Comments Add Comment

महावीरले पुनले पाए अर्को अन्तरराष्ट्रिय पुरस्कार

८ साउन, काठमाण्डौ । नेपालका ग्रामीण भेगमा ताररहित इन्टरनेट सेवा पुर्‍याउन क्रियाशील म्यागासेसे पुरस्कार बिजेता महावीर पुनले अर्को महत्वपूर्ण अन्तराष्ट्रिय अवार्ड जितेका छन् ।
mahabir-punइन्टरनेट सोसाइटीले यस वर्षको ‘जोनाथन बी पोष्टल अवार्ड’ पुनलाई प्रदान गरेको हो । हालै टोरोन्टोमा सम्पन्न इन्टरनेट इन्जिनियरिङ टास्कफोर्सको ९० औं सम्मेलनमा उनलाई २० हजार अमेरिकी डलर र अवार्ड प्रदान गरिएको छ ।
‘नेपाल वायरलेस नेटवर्क’ परियोजना स्थापना गरी ग्रामीण बस्तीलाई इन्टरनेटसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको भन्दै यो वर्षको अवार्ड पुनलाई प्रदान गरिएको इन्टरनेट साेसाइटीले जनाएको छ ।
सुरुमा केही स्कूलमा वायरलेस इन्टरनेट नेटवर्क स्थापना गरी काम थालेका पुनले अहिले १५ जिल्लाका करिव १ सय ७५ गाउँलाई इन्टरनेट नेटवर्कमा जोडेका छन् । यसको माध्यमबाट ग्रामीण वस्तीका मानिसहरुले स्वास्थ्य उपचार, पढाइ, सञ्चारलगायतका सुविधा उपयोग गर्न पाएका छन् ।
यसअघि पुनले सन् २००७ मा एशियाको नोबेल पुरस्कारका रुपमा चिनिने प्रसिद्ध म्यागसेसे पुरस्कार प्राप्त गरेका थिए । म्याग्दी जिल्लाको राम्चे गाविसस्थित नागीका बासिन्दा पुनले आफ्नै खर्चमा म्याग्दी जिल्लाबाट इन्टरनेट अभियानको शुरुवात गरेका थिए ।
को हुन् महावीर पुन ?
म्याग्दीको नागी गाउँबाटैबाट विद्यालय शिक्षा शुरु गरेर चितवन हुँदै काठमाडौंको अमृत साइन्स क्याम्पसबाट उच्च शिक्षा लिएका पुनले छात्रवृत्तिमा अमेरिका गएर पढ्ने अवसर पाएका थिए । अमेरिकाको नेब्रस्का विश्वविद्यालयबाट शिक्षा विषयमा स्नातक गरेर २०४८ सालतिर उनी म्याग्दी फर्किएका थिए । पछि उनले अमेरिकाको सेही विद्यालयबाट स्नातकोत्तर गरे ।
उनले २०५० सालतिरै आफू जन्मिएको गाउँमा माध्यमिक विद्यालय खोलेर त्यसको तीन वर्षपछि अमेरिकाबाट फर्किए तारविहीन इन्टरनेटको परीक्षण गरेका थिए । जुन समय नेपालमा इन्टरनेटको पहुँच सिमित व्यक्ति र संस्थामा मात्र थियो, त्योबेला उनले म्याग्दीका बाँदर लड्ने भीरमा इन्टरनेट चलाउन थालिसकेका थिए ।
नेपालमा महावीरले बनाएको वेबसाइटका कारण उनको गाउँमा विदेशी स्वयंसेवकहरु घुम्न र काम गर्न ओइरिन्थे । त्यस बेला गाउँमा टेलिफोन सेवासमेत नभएका बेला उनले विदेशी सहयोगीहरुको साथ लिएर नयाँ प्रबिधिबाट इन्टरनेट चलाएका थिए । यही कारण उनी म्यागासेसे बिजेता समेत बने । अहिले पनि उनी अधिकांश समय गाउँघरमै हुन्छन् ।
अरु मानिसहरु डीभी भरेर अमेरिका जान लालायित भइरहेका बेला महावीर भने अमेरिकाबाट फर्केर ग्रामीण नेपाली जनताको सेवामा लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment