Comments Add Comment

चौथो पटक यसरी जल्यो फुङलिङ बजार (भिडियोसहित)

रविन भट्टराई

१० चैत, ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा सोमबार राति भएको आगलागीका कारण ३५ भन्दा बढी घर जलेर नष्ट भएका छन् । आगलागीबाट करिब ९० परिवार विस्थापित भएका छन् ।

सोमबार साँझ करीव ६: ४० बजेदेखि सुरु भएको आगलागीले बजारको तोक्मेडाँडा क्षेत्रमा रहेका तीन सरकारी कार्यालय, आधा दर्जन गैरसरकारी संस्थाका कार्यालय सहित दर्जनौं घर र पसल नष्ट भएका छन् । मानवीय क्षति नभए पनि अरबौंको धनमाल नष्ट हुँदा करिब ९० परिवारको बिचल्ली भएको छ ।

फुङलिङ बजारको प्रवेशद्वारमै रहेको पूर्वेली होटल अर्थात (पुरानो झापाली होटल) बाट आगलागी सुरु भएको हो । होटलबाट सल्केको आगो क्षणभरमै करिब चार मिटर दायाँबायाँका घरमा फैलिएको थियो । हावासमेत चलेेकाले आगो ह्वारह्वारी दन्किएको थियो ।

पूर्वेली होटलबाट वीरेन्द्र चोकतर्फका घरमा आगो फैलिएपछि स्थानीयले नरेन्द्र गुरुङको घर भत्काएर आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए । तर, घर भत्काउन नभ्याउँदै दायाँ बायाँका घरमा आगो सल्कियो ।

तोक्मे डाँडाको बजार लाग्ने क्षेत्रदेखि आसपासका सबै घर जलेका छन् ।

taplejung8

तीव्र वेगमा हावा चलेको र पर्याप्त पानी नभएकाले आगो नियन्त्रण गर्न नसकिएको स्थानीयले बताएका छन् । जिल्ला सदरमुकाममा एउटा पनि दमकल थिएन ।

काठले बनेका अधिकांश घरमा तीनभन्दा बढी ग्यास सिलिन्डर रहेको तथा दुईवटा ग्यास डिलरमा समेत आगो सल्किएकाले राति करीव साढे ९ बजे मात्रै आगो आंशिक रुपमा नियन्त्रणमा आयो । स्थानीयवासीहरु निरीह बनेर घर जलेको हेर्न बाध्य भए । सिंगो फुङलिङ बजार शोकमग्न भयो । महिला वालवालिकामा रुवावासी चल्यो । उनीहरुले आफ्नो घरमा रात बिताउन पाएनन् ।

जिल्लामा दमकल नभएकाले एकभन्दा बढी निकायले आगो नियन्त्रणमा लिन भ्याकु (एक्स्काभेटर) र डोजर लगाएर घरटहरा भत्काएका थिए । बाक्लो बस्ती भएको यो क्षेत्रमा धेरै पसलहरु थिए ।

Taplejung7

राति अबेरसम्म आगो नियन्त्रणमा नआएपछि इलामबाट दकमल झिकाइयो । तर दमकल राति करीव १० बजे मात्रै सदरमुकाममा आइपुगेको थियो ।

प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले ग्यास सिलिन्डरको जोखिम तथा पानी अभावका कारण आगो नियन्त्रणमा लिन ढीला भएको बताएका छन् ।

ठूला साधन नहुँदा सानो स्काभेटरले एउटै घर भत्काउन धेरै समय लागेको थियो ।

के के जले ?

स्थानीयवासीका ३५ घरसँगै आगलागीबाट जिल्ला विकास समिति कार्यालयको पुरानो भवन, ऊर्जा तथा वातावरण शाखाको कार्यालय र स्थानीय शान्ति समितिको कार्यालयसमेत जलेका छन् ।

Taplejung6

फोटो स्टुडियोको तल्लो भागमा रहेको नेपाल पत्रकार महासंघको कार्यालयसमेत ध्वस्त भएको छ ।

निलम न्यौपानेको घरमा रहेको रेडपान्डा नेटवर्क, हिमाली संरक्षण मञ्च तथा जनमुखी कृषि सहकारी संस्थाको कार्यालय र प्रभु मनी ट्रान्सर्फरको कार्यालयसमेत पूर्णरुपले नष्ट भएको प्रहरीले जनाएको छ ।

दमकलको अभावमा चारपटक जल्यो

फुङलिङ बजार पहिलोपल्ट आगलागीको चपेटामा परेको होइन । ०६०  साल चैतमा वीरेन्द्र चोकमा आगलागी भएको थियो । त्यसवेला ४५ घर जलेका थिए भने ५१ करोडभन्दा बढीको क्षती भएको थियो ।

taplejung5
त्यसपछि ०६९ माघ २६ गते सदरमुकामकै शेर्पा टोलमा आगलागी हुँदा ८ घर जले ।

त्यस्तै ०७० साल कातिक १८ गते सदरमुकामकै टुक्रे बजारमा आगलागी भयो ।सो आगलागीबाट पाँच घर जले ।

taplejung-4

तीन-तीन चोटि आगलागी हुँदा पनि जिल्लामा एउटै दमकलको व्यवस्था गरिएन । सरकारी अधिकारीहरुले आगलागी नियन्त्रणको ठोस सावधानी नअपनाउँदा दमकलको अभावमा ताप्लेजुङबासीले ठूलो क्षती व्यहोर्नुपरेको छ ।

taplejung3Taplejung-aaglagitaplejung-10

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment