Comments Add Comment

डाक्टर नै स्वाइन फ्लुबाट संक्रमित

१६ चैत, काठमाडौं । अस्पतालमा विरामीको नमुना संकलन र परीक्षण गर्ने काममा खटिएका चितवनका एक चिकित्सकलाई नै स्वाइन फ्लु संक्रमण भएको छ । भरतपुर अस्पतालमा कार्यरत चिकित्सकमा इन्फ्लुएन्जा एचवानएनवान संक्रमण पाइएको हो ।

H1N1चितवनमा स्वाइन फ्लुको परीक्षण भरतपुर अस्पतालमा मात्रै हुँदै आएको छ ।

अस्पताल आउने विरामीहरुको नमुना संकलन र परीक्षण गर्ने काममा खटिएका एक स्वास्थ्यकर्मीसमेत स्वाइन फ्लुबाट संक्रमित भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख मधुसुदन कोइरालाले जानकारी दिए ।

संक्रमितहरु ३ देखि ६८ वर्षका

बिभिन्न अस्पतालबाट नमुना संकलन गरी भरतपुर अस्पतालमा पठाइएका ३५६ मध्ये १२१ जनामा स्वाइन फ्लु पुष्टि भएको छ । संक्रमितहरु ३ वर्षदेखि ६८ वर्ष उमेरसम्मका छन् ।

संक्रमितहरुमध्ये सबैभन्दा धेरै चितवनका १०१ जना छन् । चितवनको छिमेकी जिल्ला नवलपरासीका १२ जनामा स्वाइन फ्लु संक्रमण पाइएको छ । यस्तै कास्की, गोर्खा, रुपन्देही, पर्सा, तनहुँ, काभ्रे, महोत्तरी र बाराका एक/एक जना छन् । अझै ८२ वटा नमुना परीक्षणको रिपोर्ट आउन बाँकी छ ।

सावधानी अपनाउन निर्देशन

चितवन जिल्लामा स्वाइन फ्लुको संक्रमण दरमा कमी आए पनि संक्रमितको संख्या भने नघटेको चिकित्सकहरुले बताएका छन् । चिकित्सकलाई नै स्वाइन फ्लु भएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले विशेष सावधानी अपनाएर विरामीहरुको उपचारमा खटिन निर्देशन दिएको छ ।

निर्देशन अनुसार सबै स्वास्थ्यकर्मी तथा कर्मचारीहरु मास्क लगाएर काममा खटिएका देखिन्छन् । साथै सर्बसाधारणहरुलाई पनि सजग रहन र घरबाट बाहिर निस्किँदा मास्क प्रयोग गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

स्वाइनफ्लु एकप्रकारको रुघा जस्तो रोग हो । यो रोग लागेमा लामो समयसम्म रुघा लाग्ने, ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने, थकाइ लाग्ने, खान मन नलाग्ने र पखाला लाग्ने जस्ता लक्षण देखा पर्दछन् । यीमध्ये कुनै पनि एक लक्षण देखिनासाथ अस्पतालमा गएर उपचार गराउन चिकित्सकहरुले सुझाव दिएका छन् ।

साथै स्वाइन फ्लु संक्रमित विरामीहरुलाई घर बाहिर ननिस्किन, घरमै बसेर पर्याप्त आराम गर्न, प्रशस्त झोल पदार्थ खान, धेरै जनाको सम्पर्कमा नआउन र नियमित औषधि सेवन गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment