Comments Add Comment

‘बुर्जुवा शिक्षा’का लागि वैद्य पत्नीको मौन विद्रोह

sushma baiddhya-1५ चैत, काठमाडौं । ठिक २० वर्षअघि सशस्त्र युद्धको शुरुवात गर्दा तत्कालिन नेकपा माओवादीका दोस्रो बरियताका नेता मोहन वैद्यले स्कूल कलेज पढ्दै गरेका नौजवानहरुलाई बुर्जुवा शिक्षा बहिस्कारको आह्वान गरेका थिए ।

तर २० वर्षपछि नेपाली समाजले माओवादीहरुकै भाषामा अग्रगमनको छलाङ हानिसकेको छ । त्यसैले होला, बुर्जुवा शिक्षा बहिस्कारका प्रेरणा स्रोत वैद्य आफ्नै पत्नीलाई एसएलसी प्रवेशिका परीक्षाको परीक्षार्थीका रुपमा देख्न पाए ।

पाको परीक्षार्थी

नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यकी पत्नी सुष्मा वैद्य पौने ६ लाख किशोर किशोरीसँगै सम्भवतः सबैभन्दा पाको परीक्षार्थीका रुपमा यो वर्षको प्रवेशिका परीक्षामा सहभागी भएकी छन् ।

सुषमाको प्रवेश पत्र
सुषमाको प्रवेश पत्र

एसएसलीको औषत परीक्षार्थीको उमेर १५ वर्ष हो । तर माक्र्सवादी शौन्दर्य शास्त्रका पुरोहित समेत मानिने मोहन वैद्य पत्नी शुष्मा भने ५८ वर्षकी भइन् ।

खाने मुखलाई जुँगाले छेक्दैन भने जस्तै पढ्ने इच्छालाई उमेरले छेक्दैन भन्ने उदाहरण पनि बनेकी छन् यी बामपन्थी महिला नेतृ । उनले काठमाडौंको सामाखुशीस्थित मनोहर उच्च मावि केन्द्रबाट परीक्षा दिएकी छन् ।

उनी एेच्छिक लेखा विषयकी छात्रा हुन् । उनको सिम्वोल नम्बर ‘०९००२४९ सी’ हो । परीक्षा फारममा उनको जन्म मिति २०१४ जेठ २७ उल्लेख छ ।

विहेपछिको बाटो

प्युठान खैरा गाविसका मोहन वैद्यसँग २०३१ साल असोजमा जनवादी विहे गरेको करीव ४० वर्षपछि उनले एसएलसी परीक्षा दिएकी हुन् ।

पण्डित शशिधरका जेठा छोरा मोहन वैद्यसँग सुष्माको खैरा गाविसको कुश्मारुखमा प्रगतिशील विवाह भएको थियो । विवाहपछि उनले पढ्ने मौका पाइनन् ।

अझ नेपालको औपचारिक शिक्षालाई ‘बुर्जुवा शिक्षा’का रुपमा परिभाषित गर्दै समाजमा माक्र्सवादी दर्शनको पाठ पढाउने श्रीमानले ‘बुर्जुवा शिक्षा’ पढ्न प्रेरित गर्ने कुरै पनि भएन ।

२०१३ सालमा अर्घाखाँचीमा जन्मिएकी सुष्माले रजथलस्थित राइसचौर निमाविमा ४ कक्षासम्म अध्ययन गरेकी थिइन् । उनी तीन बहिनी मध्येकी माहिली हुन् । कान्छी बहिनीले एसएलसीसम्मको अध्ययन पूरा गरे पनि दिदीले भने अध्ययन गर्ने अवसर पाइनन् । सुष्माको विवाहपछि वैद्य परिवार दाङ बसाई सर्‍यो । परिवार दाङ बसाई सर्दा मोहन वैद्य भूमिगत भइसकेका थिए ।

घरको कान्छी विद्यार्थी

वैद्यकै परिभाषामा पर्ने बुर्जुवा शिक्षाबाटै सुष्माकी तीन छोरीहरु लता, सिर्जना र चेतनाले पनि स्नातकसम्म औपचारिक अध्ययन पूरा गरेका छन् ।

त्यसो त बुर्जुवा शिक्षा बिरोधी मोहन वैद्य आफैं पनि स्नातक तह पास गरेका नेता हुन् । यस हिसाबले शुष्मा यो परिवारमा पढाईका हिसाबले कान्छो सदस्य हुन् ।

प्रेरणाको प्रेरणा

पति र छोरीहरुले लिएको ‘बुर्जुवा शिक्षा’को प्रमाणपत्रजस्तै सुष्माले पनि औपचारिक शिक्षा लिने विचार गरिन् । त्यसैले माओवादी शान्ति प्रक्रियामा आएसँगै काठमाडौमानै सुष्मालाई अध्ययन अगाडि बढाउन प्रेरणा स्कुलले प्रेरणा प्रदान गर्‍यो ।

उनी ५२ वर्षको उमेरमा औपचारिक शिक्षाका लागि काठमाडौं गोंगबुको प्रेरणा महिला विद्यालयमा भर्ना भइन् । यो विद्यालयबाट यस वर्ष ३३ जना महिला एसएलसी परीक्षामा सहभागी छन् ।शुष्माले अर्घाखाँचीमा चार कक्षासम्म अध्ययन पूरा गरेकाले कक्षा १ बाट एकैवर्षमा चार कक्षामा पुगिन् । सिकाईको स्तरवृद्धि अनुसार कक्षा फड्काउने यो विद्यालयमा उनी पढ्न थालेको ६ वर्षमा नै १० कक्षामा पुगेकी हुन् ।

श्रीमान राजनीतिक चिन्तक अनि छोरी ज्वाईँहरु तथा परिवारका सबै सदस्य पढेलेखेकै भएकोले पाको उमेरमै भए पनि सुष्मालाई पढ्ने उत्पे्रेरणा र वातावरण पनि मिल्यो ।

आलोचना पचाइन्

औपचारिक शिक्षाका लागि विद्यालय भर्ना भएदेखि नै पार्टीमै बुर्जुवा शिक्षा लिन थालेको भनी उनको आलोचना समेत भयो ।  तर यी दृढ निश्चयी महिला नेतृले आलोचनाको वास्ता नगरी अध्ययन अगाडि बढाइन् । ‘पार्टीभित्रबाट बुर्जुवा शिक्षा लिएको भनेर आलोचना भए पनि उनी बचलित भइनन्’ भिनाजु पिताम्बर आचार्यले भने ।

भाग्य र मेहनतले साथ दिएमा उनले तीन चार महिनापछि उच्च शिक्षाका लागि भन्दै कलेज भर्ना भइन् भने अनौठो हुने छैन । आखिर शिक्षा तथा ज्ञानको ज्याति हो, त्यो चाहे बुर्जुवा होस वा सर्वहारा । अंग्रेजी र नेपाली वर्णमालाका अक्षर त बुर्जुवा र सर्वहाराका लागि फरक फरक बनेका छैनन् होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment