Comments Add Comment

भूकम्प पीडितको हरिविजोग, पानीमा रुझ्दै बित्यो रात

१४ वैशाख, काठमाडौं । ललितपुर पाटनढोकाकी इश्वरी बुढामगरले पेटभरी खाना खान नपाएको तीन दिन भयो । उनी मात्रै होइन काखका दुई छोरीहरुलाई पनि उनले पेटभरी खुवाउन पाएकी छैनन् । शनिबार दिउँसो भुकम्प गएदेखि उनी पाटन क्याम्पसको चौरमा दुई छोरीहरुलाई काखि च्यापेर खुल्ला आकाशमुनि बसेकी छन् ।
Patandhoka-Camp

  • ललितपुरको पाटन क्षेत्रमा चिसो भुईंमा रात बिताउँदै भूकम्प प्रभावितहरु

‘घरभित्र जाउँ जानसक्ने अवस्था छैन, खुल्ला चौरमा यी साना नानीहरुसँग कसरी बस्ने ?,’ प्रश्न गर्दै उनले भनिन्, ‘यहाँ सुत्केरी, बालबच्चा र बुढाबुढीको झन् विजोग छ ।’

पाटन स्कूल, मदनस्मारक स्कूल, पाटन क्याम्पस लगायतका स्थानका खुला चौरमा ५ हजार भन्दा धेरै मानिस खुल्ला आकाशमुनि बसेर रात काट्दै आएका छन् । खाना पकाउने, खाने त परको कुरा घर चर्किएकाले कुनै पनि बेला भत्किन सक्ने डरले धेरै मानिस घर भित्र पस्न सकेका छैनन् । आफू जोगिने की छोरा छोरी, आफन्तलाई जोगाउने चिन्ता छ उनीहरुमा छ ।

साना शिशु च्यापेका सुत्केरी, हिँडडुल गर्न नसक्ने बिरामी, बुढाबुढी र बालबालिका सबैभन्दा धेरै प्रभावित छन् । उनीहरु चिसो भुइँमा बोरा र म्याट ओछ्याएर बसेका छन् । बेला बेलामा भुकम्पको धक्का आउँदा एकअर्कालाई अंगालो हालेर गुडुल्की पर्छन् ।

केहीलाई स्थानीयले टेन्टको व्यवस्था गरी बस्ने व्यवस्था मिलाए पनि पर्याप्त छैन । धेरैजसोले व्यक्तिगत खर्चमा बोरा, त्रिपाल वा प्लास्टिक प्रयोग गरी ओत लाग्ने प्रयास गरेका छन् । ‘खाना त के कुरा तीर्खा लाग्यो की भनेर सोध्न पनि कोही आउँदैन, टाउको लुकाउने ठाउँ पनि छैन,’ पाटनढोकाका शिव महर्जनले भने ।

Patan-Dhoka-Camp

  • पाटन क्याम्पसको चौरमा चिसो भुईंमा बसेकाहरु । पानी परेपछि उनीहरु झिटिगुण्टा बोकेर क्याम्पस भवन भित्र जान्छन्

पानी पर्दा झन् आपत्

भुकम्पको झड्का बेला बेलामा आइराखेपछि धेरै मानिस आफ्नो घर वा डेरामा फर्किन सकेका छैनन् । भुईंमा सुत्दा पानी बग्दै आएर ओछ्याएका बोरा र म्याट भिज्छ । अनि बालबच्चा, ओढ्ने कपडा बोकेर पाटन क्याम्पसका टहरा भित्र गएर बस्छन् । फेरि भूकम्पको धक्का आएपछि उनीहरु पानीको पर्वाह नगरी ज्यान जोगाउन बाहिर निस्कन्छन् । केही शान्त भएपछि पानीमा भिज्नु भन्दा ओत लाग्नु बेस ठानेर फेरि कलेज र स्कूलको भवन भित्र छिर्छन् ।

‘भित्र र बाहिर गर्दा गर्दै ज्यान रुझ्छ,’ पाटनढोकाका शिव महर्जनले भने, ‘यति ठूलो आपत पर्दा सरकार र सामाजिक संस्थाको उपस्थिति प्रभावकारी छैन ।’

उद्धारलाई पहिलो प्राथमिकता

भूकम्पबाट काठमाडौंमा मात्रै ६६ लाख मानिस छन् । उपत्यका बाहिरको लेखाजोखा नै छैन । अहिले पहिलो प्राथमिकता उद्धारकार्यलाई दिइएको छ । ‘विनाशकारी भूकम्पले सबै नेपाली संकटमा छन् । तर सरकारको पहिलो प्राथमिकता भनेको मृतक र घाइतेहरुको उद्धार हो,’ गृहमन्त्रालयका एक अधिकारीले भने, ‘त्यसपछि राहत वितरण हो, राहत वितरणको काम पनि भैरहेको छ ।’

सरकारले विपतको बेला धैर्यधारण गर्न सरकारले सबैलाई अनुरोध गरेको छ । उद्धारमा खटिएकाहरुलाई सक्दो सहयोग गर्न र पीडितहरुलाई आ-आफ्नो क्षेत्रबाट सघाउन पनि आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment