२७ असार, काठमाडौं । नेपाल जेनजी फ्रन्टले जेनजी अभियन्ता माजिद अन्सारीको गिरफ्तारीलाई ‘प्रतिशोध’ भनेर टिप्पणी गरेको छ । शनिबार माजिदको पक्राउबारे वक्तव्य सार्वजनिक गर्दै जेनजी फ्रन्टले माजिदले सुकुमवासीमाथिको राज्यको दमनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन हालेकाले प्रतिशोध साँधिएको दाबी गरेको छ ।
‘सुकुमवासीमाथिको राज्यदमनविरुद्ध रिट लिएर सम्मानित सर्वोच्च अदालत पुगेका निवेदकमध्येका जेनजी अभियन्ता माजिद अन्सारीलाई राज्यले आज प्रतिशोध साँध्दै गैरकानुनी पक्राउ गरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ जेनजी फ्रन्टको वक्तव्यमा भनिएको छ, ‘सुकुमवासीलाई व्यवस्थापन गर्ने बहानामा राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा गए रातिको निरन्तर वर्षाका कारण डुबान भएपछि सोको वस्तुस्थिति बुझ्न पुगेका माजिदसहितका जेनजी अभियान्तालाई नेपाल प्रहरीले विद्यार्थी भएर राजनीति नगर भन्ने धम्की सहित कुटपिट गरी अनुहारलगायत शरिरका संवेदनशील स्थानमा चोट पुर्याइ पूर्वाग्रह र प्रतिशोधका भरमा पक्राउ गरेको स्पष्ट छ ।’
नेपाल सरकारले प्रहरीलाई झन् बढी निरंकुश र अधिनायक बनाउँदै आफू फासीवादतर्फउन्मुख भएको सन्देश दिएको जेनजी फ्रन्टले भनेको छ ।
यो सँगै जेनजी फ्रन्टसँग सरकारसँग ४ बुँदे माग पनि राखेको छ ।
यस्ता छन् माग :
१.गैरकानुनी रूपमा बन्दी बनाइएका माजिद अन्सारीलगायतका सम्पूर्ण जेनजी अभियान्तालाई तुरुन्त रिहा गर । कुटपिट गरी घाइतेसमेत बनाएकाले यथाशीघ्र उपचार गर ।
२. नेपालको संविधानप्रदत्त विचार र अभिव्यक्तिको स्वतन्त्रता र सङ्गठित हुन पाउने स्वतन्त्रताका विरुद्ध प्रतिशोध र धम्कीपूर्ण रूपमा निजलाई पक्राउ गर्ने प्रहरी अधिकारीलाई तुरुन्त कारबाही गर ।
३. दीर्घकालीन प्रहरी सुधारका विषय सहित सम्पूर्ण जेनजी सम्झौता अक्षरस: कार्यान्वयन गर ।
४. सुकुमवासी, मजदुर, भूमिहीनको मानवअधिकार सुनिश्चित गर ।
जेनजी फ्रन्टको वक्तव्यमा ‘निलो बर्दीका भरमा सिर्जित राज्य आतङ्कका विरुद्ध नेपाल जेन–जी फ्रन्ट सदैव खडा रहनेछ’ उल्लेख छ ।
अन्सारीसहितका जेनजी अभियन्तालाई शनिबार दिउँसो कीर्तिपुरस्थित सुकुमवासी होल्डिङ सेन्टरबाट बलपूर्वक प्रहरीले गिरफ्तार गरेको थियो ।
प्रतिक्रिया 4