Comments Add Comment

सुनकोशी : पन्छियो पहिरो, निस्किएन हिरो

नेत्र तामाङ

‘लेख्न सजिलो छ, गर्न गाह्रो छ,’ भन्छन् । तर, लेख्ने मान्छे कहिले पनि गर्ने ठाउँमा पुगेको हुँदैन । अख्तियारवाला ठाउँमा हुँदैन । त्यसैले यो अख्तियार प्राप्त गर्न नसक्नेले लगाउने आरोप हो । आरोप लगाएर ओतमा बस्नुभन्दा आफ्नो कमजोरीको तुना कस्न लागिहाल्नु उत्तम हुन्छ ।

netra tamangसन्दर्भ हो, सुनकोशी नदी थुनिने गरी खसेको पहिरोको । साउन १७ गते राति खसेको पहिरोले धेरैको ज्यान लियो, करोडौं सम्पत्ति पहिरोले बढारेर लग्यो । ठुलो ताल सम्झनामा रहृयो । तर, त्यही ताल पनि भदौको २२ गते बिहानै खोलो बनेर गयो । अनि, धेरैलाई लाग्यो, ‘पहिरो पन्छियो ।’ ठीकै हो, पहिरो पन्छियो, तर ‘हिरो’ भने निस्किएन ।

‘क्रिटिकल कन्डिसन’ मा हिरो निस्केका उदाहरणहरु धेरै छन् । तर, माङ्खाको जुरे पहिरोमा कुनै हिरो निस्केनन् । बरु सर्प मारेर पहिरो गएको हो, पहिरो गएको ठाउँमा दिउँसो १२ बजे मृतकका आक्रान्त स्वर सुनिन्छ, बनेको तालमा दिउँसै परी नाच्छे भन्ने कानेखुसी र मनगढन्ते हल्लाहरु फैलाउने ‘हिरो’ हरु निस्के ।

दुःखको कुरा, १ सय ५६ जनालाई यो पहिरोले कठोरतापूर्वक मृत्युको मुखमा सुम्पिदियो । कति घाइतेहरु अझै उपचाररत छन् । उनीहरुको भोलिको दिन कति कष्टपूर्ण हुने हो, त्यसबारे कसैले सोच्न पनि सक्ने अवस्था छैन । बिदेशिएकाहरु, काम विशेषले अन्य ठाउँमा गएकाहरु, मामाघर गएकाहरु, साथीकहाँ गएकाहरु भर्खरै होसमा आएका छन् । उनीहरुको मनमा खुसी पनि छ, दुःख पनि छ । खुसी यो कारण कि, पूर्नजन्म पाए । दुःखी यो अर्थमा संसारमा आˆनो भन्ने सबैले छाडेर गए ।

यी जनता टुहुरा बनेका छन् । ओत दिने एकजना पनि हिरो निस्कन नसक्दा अहिलेसम्म विस्थापितको बासको ठेगान हुन सकेको छैन । बाटो नखुल्दा तातोपानी नाकाबाट सामान आउन पाएन । यसले राज्यलाई यो अवधिमा एक अर्बभन्दा बढी घाटा भएको हिसाब निकालिसकेका छन् अर्थविद्हरुले । तर, अर्थविद्, योजनाकार र अधिकारीहरुले एउटा सानो कुरा गर्न भने चुकेका छन् ।

सामान्य किसानले गरा सम्याउँदा कान्ला पनि सफा गर्छ । कान्लाबाट केही नखसोस् भनेर । तर, यहाँ सडक बनाउने, खोला खोतल्नेहरुले यस्तो सामान्य नियम पनि पालना गरेको देखिँदैन । माथिबाट पहिरो झरिरहेको छ । तल खोला खोतलिरहेका छन्, बाटो खनिरहेका छन्, बटुवा, पर्यटक, रमितेहरु हिँडिरहेका छन् ।

सामान्य वा वैज्ञानिक दुबै किसिमले सबैभन्दा पहिले जोखिम कम गर्न पहिरो खसेको ठाउँ (कान्ला वा भिरालो पाखा) सम्याउनु पर्ने हो । त्यति सामान्य काममा त्यहाँ गएका प्राविधिक, विशेषज्ञ कसैको ध्यान पुगेन । प्राविधिक, विशेषज्ञको कुरा त अब सामान्य मान्छेले पनि नपत्याउने भएको छ । किनभने, ताल कुनै पनि किसिमले बग्दैन भनेर ठोकुवा गरेका थिए, तालको संरक्षण गर्नुपर्छ भनेका थिए । तर, ताल टिकेन । बगेर गयो ।

अर्को कुरा बाटोको । बाटो किन तीनतिरबाट खनिइरहेको छ ? सेनाले अर्कोतिरबाट, सडक विभागले एकातिरबाट, उद्योग वाणिज्य महासंघले उतातिरबाट, कसैले माथितिरबाट । तीनै निकाय सँगै मिलेर बनाउन सकिँदैन थ्यो ? तीनै निकायले एकैपटक बनाएको भए, सडक खुल्न कति नै समय लाग्थ्यो ? जोकोहीले अनुमान गर्न सकिन्छ ।

स्थलगत रिपोर्टमा पुग्दा मैले एकले अर्काले गरेको काममा ढिलासुस्ती गरिरहेको आरोप लगाएको पाएँ । कुनै निकायले बनाएको सडक ‘पर्फ]{ट’ छैन । यसले राज्यको कुनै निकायमा मेल छैन भन्ने देखाउँछ ।

त्यहाँ, अरनिको यातायात जस्तो ‘ड्रयागन’ यातायात व्यवसायी छ । यसले सडक खुलाउन कुनै पहल गरेको देखिएन । रातारात धनीको लिस्टमा चढ्नेहरु छन् । उनीहरुले सडक खुलाउन के प्रयास गरे ? सबैले ताके सरकारको मुख ? सरकारका कार्यकारी प्रमुख दिनहुँ बालुवाटारमा राहत रकम थाप्दै हत्तु छन् । तर, पीडितहरुसमक्ष राहत पुगेको छैन । त्यसैले यस्तो क्रिटिकल कन्डिसनमा जिल्लाबाटै एकजना ‘हिरो’ निस्कनुपर्ने हो ।

कर्मचारीहरुको पनि हिरो बन्ने छाती हुन्छ । काभ्रेका सिपाही दिनेश श्रेष्ठले एकजना बालक इनारमा खस्दा बहादुरी देखाए । सहादत प्राप्त गरे । तर, सरकारी संयन्त्रमा बसेर अख्तियार प्राप्त व्यक्तिले त्यहाँका जनतालाई ‘उहाँले गर्दा है’ भन्ने कुनै साहासिक काम गर्न सकेनन् । नत्र, बाटो चाँडै खुल्थ्यो । बेपत्ता भेटिन सक्थ्यो । राज्यलाई लाग्ने करोडौं घाटा लाग्दैनथ्यो । यस्तै बेलामा त हो नि सरकारी कर्मचारीले आˆनो क्षमता देखाउने । मलाई लाग्छ, यसपटक निजामति कर्मचारी दिवसमा कोही पनि ‘सर्वोत्कृष्ट’ कर्मचारी भेटिएनन् । यही पहिरोमा कसैले उल्लेखनीय काम गरेको भए उनी नै ‘सर्वोत्कृष्ट’ बन्थे ।

यो जिल्लाका राजनीतिक ‘हिरो’ पनि देखिएनन् । क्षेत्र नम्बर १ मा कांग्रेसका मोहनबहादुर बस्नेत सभासद् छन् । २ मा एमाओवादीका अग्नि सापकोटा सभासद् छन्, उनी पार्टीका शक्तिशाली सदस्य हुन् । तीनमा एमालेका शेरबहादुर तामाङ छन् । अर्को कुरा यहाँ एमालेका ठुलै नेता अमृत बोहरा क्षेत्र १ एक जहाँ पहिरो गएको थियो, त्यही क्षेत्रमा राजनीति गर्ने व्यक्ति हुन् । पशुपति शमशेर जबरा, राप्रपाका अध्यक्ष हुन् ।

उनीहरु कसैले जिम्मेवारपूर्ण, सम्झनालायक र प्रभावकारी भुमिका निभाएनन् । भोटर, बगाए, सकिए । अब के सहयोग गर्नु भनेर हात बाँधेका होलान् । सदनमा एकदिन ट्वारट्वार गरे । त्यति हो । आज एउटा स्कुल बनाउन एनजीओको पछाडि दौडिरहनु परेको अवस्था छ, विद्यालय व्यवस्थापन समिति । विद्यार्थीहरु प्लास्टिकमुनि चिसो खेतमा पढ्न बाध्य छन् । खेल्ने ठाउँको के कुरा, उनीहरुको रात बिताउने ठाउँ छैन । पहिरोमा बाँचेकाहरु भुइँमा खुट्टा राख्ने ठाउँ नपाएर भौंतारिरहेका छन् ।

दुईजना टुहुरालाई जिल्लाका कसैले जिम्मा लिन सकेनन् । प्रमुख जिल्ला अधिकारी जिल्लाका राजा हुन् । तर, उनले आˆनो हैसियत खासै देखाएनन् । हरालुछ भएपछि बालकल्याणमा ल्याएर राखिएको छ, ती टुहुरा बालबालिका । उनीहरु भोलि कता पुग्लान् भन्ने चिन्ता अब कसले लेला ? यसरी एउटा ठुलो विपदमा एकजना हिरो निस्कने प्राकृतिक नियम विपरीत अजबको घटना भएको छ, सिन्धुपाल्चोकको सुनकोशीमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment