५ चैत, काठमाडौं । विहीबारबाट सुरु भएको यस बर्षको एसएलसी परीक्षा छिटपुट घटना बाहेक देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । विहीबार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका विद्यार्थीहरुले शुक्रबार अनिवार्य नेपाली विषयको परीक्षा दिँदैछन् ।
- विष्णुबहादुर द्वारे, परीक्षा नियन्त्रक
‘काठमाडौंसहित देशभर कुनै अप्रिय घटना नभएको रिपोर्ट आएको छ,’ परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले अनलाइनखबरलाई भने ।
विहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा समय थियो । तर, कतिपय केन्द्रमा पौने ११ बजे नै परीक्षा सकिएको जिल्ला शिक्षा कार्यालय काठमाडौंका सहायक जिल्ला शिक्षा अधिकारी दुर्गा प्रसाईंले बताए ।
काठमाडौंमा पहिलो दिनको एसएलसी परीक्षा भिडियो हेर्नुहोस्-
५ निरीक्षक निष्काशित
सिराहाको लहानमा एसएलसी परीक्षाको पहिलो दिन ५ निरीक्षक निष्काशित भएका छन् । सगरमाथा परीक्षा केन्द्र मिर्चैयाबाट रामदेव साह, पड्रिया परीक्षा केन्द्रबाट रामप्रसाद पोखरेल, बर्छबा परीक्षा केन्द्रबाट दीपेन्द्रकुमार साह, कल्याणपुर परीक्षा केन्द्रबाट रञ्जितकुमार यादव र लिटिल स्टार स्कुल परीक्षा केन्द्रबाट विनोदकुमार रामलाई निष्काशन गरिएको हो ।
उनीहरुले विद्यार्थीलाई चिट चोराउन सहयोग गरेकोले निरीक्षकबाट निष्काशन गरेको सिरहाका जिल्ला शिक्षा अधिकारी ओमबहादुर कटुवालले जानकारी दिए ।
महोत्तरीका विभिन्न परिक्षा केन्द्रबाट ७ बोरा भन्दा बढी चिट बरामद भएको छ भने आचारसंहिता विपरित काम गर्ने एक दर्जन बढी निरीक्षकलाई चेतावनी दिइएको छ ।

एसिड पीडित किशोरीको परीक्षा अस्पतालमा
काठमाडौंको बसन्तपुरस्थित एक ट्युसन सेन्टरमा अज्ञात व्यक्तिको एसिड आक्रमणबाट घाइते भएका संगिता मगर र सीमा बस्नेतले अस्पतालकै शैयाबाट परीक्षा दिएका छन् । संगितालाई केएमसी अस्पताल सिनामंगलको १०३ नम्बर बेडमा परीक्षा दिन कक्षा ९ का छात्र सनम तामाङले सघाए । सीमाले भने बीर अस्पतालको बेडबाट आफै कलम चलाएर परीक्षा दिइन् ।
नेताकी श्रीमतीदेखि गृहिणीसम्म
काठमाडौंमा नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यकी श्रीमती सुषमाले पनि एसएलसी परीक्षामा सहभागी भइन् । गोंगबुस्थित प्रेरणा महिला विद्यालयकी छात्रा सुषमाले सामाखुशीस्थित मनोहर उच्च मावि केन्द्रबाट परीक्षा दिएकी छन् । ऐच्छिक लेखा विषय लिएकी उनको सिम्वोल नम्बर ‘०९००२४९ सी’ हो । परीक्षा फारममा उनको जन्म मिति २०१४ जेठ २७ उल्लेख छ ।

सुनसरीको धरान-२३ पानबारीकी ७४ वर्षीया तीर्थकुमारी खड्काले भानुस्मृति मावि केन्द्रबाट परीक्षा दिएकी छन् । पाँचकन्याको सरस्वती उच्च माविकी विद्यार्थी हुन् ।
परीक्षा दिँदा छोरो जन्मियो
जाजरकोटको दल्ली परीक्षा केन्द्रमा परीक्षा दिँदा दिँदै एक छात्राले बच्चा जन्माएकी छन् । जुनी बाल संरक्षण मावि लहँ सिर्केकी आंशिकतर्फकी छात्रा पवित्रा सिंहले बच्चा जन्माएकी हुन् । परीक्षा सकिन आधा घन्टा बाँकी रहँदा उनलाई सुत्केरी बेथा लागेको थियो । त्यसपछि नजिकैको अस्पताल पुर्याएको १० मिनेटभित्र उनले छोरालाई जन्म दिएको प्रहरीले बताएको छ ।
सुत्केरी भएको २४ घन्टामै परीक्षा
जुम्लाको दुर्गा उच्च माध्यमिक विद्यालय लाम्रा परीक्षा केन्द्रमा लाम्रा-५ जुम्लाकी सावित्री नेपाली सुत्केरी भएको २४ घन्टाभित्र अंग्रेजी विषयको परीक्षामा सामेल भएकी छन् ।
२० वर्षीया नेपालीले बुधबार राति करिब पौने ८ बजेतिर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा छोरी जन्माएकी थिइन् । चिकित्सकले ४ दिनसम्म विश्राम लिन भने पनि उनले विहीबार विहानै परीक्षा दिएकी छन् । केन्द्राध्यक्ष प्रेमबहादुर शाहीका अनुसार उनलाई अरु विद्यार्थी भन्दा एक घन्टा बढी समय उपलब्ध गराइएको थियो ।
दुबै हात नभएकाले दिए एसएलसी
तनहुँ गजौडेका शरण घर्तीका दुवै हात छैनन् । तर पनि उनले पहिलो श्रेणीमा पास हुने उद्देश्यसहित सहयोगीको साथमा परीक्षा दिएका छन् । माहेन्द्री उच्च माविका छात्रा शरणले क्यामिन उच्च मावि केन्द्रबाट परीक्षा दिएका छन् ।
कारागारमै परीक्षा
मोरङको विराटनगरस्थित कारागारबाट ४ जना कैदीबन्दी र बालसुधार गृहबाट ४ परीक्षार्थीले परीक्षा दिएका छन् । जिल्ला शिक्षा कार्यालय, मोरङले कारागार र बालसुधार गृहमै परीक्षाको व्यवस्था मिलाएको छ ।
रुपन्देहीको भैरहवास्थित कारागारबाट जसबहादुर थापाले एसएलसी परीक्षा दिएका छन् । उनी मोटरसाईकल चोरीको मुद्दामा जेल परेका हुन् । रुपन्देहीमा १ सय ४२ जना परिक्षार्थी परीक्षामा अनुपस्थित भएका छन् ।
पर्साको वीरगन्ज कारागारबाट ९, कैलाली कारागारबाट ६ र इलाम कारागारका ४ कैदीबन्दी तथा ३ दृष्टिविहीन पनि परीक्षामा सहभागी भएका छन् ।
गृहिणी पनि परीक्षामा
काभ्रे जिल्लाबाट ७ जना गृहिणी एसएलसी परीक्षामा सहभागी भएका छन् । अनौपचारिक विद्यालयअन्तर्गत विद्याकुञ्ज बनेपामा अध्ययन गरेका उनीहरुले धुलिखेलस्थित पूर्ण सञ्जीवनी उच्च माध्यमिक विद्यालयको केन्द्रबाट परीक्षामा सहभागी भएका छन् । पूर्ण सञ्जीवनी उच्च मावि धुलिखेलमा अध्ययनरत एकजना दृष्टिविहीन विद्यार्थी पनि परीक्षामा सामेल छन् ।
महिलाबाट परीक्षा केन्द्र सन्चालित
कास्कीको नदिपुरमा रहेको कन्या माविमा महिलाले मात्र परीक्षा केन्द्र सञ्चालन गरेका छन् । एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष र ८ जना निरीक्षक सहित सुरक्षा गार्डसमेत महिलालाई खटाएर परीक्षा सन्चालन गरिएको जिल्ला शिक्षा अधिकारी अम्विका प्रसाद आचार्यले बताए ।
प्रतिक्रिया 4