१२ मंसिर, काठमाडौं । पाँच वर्षमा एकपटक लाग्ने बाराको गढीमाई मेलामा करोडौंको आम्दानी हुने गरेको छ । मेलामा उठ्ने भेटी पुजारी र व्यवस्थापनले भागवण्डा गर्ने भएपछि पूजारीले आफूले सबै पाउनुपर्ने भन्दै गुनासो गरेका छन् ।
समय क्रमसँगै गढीमाईको आम्दानीको स्रोत पनि बढ्दै गइरहेको छ । समितिका अध्यक्ष रामचन्द्र साह गत वर्षभन्दा यस वर्ष गढीमाई मेलाबाट राम्रो आम्दानी हुने विश्वास व्यक्त गर्छन् ।
करोडौंको ठेक्का
स्रोतका अनुसार गढीमाईमा यस वर्ष ३ करोड ६ लाख भन्दा बढीको ठेक्का लागेको छ ।
यस वर्ष राँगाको ठेक्का १ करोड ६० लाखमा कबोल भएको छ । त्यस्तै मनोरञ्जन ठेक्का ६१ लाखमा लागेको छ ।
मेलामा पसल राख्नका लागि जग्गा ठेक्का ४१ लाखमा सकार भएको छ । गाडी पार्किङ्ग ४ लाख ४५ हजार रुपैयाँमा ठेक्का लागेको व्यवस्थापकले बताएका छन् ।
यसवर्ष भक्तजनहरुले गढीमाई मन्दिरमा चढाएको भेटी संरक्षणका लागि ४० लाख ५० हजार रुपैयाँमा भेटी संरक्षण ठेक्का लगाएको समितिले जानकारी दिएको छ ।
समितिले भेटी संरक्षणका नाममा मन्दिरमा चढाइएको भेटीबाट ५९ प्रतिशत रकम समितिलाई र बाँकी रहेको ४१ प्रतिशत पुजारीलाई दिने सहमति गरेको छ ।
तर, विगत ११ पुस्ता देखि गढीमाईको पूजापाठ गर्दै आइरहेका पुजारी पुस्ताका शिव चौधरी थारुले भने गढीमाईमा चढ्ने सबै भेटी अहिलेसम्म आफूहरुले एकलौटी भोग गर्दै आएको बताए । भेटी बाँडफाड गरेर इतिहास परिवर्तन गरिएको भन्दै उनले गुनासो गरे ।
आम्दानी करोडौं, पूर्वाधार छैन
गढीमाईको मेलामा ३ करोड हाराहारी आम्दानी भए पनि भक्तजनको सुविधाका लागि भौतिक पूर्वाधारको विकास हुन सकेको छैन । गढीमाईमा बधबाला, बाटो, गाडी पार्किङ र अन्य व्यवस्थापकीय सुधार हुन सकेको छैन ।