Comments Add Comment

ह्वाइट हाउसमा बम पड्काउने चेतावनी दिने दुई ‘नेपाली’ अमेरिकामा पक्राउ

२ वैशाख, काठमाडौं । आफुलाई अलकायदाको सदस्य भन्दै अमेरिकी राष्ट्रपतिको निवास ह्वाइट हाउसमा बम पड्काउने चेतावनी दिने दुई नेपाली भाषी भुटानी अमेरिकामा पक्राउ परेका छन् ।

Guru-Dhimal-and-Bhagirath-K

पक्राउ पर्नेहरु २८ वर्षीय गुरु धिमाल र ६७ वर्षीय भगिरथ कोइराला रहेको प्रहरीलाई उदृत गर्दै स्थानीय न्यूज नेट फाइभले जनाएको छ ।

घटनाअनुसार गत शुक्रबार गुरु धिमालले अमेरिकाको इर्मेजेन्सी नम्बर ९११ मा फोन गरी आफू अलकायदाको सदस्य भएको बताएका थिए ।

‘गुरु धिमाल अलकायदाको सदस्य हुँ’ प्रहरीले सार्वजनिक गरेको फोन सम्बादमा उनले भनेका छन्, ‘हामीले ह्वाइट हाउसमा बम बिष्फोट गराउने तयारी गरिरहेका छौं ।’

बम तिमीहरुसँगै छ भनेर सोध्दा उनले आफुसँग बम नरहेपनि न्यूयोर्कमा रहेका आफ्ना साथीहरुसँग बम रहेको उनले बताएका छन् । उनले मे १ तारिखमा वासिङ्टनमा बम पड्काउने तयारी भइरहेको बताए ।

आफू ओहायो क्लिभल्याण्ड नजिकै बसमा यात्रा गरिरहेका जानकारी दिँदै उनले फोन अपरेटरलाई बस नम्बरसमेत टिपाए ।

त्यसपछि सुरक्षा निकायले उनी चढेको बस ट्रयाक गर्दै सवैतिर सर्तकताका लागि सूचना प्रवाह गरे । प्रहरीले धिमाल सवार बसमा खानतलासी गर्‍यो, तर त्यहाँ कुनै बम फेला परेन ।

आतंक फैलाएको अभियोगमा प्रहरीले धिमाल र उनका काका पर्ने भगिरथ कोइरालालाई पक्राउ गरेको छ । गत सोमबार अदालतमा पेश गरिएका उनीहरुलाई रिहाईका लागि २५ हजार डलर धरौटी माग गरिएको छ । अन्तिम सुनुवाई भने अप्रिल २१ तारिखमा हुँदैछ ।

धिमाल र कोइरालाका आफन्तहरुले भने उनीहरु यसअघि कहिले पनि त्यस्तो गतिबिधिमा लागेको आफूलाई थाहा नभएको बताएका छन् । धिमालको मानसिक अबस्थाबारे परिक्षण हुने बताइएको छ ।

भुटानका केही सञ्चार माध्यमहरूले पक्राउ परेकाहरू भुटानी शरणार्थी भएको दाबी गरेका छन् । तर, प्रहरीले भने उनीहरूकाे राष्ट्रियता खुलाएको छैन । धिमाल पुनर्वास कार्यक्रममा सन् २००८ मा अमेरिका पुगेको बताइएको छ ।

प्रहरीले सार्वजनिक गरेको फोन सम्बाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment