Comments Add Comment

मधेसमा किन सुक्दैछन् महेन्द्रकालीन सदरमुकाम ?

अरुण बराल/ टिप्पणी

पञ्चायती व्यवस्थाका प्रवर्तक तत्कालीन राजा महेन्द्रलाई केही मधेसवादी दलका नेताले ‘पहाडे राष्ट्रवादी’ बताउने गरेका छन् । तर, तिनै महेन्द्र हुन्, जसले मधेसी समुदायलाई पायक पर्ने ठाउँमा सदरमुकामहरु राखेका थिए । ती सदरमुकाम अहिले धमाधम सुक्न थालेका छन् ।

nepal map

महेन्द्रका पालामा खडा गरिएका मधेसका जिल्ला सदरमुकाम जोगाउने अभियानमा अहिले मधेसवादी नेताहरु लागिपरेका छन् । मधेसी समुदायका नेता र स्थानीय जनता महेन्द्रका पालामा बनाइएका सदरमुकाम यथावत राखिनुपर्ने पक्षमा उभिएका छन् । एमाले र कांग्रेस नेतृत्वको सरकारले ‘महेन्द्रकालीन’ सदरमुकामबाट सरकारी सेवा र सुविधा जिल्लाकाे माथिल्लाे भागमा विस्तार गर्न खोजिरहेकाे छ।

सरकारी निर्णयको विरोधमा कलैया, इनरुवाजस्ता पुरानाे सदरमुकामहरूका बासिन्दा आन्दोलित  छन् । उनीहरु महेन्द्रकालीन सदरमुकामकै पक्षमा उभिएका छन् ।

मधेसी समुदायको मागलाई हेर्दा प्रश्न उब्जन्छ, के तत्कालीन राजा महेन्द्रले तराईका दक्षिणी भेगमा सदरमुकामहरु राखेर सही निर्णय गरेका रहेछन् ?

चन्द्रगढीदेखि इनरुवासम्म

झापाको सदरमुकाम चन्द्रगढीमा छ । यो सदरमुकाम दक्षिणी अपायक ठाउँमा छ । झापाको बिर्तामोड जति पायक पर्ने ठाउँमा छ, त्यसको तुलनामा चन्द्रगढी कुनामा छ ।

पछिल्लो जनगणनाका आधारमा हेर्दा झापाको सदरमुकाम सुकेको छ । सदरमुकाम चन्द्रगढीको जनसंख्या १८ हजारको हाराहारीमा छ, जब कि बिर्तामोडअन्तरगगत पर्ने अनारमनीको जनसंख्या ४२ हजार र चारपानेको जनसंख्या १७ हजारको हाराहारीमा छ । २६ हजार जनसंख्या भएको सतासीधाम र २७ हजार जनसंख्या भएको सुरुङ्गाभन्दा जिल्ला सदरमुकाम सानो छ ।

पूर्वी तराईमा जनसंख्याको चाप उत्तर र दक्षिणतर्फ निकै असन्तुलित देखिन्छ । जस्तो कि झापाको राजमार्ग क्षेत्रका गाविसमा ४२ हजारसम्म जनसंख्या छ भने दक्षिणको केचनामा ५ हजार, खजुरगाछीमा ९ हजार, कोरोबारीमा ६ हजार, कुमरखोदमा ९ हजार र घेराबारीमा ६ हजार आसपासमात्रै जनसंख्या छ ।

यस्तो असन्तुलित जनघनत्वले तराईका दक्षिणी भेगमा मानिसहरुको आकर्षण वा शहरी विकास हुन सकेको देखिँदैन ।

दुईलाख बढी जनसंख्या भएको बिराटनगर देशकै प्रमुुख औद्योगिक शहर भएकाले यो बजार चन्द्रगढीजस्तो सुक्ने अवस्थामा छैन । जिल्लाको दक्षिणी कुनाकाे सीमावर्ती क्षेत्रमै भए पनि बिराटनगरमा बसाइँ सरेर जानेहरु पहाडे र मधेसी दुबै समुदायका छन् ।

मोरङमा बिराटनगरसँग प्रतिस्पर्धा गर्न नसके पनि राजमार्ग आसपास जनघनत्व बढिरहेको छ । यही कारणले गर्दा उत्तरी मोरङका जनतालाई लक्षित गर्दै मालपोत र नापी कार्यालय बेलबारी बजारमा समेत खोलिएको छ । बेलबारीमा मालपोत र नापी कार्यलय खोलिएपछि निश्चय नै बिराटनगर माल अड्डाका लेखन्दासलाई घाटा लागेकै छ ।

जनघनत्वको हिसाबले हेर्दा मोरङको उर्लाबारीमा ३५ हजार बढी मानिसहरु बस्छन् । त्यस्तै बयरवनमा २० हजार, पथरीमा २५ हजार, डाँगीहाटमा २२ हजार, बेलबारीमा २४ हजार, इन्द्रपुरमा २७ हजार, सुन्दरपुरमा १८ हजार र दुलारीजस्ता राजमार्ग क्षेत्रमा १४ हजारभन्दा बढी जनसंख्या छ ।

मोरङको दक्षिणी सीमा क्षेत्रमा राजमार्गको तुलनामा ज्यादै थोरै बसोबास छ । महादेवा गाविसको जनसंख्या ६ हजार पनि छैन । पुरानो सदरमुकाम रंगेलीको भन्दा बेलाबारीको जनसंख्या बढिसकेको छ । रंगेलीको जनसंख्या १५ हजार हाराहारी छ ।

सुनसरीको सदरमुकाम इनरुवा पनि सीमावर्ती मधेसी वाहुल्य क्षत्रेमै छ । जनसंख्याको हिसाबले चाँहि इनरुवालाई हाँसपोसाले भेट्टाउन आँटिसकेको छ । इनरुवाको जनसंख्या साढे २८ हजार छ भने हाँसपोसाको जनसंख्या २५ हजार हाराहारीमा छ । जिल्ला सदरमुकाम भएर पनि इनरुवा तन्किन सकेको छैन । यहाँको प्रभाव घट्दो छ ।

सिमरामा भएको विरोध प्रर्दशन
सिमरामा भएको विरोध प्रर्दशन

पुरानो बजार भइकन पनि सुनसरीकाे दुहबीसमेत चम्कन सकेको छैन । दुहबीको जनसंख्या हाँसपोसाको भन्दा ४ हजार कम अर्थात् २१ हजारको हाराहारीमा छ ।

इनरुवाभन्दा बहुमत जिल्लाबासीको पायक पर्ने ठाउँमा रहेको इटहरीले धरानलाई पछ्याइरहेको छ । पूर्वाञ्चलकै मनोरम शहर धरान मुर्झाएको जस्तो छ भने इटहरी भर्खरको नौजवानजस्तो देखिन थालेको छ ।

यद्यपि जनसंख्याको हिसाबले धरानमा १ लाख १६ हजार भन्दा बढी मानिस बसोबास गर्छन् । तर, इटहरीको जनसंख्या भर्खर ७४ हजार नाघेको छ ।

सुनसरीमा उत्तरी भेगको तुलनामा दक्षिणी गाविसहरुको जनसंख्या दयनीय छ । दक्षिणी दुरवर्ती साहेबगञ्ज गाविसमा करिब ४ हजार मानिस बस्छन् । अमडुवामा ९ हजार र कप्तानगञ्जमा ९ हजारको हाराहारी जनसंख्या छ ।

जब कि राजमार्ग आसपास र उत्तरतर्फकाे भरौलमा १९ हजार र बक्लौरीमा १३ हजार भन्दा बढी मानिसको बसोबास छ । यो तथ्यांकले पनि सुनसरीको सदरमुकाम र दक्षिणी गाविसहरु सुक्ने अनि अन्यत्र शहरीकरण तीब्र बन्ने विशेषता झल्कन्छ ।

यद्यपि यसको अर्थ यो होइन कि झापा, मोरङ र सुनसरीका दक्षिणी गाविसमा विकास आवश्यक छैन । झापाको घेराबारी र कोरोबारीदेखि मोरङको मोरङको महादेवा र सुनसरीको साहेबगञ्जसम्म बाटो, सरकारी कार्यालय र विद्यालयजस्ता विकासका पूर्वाधारहरु विकास हुन नसक्दा त्यहाँका जनताको जनजीवन दुखद बनेकाे छ । राज्यले दक्षिणी सीमामा जनघनत्व बढाउने नीति ल्याउन सके त्यहाँ वस्ती विकास हुन सक्ने अनुमान गर्न सकिन्छ ।

सप्तरी र सिरहाको बेग्लै चरित्र

सप्तकोशीभन्दा पश्चिमका सप्तरी र सिरहा मधेसी बाहुल्य जिल्ला हुन् । तर, सप्तरी र सिरहामा कोशीपूर्वका तीन जिल्लामा जस्तो असन्तुलित जनघनत्व खासै छैन भन्दा हुन्छ । सप्तरीको सदरमुकाम राजविराज दक्षिणमै भए पनि अपेक्षाकृत हिसाबले जिल्लाको पायक पर्ने ठाउँ नै मानिन्छ ।

सप्तरीको भारतसँग जोडिएको छिन्नमस्ताको जनसंख्या १० हजारभन्दा माथि छ । राजमार्गसँग जोडिएका कल्याणपुरलगायतको जनसंख्या ८ हजारको हाराहारीमा छ । यहाँका उत्तर र दक्षिणका गाविसहरुको जनसंख्याको भिन्नता पूर्वी तराईको जस्तो देखिँदैन ।

सिरहाको हकमा पूर्व-पश्चिम राजमार्ग अन्तरगत पर्ने लहानमा जनघनत्व बढेको देखिन्छ । लहानको जनसंख्या ३३ हजारभन्दा माथि छ । यो जिल्लामा पनि सप्तरीमा जस्तै उत्तर- दक्षिणको जनघनत्व उत्ति साह्रो असन्तुलित देखिँदैन ।

दक्षिणमा औराहीको जनसंख्या ५६ सय हाराहारीमा छ ।  जिल्लाका मध्यभाग र उत्तरी भागमा पनि पहाडे समुदायको बाक्लो प्रवेश देखिँदैन । यद्यपि दक्षिणी भागमा पर्ने सिरहा बजारलार्इ लहानको जनसंख्याले ३ हजारले जितिसकेको छ ।

खोटाङ, भोजपुर र ओखलढुंगातिरबाट तराई झर्ने मानिसहरु गार्इघाट र उदयपुरकै दक्षिणी भेगमा अल्मलिएको देखिन्छ । ओखलढुंगासँग जोडिएको उदयपुरको लेखानीमा ३२ सय मानिस बस्छन् । जबकि ठोक्सिलाको जनसंख्या २१ हजार नाघेको छ ।

जनकपुर र नारायणीको चरित्र पूर्वजस्तै

सगरमाथा अञ्चललाई छाडेर जनकपुर र नारयण अञ्चलतिर लागेपछि तराईको बसोबासको चरित्र झापा, मोरङसँग मिल्दोजुल्दो देखिन्छ । अहिले सदरमुकामको विवाद पनि यिनै अञ्चलहरुमा बढी छ।

भारतको सीमावर्ती क्षेत्रसम्म फैलिएको जनकपुर शहर बिराटनगरजस्तै विशाल र सांस्कृतिक महत्वकाे भएकाले यहाँको ९७ हजारभन्दा बढी जनघनत्वसँग जिल्लाको अर्को कुनै बस्तीले प्रतिस्पर्धा गर्न सक्दैन । तर, यतिबेला १० हजारको हाराहारी जनसंख्या रहेको धनुषाको ढल्केबर  बसाइँ सराईको केन्द्र बन्दैछ ।

मधेस आन्दोलनपछि जनकपुरबाट पहाडे समुदाय उत्तरतिर सर्न थालेको चिन्ता पनि कतिपयले गर्दै आएका छन्, जसले जनकपुरको राप ताप विगतको भन्दा घटेको संकेत गर्छ ।

महोत्तरीको सदरमुकाम सुदुर दक्षिणको जलेश्वरमा छ । जलेश्वरको जनसंख्या २३ हजारको हाराहारीमा छ । यो पुरानो व्यापारिक शहर हो । तर, जलेश्वरलाई बर्दिबासले सुकाउने हो कि भन्ने स्थानीयवासीमा त्रास छ ।

महोत्तरीको सदरमुकाम १७ हजार हाराहारी जनसंख्या रहेको गौशालामा भएको भए केन्द्र भागमा हुन सक्थ्यो । तर, महेन्द्रका पालाको पञ्चायती राज्य संरचनाले दक्षिणी भेगमै सदरमुकाम राखेको थियो, जसले मधेसी समुदायलाई सन्तुष्टि दिएको थियो ।

महोत्तरीको जनसंख्या पनि झापा मोरङको जस्तै असमान छ । सीमानाका गाविसहरुमा ३ देखि ९ हजारसम्मको बसोबास छ भने उत्तरतर्फ १० हजारभन्दा माथिको जनघनत्व छ ।

सर्लाहीको मलंगवा पनि दक्षिणी भेगमै रहेको सदरमुकाम हो । यहाँको राजमार्ग छुने  हरिवनको जनसंख्या २० हजार नाघेको छ । लालबन्दीको जनसंख्या १४ हजार माथि छ । दक्षिणको बहादुरपुर गाविसको जनसंख्या  २ हजार मात्र छ ।

रौतहटको हालत पनि यस्तै छ । जिल्लाको दक्षिणी कुनामा रहेको सदरमुकाम गौरको जनसंख्यालाई चन्द्रनिगाहपुरले पछ्याइरहेको छ । पछिल्लो जनगणनाअनुसार गौरको जनसंख्या ३४ हजार ९ सय छ भने चन्द्र निगाहपुरको जनसंख्या २६ हजार पुगिसकेको छ । दक्षिणी गाविसको कुरा गर्दा नगरपालिकासँगै जोडिएको लक्ष्मीपुर गाविसको जनसंख्या ३५ सय मात्रै छ । रौतहटको ब्रह्मपुरीको जनसंख्या ४१ सय छ ।

बारामा यतिखेर कलैया र सिमराको विवाद छ । जनसंख्याको हिसाबले हेर्दा बाराको सदरमुकाम कलैयाको जनसंख्या ४२ हजार छ भने पिपरा सिमराको जनसंख्या २३ हजार मात्र छ । महेन्द्रकालीन जिल्ला सदरमुकाम सुदुर दक्षिणको अपायकमा रहेको गुनासो सिमरादेखि निजगढसम्मका बासिन्दाले गर्दै आएका छन् ।

बाराको पनि उत्तर-दक्षिणको जनघनत्व असमान छ । निजगढको जनसंख्या १९ हजार बढी छ । डुमरवानाको जनसंख्या २१ हजार नाघेको छ । तर, दक्षिणी गाविसहरुको जनसंख्या ४ हजारदेखि ६ हजारको हाराहारीमा देखिन्छ ।

त्यसैगरी पर्साको बसोबासको अवस्था हेर्दा उत्तर-दक्षिणको असन्तुलन खासै धेरै देखिँदैन । पर्साको दक्षिणी गाविस ठोरीमा ७ हजार बढी मानिस बसोबास गर्छन्, जसको विशेषता चितवनसँग मिल्छ । सीमानाका कतिपय गाविसको जनसंख्या भने ४ हजारसम्म छ ।
पर्साको प्रमुख व्यापारिक शहर वीरगञ्जको जनसंख्या १ लाख ३५ हजारभन्दा बढी छ ।

महेन्द्रले सम्झिए, लोकतन्त्रवादीले बिर्सिए ?

