Comments Add Comment

अदालतमा भ्रष्टाचार छ, तर अन्य निकायमा भन्दा न्यून छ : प्रस्तावित प्रधानन्यायाधीश साह

Ram-Kumar-prasad-sha-in-sun

१४ असोज, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्याधीश रामकुमार प्रसाद साहले अदालतमा पनि भ्रष्टाचार हुने गरेको स्वीकार गरेका छन् । तर, सरकारका अन्य अंगमा भन्दा अदालतमा न्यून भ्रष्टाचार भएको उनले दाबी गरे ।

संसदीय सुनुवाइ विशेष समितिको मंगलबारको बैठकमा सुनुवाइका क्रममा सभासदहरुले उठाएको प्रश्नको जवाफ दिँदै साहले भने- म भ्रष्टाचार निर्मूल गर्ने दाबी त गर्न सक्दिन तर, कम गर्ने प्रयास गर्छु ।’

अदालतमा कर्मचारी, कानुन व्यवसायीका रुपमा पनि बिचौलियाहरु रहेको भन्दै उनले त्यसलाई रोक्न प्रयास गर्ने बताए । उनले भने-‘केही अनुमान योग्य फैसला हुन्छ । विचौलियाहरुले दुबै पक्षबाट पैसा लिएको हुन्छ र फैसलापछि जित्नेको पैसा खल्तीमा राख्छ, अर्को पक्षलाई सकिएन बाबु भन्छ ।’

जिल्लादेखि सर्वोच्च अदालतसम्म आउँदा आफूले भ्रष्टाचार हुने प्वाइन्टहरु देखेको भन्दै उनले आफ्नो कार्यकालले भ्रष्टाचार न्यून गर्ने बताए । २०४०/४१ सालमा आफू दाङमा रहँदा आफ्नो नाममा फाँटबालाले पैसा लिएको भन्दै उनले आफूले थाहा पाएपछि कारबाही गरेको बताए ।

सुन्धाराको सरकारी जग्गा व्यक्तिगत नाममा दर्ता गरेको र त्यसले मुस्लिम समुदायलाई अन्याय भएको भन्ने उजुरीबारे जवाफ दिँदै उनले आफ्नौ फैसलामा कुनै कमजोरी नभएको दावी गरे । उजुरीमा कहीँ पनि मुस्लिम समुदाय र धर्मको कुरा नआएको भन्दै उनले त्यस्तो भेटिए पदबाट राजीनामा दिने चुनौती दिए ।

उनले उक्त मुद्दाको फैसला सभासदहरूको हातमा रहेको भन्दै उनले अध्ययन गरेर मात्र अनुमोदनबारे निर्णय गर्न अनुरोध गरे । उनले भने-फैसलाप्रति सन्तोष छैन भने अनुमोदन नगरेपनि हुन्छ ।’

सर्वोच्चका लागि प्रस्तावित न्यायाधीशहरुबारे नोट अफ डिसेन्ट लेखिएकोबारे सोधिएको प्रश्नमा उनले आफू अहिले पनि उक्त निर्णयमा अडिग रहेको बताए । तर, संसदीय समितिले नै प्रस्तावित न्यायाधीशलाई अनुमोदन गरेकाले धेरै भन्न नमिल्ने बताए ।

आफ्नो फरक मतबारे संसदीय समितिले छानविन गरेको भए राम्रो हुने उनले बताए । उनले अब मिलेर काम गर्न कुनै गाह्रो नहुने भन्दै उनले केही कमजोरी छन् भने सुधार गर्दैजानुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment