News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङ प्रहरी कार्यालयको मूल गेटमा धर्ना दिने क्रममा जेनजी समूहका २६ जना अभियन्तालाई प्रहरीले शनिबार राति नियन्त्रणमा लिएको छ ।
- अभियन्ता माजिद अन्सारीको पक्राउको विरोधमा धर्ना दिँदा आवागमन प्रभावित भएपछि उनीहरूलाई पक्राउ गरिएको प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।
- कीर्तिपुरबाट पक्राउ परेका अन्सारी प्रहरीको कुटपिटबाट घाइते भई हाल टिचिङ अस्पतालमा उपचाररत छन् भने अभियन्ताहरूले उनको बिनाशर्त रिहाइको माग गरिरहेका छन् ।
२८ असर, विराटनगर । जेनजी अभियन्ता माजिद अन्सारी पक्राउकाे विरोधमा जिल्ला प्रहरी कार्यालय मोरङको गेट अगाडि धर्ना दिन पुगेका २६ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति साढे ९ बजे प्रहरी कार्यालयको मुख्य प्रवेशद्वारमा धर्ना दिने क्रममा २६ जनालाई नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार, कार्यालयको मुख्य गेटमा आवागमन नै प्रभावित हुने गरी प्रदर्शन गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरू सबै जेनजी समूहका अभियन्ताहरू रहेका छन् ।
काठमाडौंको कीर्तिपुरस्थित सुन्दरीघाट होल्डिङ सेन्टरमा बाढी पसेपछि सुकुमवासीहरूको अवस्था बुझ्न गएका बेला माजिद अन्सारी, सरिश्मा थापा र नहेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेकामध्ये थापा र खड्का रिहा भइसकेका छन् भने अन्सारी अझै प्रहरी नियन्त्रणमै छन् । प्रहरीको कुटपिटबाट घाइते भएका अन्सारीको हाल टिचिङ अस्पतालमा उपचार भइरहेको छ । अन्सारीमाथि प्रहरीले दुर्व्यवहार गरेको र उनलाई विनासर्त रिहा गर्न जेनजी अभियन्ताहरुले माग गरिरहेका छन् ।

प्रतिक्रिया 4