तराईको सीमावर्ती क्षेत्रलाई तत्कालीन राजा महेन्द्रले निकै ध्यान दिएका थिए । यही कारणले र अन्य कतिपय वस्तुगत कारणले तराईका सीमा क्षेत्रमा व्यापारिक र प्रशासनिक शहरहरु बन्न सम्भव भएका हुन् । तर, चन्द्रगढीदेखि जलेश्वर र कलैयासम्म पञ्चायतकालमा देखिएको महेन्द्रकालीन राप-ताप अहिले सुक्दैछ ।

इलामको चुलाचुली र झापाको पाडाजुँगीतिरबाट ‘सुकुम्वासी’हरु उठाए महेन्द्रले झापाको दक्षिणी गाविस पथरिया र घेराबारीमा बसोबास गराएकै हुन् । अहिले घेराबारीका मान्छेहरु बसाइँ सरेर धमाधाम बिर्तामोडतिर सर्दैछन् । खेतीयोग्य सीमाक्षेत्र बिस्तारै बञ्जर बन्न थालेको छ ।

महेन्द्रले नवलपरासीको सुस्तामा मानिसलाई बसोबास गराए । अहिले तिनकै सन्तान गोपाल गुरुङ सुस्तामा सीमा रक्षाका लागि संघर्ष गरिरहेका छन् । सुस्तामा पहाडे र मधेसीवीच कुनै विभेद छैन । उनीहरु मिलेरै बसेका छन् ।
तर, तराई मधेसका दक्षिणी भेगमा यतिबेला किन मानिसहरु पातलिँदैछन् ? त्यहाँका महेन्द्रकालीन सदरमुकामहरु किन सुनसान हुन थालेका छन् ? महेन्द्रले सम्झिएको मधेसलाई के अहिलेका लोकतन्त्रवादीहरुले बिर्सिएका हुन् ?

के मधेसमा राज्यले ध्यान नदिएर, विकास नगरेर, सरकारी सेवा विस्तार नगरेर वा हुलाकी राजमार्ग नबनाएरमात्रै शहरीकरण हुन नसकेको हो ? कि मधेस आन्दोलनका नाममा पहाडे समुदायलाई ‘उपनिवेशवादी’ भन्दै लखेट्न थालिएपछि दक्षिणी तराईका सहरहरु सुक्न थालेका हुन् ? यसमा गम्भीर बहस आवश्यक देखिएको छ ।

दक्षिणी तराईका सहरहरु सुक्नु र जनघनत्व घट्दै जानु राम्रो होइन । यसलाई रोक्न राज्यतर्फबाट त्यहाँ विकास लैजानैपर्छ । तर, सँगसँगै मधेसवादी नेताका तर्फबाट पहाडे समुदाय र मधेसी समुदायवीच भातृत्वको विकास पनि गर्नुपर्छ । तबमात्रै कलैया, जलेश्वर र गौरहरु धपक्क बलिरहन्छन् । जनकपुर ज्वाजल्यमान भइरहन्छ ।

भौतिक विकासको अभावले मात्रै तराई मधेसका पुराना बस्तीहरु बञ्जर बन्न थालेका पक्कै होइनन् कि ? साम्प्रदायिक सदभावको अभावले पनि यसमा भूमिका खेलेको पो छ कि ? यसमा  स्वच्छ दिमागले विमर्श गर्नैपर्ने खाँचो देखिएको छ ।

अन्यथा मधेसी समुदायले महेन्द्रवादी भनेर घृणा गरिएका उनै पात्रले बसाएको सहरको रक्षार्थ कलैयाहरुले कति दिन आन्दोलन गरिरहने ? अब हामीले कलैया र सिमरालाई जोड्ने सूत्र किन नखोज्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment