Comments Add Comment

फुटबलको राजा को बन्ला : अर्जेन्टिना कि जर्मनी ?

World-cup-final

विश्वकप फुटबलको उपाधिका लागि सोमबार विहान अर्जेन्टिना र जर्मनी भिड्दैछन् । माराकाना रंगशालामा सोमबार विहान १२:४५ बजे सुरु हुने उपाधि भिडन्तले चार वर्षका लागि फुटबलको राजा चयन गर्नेछ ।

जर्मनी दक्षिण अमेरिकामा विश्वकप जित्ने पहिलो युरोपेली देश बन्नुका साथै छातिमा चौथो तारा थप्न आतुर छ । तर, उत्कृष्ट फुटबलर लिओनल मेस्सी अर्जेन्टिनाका लागि विश्वकप जितेर महान खेलाडीको सूचीमा निर्वावाद दरिन चाहन्छन् । त्यसैले इतिहासको सबैभन्दा रोचक भिडन्त मध्ये एक मानिएको जर्मन र अर्जेन्टिनाबीचको उपाधि भिडन्तलाई जर्मन र मेस्सीको भिडन्तका रुपमा समेत हेरिएको छ ।

क्लब फुटबलमा सबै उपाधि उचालिसकेका मेस्सी विश्वकप जितेर डिएगो म्याराडोनाको समकक्षमा पुग्न चाहन्छन र दक्षिण अमेरिकी भूमि ब्राजिल उनका लागि उपयुक्त मौका हो । उनी यो पटक निकै राम्रो लयमा देखिएका छन् ।

जर्मनीले एउटा पूर्ण सन्तुलित टोलीका रुपमा आफूलाई स्थापित गरिसकेको छ । पोष्टमा म्यानुयल नुयुर असाधारण देखिएका छन् भने म्याट हृयुमल्सको उपस्थितिले डिफेन्स बलियो भएको छ । मिडफिल्डमा सामी खेदेरा र वास्टियन स्वास्न्टाइगर तथा अट्याकिङ मिडफिल्डर टोनी क्रुज र ओजिल चम्किएका छन् भने अर्का अट्याकिङ मिडफिल्डर थोमस मुलर विपक्षी रक्षकहरुलाई कुनै पनि बेला खतरा बन्नेछन् । मिरोस्लाभ क्लोज र आन्द्रे सुर्ले पनि प्रशिक्षक लोसँग छन् ।

तर, अर्जेन्टिनाका लागि विङ्गर एन्जल डी मारिया फिट भएका छन् । तिघ्रामा लागेको चोटका कारण उनले नेदरल्याण्डविरुद्धको सेमिफाइनल खेल गुमाएका थिए । स्ट्राइकर सर्जिओ एग्युरो पनि पूर्ण फिट भएका छन् भने गोन्जलो हिगुइनको प्रदर्शन राम्रै छ । मेस्सीसँगै डी मारिया, हिगुइन र एग्युरोका कारण अर्जेन्टिनी टोलीको फ्रन्ट लाइनलाई सबैभन्दा बलियो मानिएको छ ।

डिफेन्समा जाभालेटा र मासेरानाको प्रदर्शन सम्झनलाकय छ भने अर्जेन्टिना गोलरक्षक सर्जिओ रोमेरो पनि उत्कृष्ट लयमा देखिएका छन् । नेदरल्याण्डको दुई पेनाल्टी रोक्दै उनी अर्जेन्टिनाको जितमा नायक बनेका थिए ।

अर्जेन्टिना र जर्मनीको यो तेस्रो विश्वकप फाइनल हो । सन् १९८६ मा जर्मनीलाई हराएर अर्जेन्टिनाले विश्वकप जित्दा डिएगो म्याराडोना टोलीमा थिए । चार वर्षपछि म्याराडोनासहितको टोलीलाई हराएर जर्मन च्याम्पियन बन्यो । २०१० को विश्वकपको क्वाटरफाइनलमा अर्जेन्टिना जर्मनीसँग ४-० ले पराजित भएको थियो, जुन १९७४ पछिको ठूलो हार थियो ।

तर, पछिल्लो पटक सन् २०१२ मा भएको मैत्रिपूर्ण खेलमा भने अर्जेन्टिना ३-१ ले विजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment