२९ असार, काठमाडौं । एम्नेस्टी इन्टरनेसनल नेपालले जेनजी अभियन्ता माजिद अन्सारीलाई बिनासर्त तत्काल रिहा गर्न माग गरेको छ । एम्नेस्टीले सोमबार एक विज्ञप्ति जारी गर्दै माजिद अन्सारीलाई रिहाइ गर्न माग गरेको हो ।
कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका सुकुमवासीप्रति ऐक्यबद्धता जनाउन त्यहाँ पुगेका माजिदसहित तीन जना जेनजी अभियन्तालाई शनिबार प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको थियो । जसमा अन्य दुई जना सरिष्मा थापा र नेल्सन घतानी थिए ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा प्रहरीहरूले तीनै जनालाई प्रहरीको गाडीमा राख्नुअघि उनीहरूमाथि गालीगलौज र कुटपिटसमेत गरी गैरकानुनी बल प्रयोग गरेको देखिएको भन्दै एम्नेस्टीले अपत्ति समेत जनाएको छ ।
यसबाट माजिद अन्सारीको अनुहारमा रगत लागेको र स्पष्ट चोटहरू देखिएको भन्दै एम्नेस्टीको विज्ञप्तिमा दु:ख व्यक्त गरिएको छ ।
‘जबरजस्ती निस्कासित भएका पीडितहरूप्रति ऐक्यबद्धता व्यक्त गरेकै कारणले अभियन्ताहरूलाई स्वेच्छाचारी रूपमा गिरफ्तार गरी हिरासतमा राखिएको घटनाबाट नेपालमा अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेला हुने अधिकार, तथा व्यक्तिगत स्वतन्त्रता र सुरक्षाको अधिकारको उल्लङ्घनसम्बन्धी गम्भीर चिन्ता पैदा गरेको छ,’ एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले भनेका छन्, ‘यसले नेपालमा नागरिक स्वतन्त्रतामाथि डरलाग्दो खतरा देखिएको सङ्केत गर्दछ ।’
जबरजस्ती निस्कासित भएका पीडितहरूप्रति ऐक्यबद्धता व्यक्त गरेकै कारणले अभियन्ताहरूलाई स्वेच्छाचारी रूपमा गिरफ्तार गरी हिरासतमा राखिएको घटनाबाट नेपालमा अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेला हुने
अधिकार, व्यक्तिगत स्वतन्त्रताको अधिकारको उल्लङ्घनसम्बन्धी गम्भीर चिन्ता पैदा गरेको एम्नेस्टीको भनाई छ ।
एम्नेस्टी इन्टरनेसनल मानव अधिकारका क्षेत्रमा काम गर्ने ख्यातिप्राप्त अन्तर्राष्ट्रिय संस्था हो ।
प्रतिक्रिया 4