+

आईपीओ

२३ च्याप्टर
Chapter - 20

आस्बा भनेको के हो ? यसले कसरी काम गर्छ ?            

२०८० चैत  १६ गते १८:३३ २०८० चैत १६ गते १८:३३

पहिले लगानीकर्ताले आईपीओ आवेदन फारम लिन मर्चेन्ट बैंकर वा बिक्री प्रबन्धकले तोकेको बिक्री केन्द्रहरूमा जानुपर्थ्यो । यसरी भरिएको फारमलाई फेरि सोही स्थानमा बुझाउन लामो समय लाइन लाग्नुपर्थ्यो । पछि आईपीओमा शेयर नपरेको खण्डमा पैसा र परेको शेयर प्रमाणपत्र लिन समेत लामो लाइन लाग्नुपर्ने बाध्यता थियो ।

तर यो अवस्थामा अहिले पूर्णरूपमा परिवर्तन आएको छ । त्यसको मुख्य कारण डिम्याट र आस्बा (ASBA)  प्रणाली हो । डिम्याट प्रणालीले शेयरको कागजी प्रमाणपत्रलाई अभौतिक रूपमा परिवर्तन गर्ने व्यवस्था मिलायो भने आस्बा प्रणालीले प्राथमिक शेयरको निष्काशनका क्रममा दिइने आवेदनलाई अत्यधिक सहज तथा सुलभ बनाई आईपीओ हकप्रद, एफपीओ लगायतका निष्काशनमा सहजता प्रदान गर्ने कार्य ग¥यो ।

आस्बा भनेको के हो ?

आईपीओमा प्राप्त हुने आवेदनलाई सरल बनाउन विकास गरिएको संयन्त्र ASBA (Application Supported by Blocked Amount)  हो । अर्थात् आस्बा प्रणाली भनेको प्राथमिक शेयर निष्काशनमा आवेदन दिने लगानीकर्ताको बैंक खातालाई सीडीएससीको मेरो शेयर प्रणालीसँग आबद्ध गरी आवेदन अनुसारको रकमलाई लगानीकर्ताको बैंक खातामै रोक्का राख्न पाइने प्रणाली हो ।

यस प्रणालीले सीडीएससीलाई आईपीओ आवेदन गर्ने लगानीकर्ताहरूले आईपीओको आवेदन गरेपछि लगानीकर्ताको बैंक खातामा आवेदन अनुसारको पैसा रोक्का गर्न अधिकार दिन्छ । यसका साथै लगानीकर्ताले शेयर खरिदका लागि आस्बा प्रणालीबाट दिएको आवेदनको बाँडफाँट भई आवेदकलाई शेयर प्राप्त भएको अवस्थामा सीडीएससीलाई आवेदकको बैंक खाताबाट पैसा डेबिट गर्ने व्यवस्था मिलाइएको हुन्छ ।

लगानीकर्ताले बाँडफाँटबाट शेयर प्राप्त गरेमा त्यस्तो अवस्थामा लगानीकर्ताको तोकिएको निश्चित बैंक खाताबाट पैसा काटिन्छ र शेयरहरू उनीहरूको डिम्याट खातामा जम्मा हुन्छ । लगानीकर्ताले शेयर पाएको छैन भने खाताबाट रकम फुकुवा हुन्छ । लगानीकर्ताले आवेदनको लागि रोक्का गरिएको रकम आफ्नो आवश्यकता अनुसार चलाउन सक्छन् ।

ASBA प्रणालीले कसरी काम गर्छ ?

१. आवेदन : जब लगानीकर्ताले आईपीओमा शेयरहरूको लागि आवेदन दिन चाहन्छन्, उनीहरूले आस्बा प्रणाली अनुसार तोकिएको आवेदन फारम भर्नुपर्छ । उक्त आवेदन फारम भर्नको लागि लगानीकर्ताले आफ्नो बैंक खाता रहेको बैंकमा गई आस्बा फारम लिई उक्त फारममा आफूले खरिद गर्न चाहेको शेयरहरूको संख्या, आफ्नो व्यक्तिगत विवरणहरू, बैंक खाताको विवरण भरेर भौतिक रूपमा बुझाउन सकिन्छ । यसका साथै लगानीकर्ताहरूले मेरो शेयरबाट समेत माई आस्बामा गएर उपलब्ध रहेको आईपीओमा आवेदन दिनुपर्छ ।

२. रकम रोक्का : आईपीओ आवेदन दिएपछि आस्बा बैंकले प्राप्त निवेदन अनुसार लगानीकर्ताको खातामा पैसा रहे नरहेको निर्क्योल गरी रकम भेरिफाइ गर्ने कार्य गर्छ । यसरी रकम भेरिफाइ भएपछि आवेदन प्रक्रिया सम्पन्न हुन्छ । रकम भेरिफाइ नभएसम्म आवेदन अनभेरिफाइड अवस्थामा रहिरहेको हुन्छ । यस्तो अवस्थामा आफ्नो आस्बा बैंकमा आवेदन भेरिफाइको लागि अनुरोध गर्न सकिन्छ ।

३. प्रमाणीकरण : सीडीएसले आवेदकको आवेदनको आधारमा प्रमाणित गर्छ । यसरी प्रमाणित गर्दा आस्बा बैंकको सहायताले लगानीकर्ताको खातामा पैसा रहे/नरहेको चेक जाँच गर्छ । यसैगरी दुई वा सोभन्दा बढी आवेदन एकै आवेदकको रहे÷नरहेको हेर्दछ । यसरी एक जना आवेदकको नै एकभन्दा बढी आवेदन परेको पाएको खण्डमा त्यस्तो आवेदकको सबै आवेदन रद्द गर्न बिक्री प्रबन्धकलाई सिफारिस गर्छ ।

४. प्रारम्भिक बाँडफाँट : बिक्री प्रबन्धकले सीडीएससीको प्रणालीबाट प्राप्त भेरिफाइड आवेदनहरूको विवरण प्राप्त गरेपछि आफ्नोतर्फबाट पुनः म्यानुअल विधिबाट आईपीओ आवेदनमा डुप्लिकेसन अर्थात् दोहोरो आवेदन रहे/नरहेको चेकजाँच गरी भेरिफाइ गर्ने कार्य गर्छ । दोहोर आवेदन दिने लगानीकर्ताको आवेदनलाई रद्द गर्ने कार्य गरिन्छ र अन्तिम बाँडफाँट योग्य सूची तयार गरी प्रारम्भिक बाँडफाँटको खाका तयारी गरिन्छ ।

यसरी प्रारम्भिक बाँडफाँटको खाका तयार गर्दा कुल आवेदक, बाँडफाँट योग्य आवेदक, निष्काशित शेयरलाई न्यूनतम १० कित्ताका दरले बाँड्न मिल्ने आवेदकको संख्या निकालिन्छ र यसमा योग्य आवेदकको संख्यालाई निष्काशित शेयरको आधारमा बाँड्न मिल्ने आवेदकको संख्याले भाग गरिन्छ र स्किप नम्बर निकालिन्छ । यसरी सबै कार्य गरेर एउटा बाँडफाँटको खाका तयारी गरी धितोपत्र बोर्डसमक्ष शेयर बाँडफाँट गर्नु तीन दिन अघि निवेदन दिइन्छ ।

५. बाँडफाँट : प्रारम्भिक बाँडफाँटको खाका तयार गरी धितोपत्र बोर्डमा निवेदन दिएको तीन दिनपछि आईपीओको प्रारम्भिक बाँडफाँटको खाका अनुसार चिट्ठा प्रणालीबाट नम्बर निकालेर बाँडफाँटको प्रक्रिया सुरु गरिन्छ । यसरी प्राप्त चिट्ठाको नम्बरमा त्यसपछि क्रमिक रूपले स्किप नम्बर जोड्दै गएर आईपीओको शेयरमा बाँडफाँटमा पर्ने आवेदकहरू छनोट गरिन्छ । यसरी बाँडफाँट कार्य सकिएपछि यसको नतिजा बिक्री प्रबन्धकले आफ्नो वेबसाइटमा तथा सीडीएससीको आईपीओ हेर्न मिल्ने वेबसाइटमा अपलोड गरी नतिजा हेर्ने व्यवस्था मिलाउँदछ ।

आईपीओ बाँडफाँट प्रक्रिया पूरा भएपछि र लगानीकर्ताहरूलाई शेयर बाँडफाँट गरेपछि आवेदन बापत लगानीकर्ताको बैंक खातामा रोकिएको रकम डेबिट गरिन्छ । लगानीकर्तालाई शेयर बाँडफाँट गरिएको छैन भने रोकिएको रकम खुला गरिन्छ ।

ASBA का फाइदा

  • लगानीकर्ताले अग्रिम भुक्तानी गर्नुपर्दैन । शेयर बाँडफाँट नभएसम्म बैंकको ब्याज पाइन्छ ।
  • असफल लेनदेन वा फिर्ताको जोखिम कम हुन्छ । बाँडफाँट प्रक्रिया पूरा नभएसम्म रकम लगानीकर्ताको बैंक खातामा रहन्छ ।
  • यसले भौतिक जाँचको आवश्यकतालाई हटाउँछ र आवेदन प्रक्रिया सुव्यवस्थित हुन्छ ।

हाल आस्बालाई व्यापक रूपमा अपनाइएको छ । निष्काशनकर्ता, बिक्री प्रबन्धक, लगानीकर्ता सबैलाई आईपीओ प्रक्रियालाई सरल भएको छ ।

 

धेरै पढिएका

आईपीओ

आईपीओमा आवेदन गर्नु अगाडि ध्यान दिनुपर्ने १० कुरा

प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)मा लगानी एक अवसर हुनसक्छ । यसमा भाग लिने निर्णय गर्नुअघि केही कुराहरू विचार गर्नुपर्छ ।

आईपीओ

आईपीओ जारी गर्नका लागि पूर्वशर्त र योग्यता के के हुन् ?

कम्पनी वा संगठित संस्थाले आफ्नो कम्पनी वा संगठित संस्थाको साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताहरूलाई उनीहरूले चाहेको बखतमा आफ्नो शेयर बिक्री...

आईपीओ

आईपीओको मूल्य कसरी निर्धारण हुन्छ ? प्रिमियम मूल्यको आईपीओ कति जोखिमपूर्ण ?

आईपीओमा आएका शेयरको मूल्य कति हुनुपर्छ भन्ने विषयमा विभिन्न विचार पाइन्छ । यी विचारहरूलाई समेटेर मूल्यांकनका विभिन्न विधि बनेका छन्...

आईपीओ

सूचीकरण र खारेजीको नालीबेली 

आईपीओ जारी गरेका कम्पनी मात्रै धितोपत्रको दोस्रो बजार (स्टक एक्सचेन्ज) मा सूचीकृत हुनसक्छन् । यसरी सूचीकरण गर्ने सम्बन्धमा सबै प्रक्रियाहरू...

आईपीओ

आईपीओ भनेको के हो ? कसरी काम गर्छ ? कति प्रकारका हुन्छन् ?

प्रारम्भिक (प्राथमिक) सार्वजनिक प्रस्ताव (निष्काशन) को अंग्रेजी रूप Initial Public Offering लाई छोटकरीमा IPO (आईपीओ) भनिन्छ ।

आईपीओ

कम्पनीहरू किन पब्लिकमा जान्छन्, लगानीकर्तालाई के फाइदा ?

कम्पनीले व्यवसाय विस्तारका लागि पूँजी जुटाउन र तरलता हासिल गर्ने लगायत कारणले आईपीओ गर्छन् ।

0 %

पढिसक्नुभयो !