Comments Add Comment

योगेशको पहिलो घोषणाः ५० हजारको मदन भण्डारी पत्रकारिता पुरस्कार

१७ चैत, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले आफू पार्टीको प्रचार विभाग प्रमुख भएकै दिन ५० हजार राशीको मदन भण्डारी पत्रकारिता पुरस्कार घोषणा गरेका छन् ।

yogeshएमाले केन्द्रीय कार्यालय बल्खुमा आयोजित पद हस्तान्तरण समारोहमा भट्टराईले प्रचार विभागको तर्फबाट सो पुरस्कार घोषणा गरेका हुन् ।

‘प्रचार विभागबाट प्रत्येक वर्ष एक पत्रकारलाई मदन भण्डारी पत्रकारिता पुरस्कार प्रदान गरिनेछ, यसका लागि विज्ञहरुको समिति बन्नेछ’ भट्टराईले आफ्नो भावी कार्यक्रम सुनाउँदै भने-‘५० हजार राशीको यो पुरस्कार अर्को वर्षदेखि प्रदान गरिने छ ।’

मदन भण्डारीको दासढुंगा दुर्घटनामा निधन भएको दिन जेठ ३ गते पारेर सो पुरस्कार प्रदान गरिने उनले बताए ।

त्यस्तै सचिव भट्टराईले आफ्नो कार्यकालमा एमाले केन्द्रीय कार्यालयमा मिडिया सेन्टर स्थापना गर्ने योजना सुनाए । ‘केन्द्रीय कार्यालयमा समाचार संकलनका लागि आउने पत्रकारहरुलाई सुबिधा सम्पन्न मिडिया सेन्टरको व्यवस्था गरिनेछ’ भट्टराईले भने-‘उनीहरुले त्यहिँबाट समाचार सम्प्रेषण गर्न सक्नेछन् ।’

नेपालमा सरकारले र कुनै पनि राजनीतिक दलहरुले मिडिया सेन्टर व्यवस्था गर्न नसकेको बेला एमालेले यो महत्वकांक्षी योजना अघि सारेको हो ।

त्यस्तै अब एमाले प्रचार विभागले पार्टीको मुखपत्र नवयुगलाई भाषिक रुपमा समावेशी बनाउने योजना समेत बनाएको छ । सबै जातजाति र भाषाभाषीको विकासका लागि यो योजना ल्याएको हो ।

भट्टराईले प्रत्येक महिना नवयुगमा एउटा भातृ भाषाको कोलम छुट्याइने र वर्षमा एक पटक मातृभाषा विशेषांक निकाल्ने जानकारी दिए ।
भट्टराईले हाल १४ हजार ग्राहक रहेको पार्टीको मुखपत्र नवयुगलाई पाँच वर्षभित्रमा एक लाख पुर्‍याउने बताए ।

सो अवसरमा प्रचार बिभाग उपप्रमुख सूर्य थापाले प्रचार विभागका हालसम्मका कामकारवाही र भावी योजनाबारे जानकारी गराएका थिए ।

कार्यक्रममा निवर्तमान प्रचार विभाग प्रमुख प्रदिप ज्ञवालीले नवनियुक्त प्रमुख भट्टराईलाई कार्यभार र माइन्युट हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा एमाले संगठन विभाग प्रमुख तथा सचिव पृथ्वीसुब्बा गुरुङले एमालेको बिचार र संगठन पहिलो भए पनि व्यवस्थित प्रचार गर्न नसक्दा चुनावमा दोस्रो र तेस्रो हुनुपरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment