१४ माघ, काठमाडौं । सूचना प्रविधि क्षेत्रको सबैभन्दा ठूलो मेला ‘क्यान इन्फोटेक’ बुधबारदेखि सुरु भएको छ । राजधानीको भृकुटीमण्डमा आयोजित मेलाको उपप्रधानमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरे ।
मेलामा स्टलहरुको डेकुरेसन पूर्ण रुपमा नसकिएको भएपनि सूचना प्रविधिका पारखीहरुको बाक्लो भिड लागेको छ । उद्घाटनकै दिन मेलास्थलमा स्कुले विद्यार्थीदेखि कर्पोरेट हाउसका कर्मचारीसम्म देखिएका छन् ।
नेपालको सूचना प्रविधि क्षेत्रमा ‘ब्रान्डिङ’ बनिसकेको ‘क्यान इन्फोटेक’ सर्वाधिक चासो राखिने मेला हो । विश्व बजारमा विकसित सूचना प्रविधिका पछिल्ला प्रविधिहरु एकै ठाउँमा अवलोकन गर्न पाइने हुँदा पनि अन्य मेलाहरुको तुलनामा यो मेला विशेष हुने गरेको छ ।
मेला उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले सूचना प्रविधि मानव जीवनको अभिन्न अंग भइसकेको बताए । प्रविधिकै कारण सिंगो विश्व एक भइसकेको उल्लेख गर्दै उनले यस क्षेत्रको थप विकासका लागि अगाडि बढ्न व्यवसायी तथा सरोकारवाला पक्षलाई आग्रह गरे ।
विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेलले सूचना प्रविधिको विकासमा व्यवसायीले खेलेको भूमिकाको प्रशंसा गरे । उनले बनेपास्थित आइटी पार्क सार्वजनिक नीजि साझेदारीमा सञ्चालन गर्न प्रकृया अगाडि बढाइसकेको जानकारी दिए । उक्त आइटी पार्क सञ्चालनमा ल्याउन सकेमा सूचना प्रविधिको क्षेत्रमा नयाँ आयाम थपिने उनको भनाई थियो ।
‘सुबिसु क्यान इन्फोटेक २०१५ ईन एशोसिएशन विथ डेलरइन्टेल बाई नियोटेरिक नेपाल’ नाम दिइएको मेलामा माघ १९ गतेसम्म सञ्चालन हुनेछ । मेलामा सहभागी कम्पनीहरुले ग्राहकहरुलाई लक्षित गर्दै नयाँ प्रोडक्टहरु सार्वजनिक गर्नुका साथै विशेष अफरहरु समेत उपलब्ध गराएका छन् ।
नयाँ प्रोडक्ट विशेष अफरसहित खरिद गर्न पाइने हुँदा पनि क्यान इन्फोटकप्रति सर्वसाधारणको चासो देखिएको हो । मेला अवलोकनका लागि मात्र नभई आफुलाई आवश्यक वस्तु खरिद वा बुकिङ गर्नका लागि उपर्यूक्त अवसर हो ।
मेलामा मुख्य प्रदर्शनी हलभित्र ४९ वटा र हल बाहिर ३ वटा ब्रान्डिङ प्रदर्शनी कक्षहरु रहेका छन् । त्यस्तै, ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुड स्टलहरु ९ गरी जम्मा २१९ स्टलहरु रहेको मेला अयोजक कम्प्यूटर एशोसियसन अफ नेपाल (क्यान) ले बताएको छ ।
मेलामा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स र अन्य स्टलहरु रहेका छन् ।
यस पटकको मेलामा साढे ४ लाख अवलोकनकर्ता भित्राउने लक्ष्य राखिएको छ । अघिल्लो मेलामा ४ लाख ३१ हजार ३ सय ५० अवलोकनकर्ता मेलामा आएका थिए ।
मेलामा साधारणहरुलाई प्रवेश शुल्क १५० रुपैयाँ र विद्यार्थीहरुलाई ७५ रुपैयाँ तोकिएको छ । माघ १८ गते आइतबारको दिनलाई विजनेश डे को रुपमा घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क सम्पूर्ण अवलोकन कर्ताहरुको लागि १५० रुपैयाँ तोकेको आयोजकले जनाएको छ ।
सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोधसहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
मेलामा अनलाइन टिकट खरीदको अग्रीम रुपमा व्यवस्था मिलाएको बताउँदै आयोजकले अनलाइन टिकट खरीदमा २० प्रतिशत छुट समेत प्रदान गर्ने जनाएको छ ।
प्रतिक्रिया 4