्री गर्ने क्रममा कम्पनीले योग्य संस्थागत लगानीकर्ताहरूले आवेदन दिएको मूल्य र शेयर संख्यालाई माथिल्लो मूल्यबाट बाँडफाँट गर्दै आउँदा जुन मूल्यमा सबै ४० प्रतिशत शेयर बिक्री हुन्छ त्यसलाई कट अफ मूल्य घोषणा गर्छ र यसरी कट मूल्यभन्दा माथिको मूल्यमा आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरूले माग आवेदन अनुसारको शेयर कट अफ मूल्यमा प्राप्त गर्छन । यसपछि बाँकी रहेको ६० प्रतिशत शेयरलाई माथिको विधि अनुसार कट अफ भएको मूल्यबाट १० प्रतिशत छुट दिई सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्काशन गर्छन् । यस बुक बिल्डिङ विधिबाट निष्काशन भएको शेयर खरिद आवेदन दिंदा पनि माथिको प्रिमियम निष्काशन विधि झैं चुक्ता मूल्यमा थप मूल्य भुक्तान गरेर आवेदन दिनुपर्ने हुन्छ ।

बुक बिल्डिङ विधिबाट सार्वजनिक निष्काशनका लागि निम्नानुसारको प्रक्रिया रहेको हुन्छ ।

१. बुक बिल्डिङ विधिबाट शेयर निष्काशन गर्न चाहने कम्पनी स्वयंले निम्नानुसारको शर्त पूरा गरेको हुनुपर्छ ।

  • यसरी निष्काशन गर्न चाहने कम्पनी विगत तीन आर्थिक वर्षदेखि लगातार खुद नाफामा संचालनमा रहेको हुनुपर्छ ।
  • कम्पनीको साधारणसभाले बुक विल्डिङ्ग विधि मार्फत धितोपत्र जारी गर्ने निर्णय गरेको हुनुपर्छ ।
  • कम्पनीको प्रति शेयर नेटवर्थ प्रति शेयर चुक्ता पूँजीको कम्तीमा १५० प्रतिशत रहेको हुनुपर्छ ।
  • कम्पनीले कम्तीमा औसत वा सोभन्दा माथिल्लो क्रेडिट रेटिङ्गको ग्रेड प्राप्त गरेको अर्थात् कम्तीमा पनि BBB- वा सोभन्दा माथिको रेटिङ पाएको हुनुपर्छ ।
  • माथिको योग्यता पुगेको कम्पनीले बुक विल्डिङ्ग विधि मार्फत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा योग्य संस्थागत लगानीकर्ताबाट खरिद आशय मूल्य प्राप्त गरेको हुनुपर्नेछ ।
  • कम्पनीले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त गरेको खरिद आशय मूल्यको आधारमा धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गरी योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्रको ४० प्रतिशत र सर्वसाधारण लगानीकर्ताको लागि ६० प्रतिशत धितोपत्र निष्काशन गर्ने व्यवस्था गरेको हुनुपर्छ ।

२. यस विधिबाट प्रारम्भिक सार्वजनिक निष्काशन गर्न चाहने कम्पनीले सबैभन्दा पहिले बिक्री प्रबन्धक कम्पनीलाई निष्काशन तथा बिक्री प्रबन्ध कार्यको लागि सम्झौता गर्नुपर्ने हुन्छ ।

३. यसपछि कम्पनीले स्वचालित विद्युतीय प्रणालीमार्फत बुक बिल्डिङ सम्बन्धी कार्य सञ्चालन गर्ने सम्बन्धमा धितोपत्र बजार अर्थात् हालको अवस्थामा नेपाल स्टक एक्सचेन्ज लिमिटेडसँग सम्झौता गर्नुपर्ने हुन्छ ।

४. धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन बुक बिल्डिङ विधिमार्फत निष्काशन गर्न चाहने कम्पनीको प्रति शेयर बिक्री मूल्य निर्धारण गर्दा देहाय बमोजिम हुने गरी मूल्य निर्धारण गरेको हुनुपर्नेछ ।

  • यस विधिबाट निष्काशन गर्न चाहने कम्पनीले बिक्री प्रबन्धक कम्पनीको परामर्शमा प्रारम्भिक विवरणपत्र तयार गर्नुपर्छ ।
  • कम्पनीले बिक्री प्रबन्धक कम्पनीको सहयोगमा तयार गरिएको प्रारम्भिक विवरणपत्र उपर धितोपत्र बोर्डबाट अनुमति प्राप्त योग्य संस्थागत लगानीकर्ताहरूबीच छलफल कार्यक्रम सञ्चालन गर्नुपर्छ । यस कार्यक्रमलाई रोड शो पनि भनिन्छ ।
  • छलफल कार्यक्रम सम्पन्न गरेपछि कम्पनीले नेपाल स्टक एक्सचेन्जको स्वचालित विद्युतीय प्रणालीमार्फतबाट योग्य संस्थागत लगानीकर्ताहरूसँग बुक बिल्डिङमा सहभागिताका लागि निज योग्य संस्थागत लगानीकर्ताहरूले खरिद गर्न चाहेको न्यूनतम शेयर संख्या, आशय मूल्य र सोको मूल्यांकन विधिसहित प्रारम्भिक विवरणपत्रमा सुझाव माग गर्छन् ।
  • योग्य संस्थागत लगानीकर्ताहरूले छलफल कार्यक्रम वा रोड शो कार्यक्रम सकिएको ५ कार्यदिनभित्र लिखित रूपमा खरिद गर्न चाहेको न्यूनतम शेयर संख्या, आशय मूल्य तथा मूल्यांकनको आधार सहित प्रारम्भिक विवरणपत्रमा आफ्नो सुझाव पेश गर्न सक्नेछन् ।
  • यसरी आशय मूल्य लिंदा कम्तीमा पनि १० वटा योग्य संस्थागत लगानीकर्ताहरूबाट आशय पत्र प्राप्त गरेको हुनुपर्छ ।
  • यसरी प्राप्त आशय पत्रको आधारमा माथिल्लो आशय मूल्यमा माग भएको शेयर संख्या बमोजिम बाँडफाँट गर्दै तलको मूल्यतर्फ आउँदा जुन मूल्यमा योग्य संस्थागत लगानीकर्ताहरूलाई छुट्याइएको शेयर संख्या बिक्री हुने देखिन्छ सो मूल्यलाई कट अफ मूल्य मानिन्छ र सो मूल्यलाई आधार मूल्य मानिन्छ ।
  • यसपछि सो आधार मूल्यबाट २० प्रतिशत माथि र २० प्रतिशत तलको मूल्यलाई लिएर योग्य संस्थागत लगानीकर्ताहरूलाई बिक्री गरिने धितोपत्रको मूल्य सीमा निर्धारण गरिन्छ ।

५. यसरी मूल्यको सीमा निर्धारण भइसकेपछि बिक्री प्रबन्धकले बिक्री गरिने शेयरको मूल्य सीमा निर्धारण गरेर बुक बिल्डिङ विधिबाट निष्काशनका लागि धितोपत्र बोर्डसमक्ष निवेदन दर्ता गराउनुपर्छ ।

६. बुक बिल्डिङ विधिबाट निष्काशन गरिने शेयरको प्रत्याभूति गराउनुपर्छ । प्रत्याभूति गराउँदा योग्य संस्थागत लगानीकर्ताहरूलाई छुट्याइएको बाहेकको शेयरको प्रत्याभूति गराउनुपर्छ ।

७. यसरी निष्काशनका लागि निवेदन प्राप्त गरेपछि धितोपत्र बोर्डबाट कम्पनीको विवरण पत्र र अन्य कागजपत्र उपर छानबिन गरी उपर्युक्त देखिएमा बोर्डले स्वीकृति प्रदान गर्छ ।

८. यसरी अनुमति प्राप्त भएपछि कम्पनीले स्वीकृति पाएको बढीमा १० कार्यदिन भित्रमा निष्काशन तथा बिक्री प्रबन्धकले योग्य संस्थागत लगानीकर्ताहरूको लागि शेयर निष्काशन गरेर बोल–कबोलमा सहभागी हुन आह्वान गर्नुपर्छ । यसरी आह्वान गरेको ७ कार्यदिन पछि बोल–कबोलमा भाग लिन सक्ने व्यवस्था गरिएको हुन्छ ।

९. बोल–कबोलमा भाग लिन पाउने अवधि ४ कार्यदिन सम्म व्यवस्था गरिएको हुन्छ ।

१०. योग्य संस्थागत लगानीकर्ताहरूले बिक्री मूल्य सीमाभित्र आफूले लिन चाहेको शेयर संख्या र मूल्य सहित स्वचालित विद्युतीय प्रणालीबाट बोल–कबोलमा भाग लिन सक्छन् । यसरी बोल–कबोलमा भाग लिंदा योग्य संस्थागत लगानीकर्ताहरूलाई छुट्याइएको कुल निष्काशित शेयरको २० प्रतिशत भन्दा बढी धितोपत्रको लागि बोल–कबोल गर्न पाइँदैन ।

११. योग्य संस्थागत लगानीकर्ताहरूबाट बोल–कबोल प्राप्त भइसकेपछि बोल–कबोल अवधि बन्द भएको भोलिपल्ट बिक्री मूल्य सीमाभित्र रहेर बोल–कबोलमा भाग लिने योग्य संस्थागत लगानीकर्ताहरूमध्ये सबैभन्दा माथिको मूल्यबाट माग गरिएको शेयर बाँडफाँट गर्दै तलतिर आउनुपर्छ । तल आउँदा जुन न्यूनतम मूल्यमा आएर सबै निष्काशित शेयर बाँडफाँट भइसक्छ सो मूल्यलाई कट अफ मूल्य घोषणा गरिन्छ । र यसरी आएको कट अफ मूल्यभन्दा माथि आवेदन दिने सबै योग्य संस्थागत लगानीकर्ताहरूलाई शेयर बाँडफाँट गरिन्छ ।

१२. योग्य संस्थागत लगानीकर्ताहरूलाई बाँडफाँट गरिसकिएपछि कट अफ मूल्यमा १० प्रतिशत छुट दिई सर्वसाधारण लगानीकर्ताहरूको लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्य गरिन्छ ।

१३. बुक बिल्डिङ विधिबाट निष्काशन भएको शेयरमा आवेदन दिंदा सर्वसाधारणले न्यूनतम ५० कित्ता शेयरको लागि आवेदन दिनुपर्छ भने बाँडफाँट गर्दा समेत प्रति आवेदक ५० कित्ता हुने गरी शेयर बाँडफाँट गर्ने व्यवस्था मिलाउनुपर्छ ।

घ. अन्य विधिः

उपरोक्त माथिका विधिहरू बाहेक बिक्री प्रस्ताव मार्फत समेत धितोपत्रको निष्काशन गर्न पाउने व्यवस्था धितोपत्र बोर्डले गरेको छ । यसरी बिक्री प्रस्ताव मार्फत धितोपत्र निष्काशन गर्दा सूचीकृत कम्पनीको हकमा चुक्ता पूँजीको न्यूनतम १ प्रतिशत शेयर ग्रहण गरेका लगानीकर्ताहरूले बिक्री प्रस्ताव पेश गरी सार्वजनिक रूपमा शेयर बिक्री गर्न चाहेको खण्डमा धितोपत्र बोर्डको स्वीकृति लिई शेयर बिक्री गर्न सक्नेछ ।

तर यदि निष्काशन गर्न चाहने कम्पनी सूचीकृत नभएको खण्डमा त्यस्ता कम्पनीका शेयरधनीले आफूले ग्रहण गरेको कम्पनीको शेयर चुक्ता पूँजीको दश प्रतिशत भन्दा कम नहुने गरी बोर्डको स्वीकृतिमा सार्वजनिक रूपमा बिक्री प्रस्ताव प्रकाशन गरी बिक्री गर्न सक्नेछ । यसरी यस विधिबाट नेपाल टेलिकमको शेयर नेपाल सरकारले लिलाम बढाबढ विधिबाट सर्वसाधारणमा बिक्री गरेको थियो ।

धेरै पढिएका

आईपीओ

आईपीओ जारी गर्नका लागि पूर्वशर्त र योग्यता के के हुन् ?

कम्पनी वा संगठित संस्थाले आफ्नो कम्पनी वा संगठित संस्थाको साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताहरूलाई उनीहरूले चाहेको बखतमा आफ्नो शेयर बिक्री...

आईपीओ

आईपीओमा आवेदन गर्नु अगाडि ध्यान दिनुपर्ने १० कुरा

प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)मा लगानी एक अवसर हुनसक्छ । यसमा भाग लिने निर्णय गर्नुअघि केही कुराहरू विचार गर्नुपर्छ ।

आईपीओ

आईपीओको मूल्य कसरी निर्धारण हुन्छ ? प्रिमियम मूल्यको आईपीओ कति जोखिमपूर्ण ?

आईपीओमा आएका शेयरको मूल्य कति हुनुपर्छ भन्ने विषयमा विभिन्न विचार पाइन्छ । यी विचारहरूलाई समेटेर मूल्यांकनका विभिन्न विधि बनेका छन्...

आईपीओ

सूचीकरण र खारेजीको नालीबेली 

आईपीओ जारी गरेका कम्पनी मात्रै धितोपत्रको दोस्रो बजार (स्टक एक्सचेन्ज) मा सूचीकृत हुनसक्छन् । यसरी सूचीकरण गर्ने सम्बन्धमा सबै प्रक्रियाहरू...

आईपीओ

आईपीओ भनेको के हो ? कसरी काम गर्छ ? कति प्रकारका हुन्छन् ?

प्रारम्भिक (प्राथमिक) सार्वजनिक प्रस्ताव (निष्काशन) को अंग्रेजी रूप Initial Public Offering लाई छोटकरीमा IPO (आईपीओ) भनिन्छ ।

आईपीओ

कम्पनीहरू किन पब्लिकमा जान्छन्, लगानीकर्तालाई के फाइदा ?

कम्पनीले व्यवसाय विस्तारका लागि पूँजी जुटाउन र तरलता हासिल गर्ने लगायत कारणले आईपीओ गर्छन् ।

0 %

पढिसक्नुभयो !