Comments Add Comment

गृहमन्त्रीको बाइट कतिमा बिक्छ हजुर ?

विश्वमणि सुवेदी

भूकम्प पीडित जनताको उद्दार, राहत र पुनर्स्थापना यतिबेलाको मुख्य चासोको विषय हो । तर, लाजमर्दो कुरा छ कि, यति धेरै संवेदनशील विषयमा पनि राजनीति चलेको छ । उद्दार र राहतको कुरालाई लिएर एकथरि मानिस गृहमन्त्रीसहित नेपाल सरकारलाई खुल्याउनु मुख्य कुरा ठानिरहेका छन् । ती व्यक्तिसँग नेपाली नागरिकता छ, नेपाली झन्डा ओढ्छन् । तर,यो विपतमा प्रभावित क्षेत्र हेर्न पनि रुचाउँदैनन् र सामाजिक सञ्जाल र ब्लगबाट नानाभाँतीका हल्ला गरेर उनीहरुको दैनिकी धानिएको छ ।

विश्वमणि सुवेदी
विश्वमणि सुवेदी

यसबीच यतिसम्म निकृष्ट काम भयो कि, कुनै अर्को सन्दर्भमा गरिएको बैठक, भेटघाट र दृष्यहरुलाई अहिलेको संवेदनशील सन्दर्भसँग जोड्दै निश्चित पार्टी, तिनका नेता र भावनाविरुद्ध प्रचारका लागि प्रयोग गरियो । अभिव्यक्ति स्वतन्त्रता छ भन्दैमा कसैको संवेदनासँग खेल्ने अधिकार कोहीसँग छैन । भुकम्पीय क्षतिबाट आक्रान्त मुलुकलाई राहत दिनकै लागि कति रातदेखि गृहमन्त्री सुत्नुभएको छैन । तर, यस्तो लेख्ने फुर्सद होस् कसलाई ? भुकम्प पीडित जनताको राहत, उद्दारकै लागि न सुत्नको ठेगान, न खानको ठेगानको हालतमा हुनुहुन्छ गृहमन्त्री ।

हो, नेपाल सरकारसँग उपलब्ध स्रोत, साधन र जनशक्ति अहिलेको विषम परिस्थितिलाई सहन गर्न पूर्णतः सक्षम छैन । तर, सरकार (गृह) चूप लागेर बसेको छैन । देश-विदेशबाट आएका उद्दारकर्ता, राहत वितरक तथा पुनस्र्थापनाका कार्यक्रमलाई गृहमन्त्री आफैँले प्रत्यक्ष चासोका साथ संयोजन गर्दै हुनुहुन्छ । देश दुःखमा छ । पीडित जनतालाई तत्कालै उद्दार र राहतको खाँचो छ । त्यो कामका लागि सरकारका तर्फबाट गृहमन्त्रीको व्यापक तदारुकता पनि छ । तर, हाम्रो न देश हो, जेमा पनि राजनीति, जसरी पनि राजनीति ।

मान्छे नखुल्याई खाएको नपच्नेहरु अहिले एक-एक घन्टामा गृहमन्त्रीविरुद्ध अफवाह फिँजाउन मग्न छन् । कहिले चीनको उद्दारकर्मीलाई प्रवेशाज्ञा नदिइएको भन्छन्, कहिले उद्दार र राहतका कार्यक्रम रोकियो भन्छन् त कहिले फरक सन्दर्भका खर्च विवरण खोतलेर मूल विषयबाट अलग पार्दै टिप्पणीहरु प्रस्तुत हुन्छन् । पीडित क्षेत्रका जनता अहिले जस्तो भए पनि राहत खोज्दैछन् । र, गृहमन्त्री आफ्नो बुँताले भ्याएसम्म त्यसका लागि दत्तचित्तका साथ भोक-निन्द्रा नभनेर खटिएका छन् । यो वास्तविकता बुझेर पनि व्यक्तिप्रतिको पूर्वाग्रह साँधिदैछ अहिले ।

दुःखमा फेसन

अर्को छ, भुकम्पीय राहत र उद्दारका नाममा स्वार्थहरुको डम्फु बजाउने । देखिएकै छ, प्रभावित क्षेत्रमा विदेशी उद्दारकर्मी भन्दा पहिला तिनका सञ्चारमाध्यम पुग्छन् । उद्दार गर्नु र राहत दिनुभन्दा प्रचार गर्नुलाई मुख्य विषय बनाइएको छ । र, त्यो भन्दा पनि मुख्य विषय बनाइएको छ, नेपाल सरकारको बदनामीलाई ।

प्रचारबाट दाता प्रभावित पार्ने र थप उद्दार सामाग्री वा त्यस बराबरको रकम असुल्ने धन्दा छ अहिले नेपालमा

स्वदेशी राहत वितरक पनि राहत बाँड्नुलाई भन्दा त्यो विषयको प्रचार गर्नुलाई मुख्य ठानिरहेका छन् । उनीहरु प्रभावित क्षेत्रमा पुग्नुअघि फोटो सेसन गर्छन् । सामाजिक सञ्जालभरि छर्छन् र गृह प्रशासनलाई गाली गर्दै बुर्कुसी मारेर प्रभावित क्षेत्र पुग्छन्, त्यो पनि सहज यातायात भएको ठाउँ मात्र ।

सरकारले भूकम्पका नाममा बैंक खाता खोलेर आर्थिक संकलन गर्ने गिरोहलाई बेलैमा रोक्यो । यसबाट विपतका नाममा खान पल्किएकाहरु तिल्मिलाउने नै भए । त्यसबाहेकका राहत र उद्दारका कार्यमा सरकारले कुनै रोक लगाएन ।

पहिला स्थानीय प्रशासनको अनुमति लिएर मात्र राहत र उद्धारमा जान पाइने कुरा थियो । तर, कतिपय प्रभावित क्षेत्र पुग्न चाहने उद्दारकर्मी तथा राहत वितरकलाई यो प्रक्रिया झन्झटिलो हुँदा सरकारी औपचारिकता हैन, मानवीय कामलाई पहिलो प्राथमिकता दिऔँ भन्दै गृहले औपचारिकता पूरा गरिरहनुनपर्ने वातावरण बनायो । फलतः दातामार्फत र स्रोत नखुलेका संस्थाहरु अहिले उद्दार र राहतका नाममा यति धेरै चलायमान छन् कि, उनीहरुको पहिलो उद्देश्य उद्दार होइन, प्रचार बनेको छ । त्यो प्रचारबाट दाता प्रभावित पार्ने र थप उद्दार सामाग्री वा त्यस बराबरको रकम असुल्ने धन्दा छ अहिले नेपालमा ।

फलतः उद्दार र राहत पुग्नुपर्ने कतिपय ठाउँमा उनीहरु पुग्दैनन्, नपुग्दा पनि हुने ठाउँमा ग्वारग्वार्ती छन् । भौगोलिक सुगमता भएका स्थानबाट फर्किने तिनै उद्धद्दार तथा राहतकर्मी काठमाडौं आएर भन्छन्, ‘फलानो ठाउँमा सरकारको कुनै उपस्थिति छैन ।’ तिनकै कुरा पत्याइदिन्छन्, विदेशी सञ्चारमाध्यम ।

नेपालको वास्तविकतामाथि आँखा चिम्लिने हो र विदेशी सञ्चारमाध्यमले प्रशारण गरेका दृश्यमात्रै पत्याइदिने हो भने नेपाल आज चरम भोकमरीमा भएको प्रतीत हुन्छ । प्रभावित क्षेत्रमा सरकारको उपस्थिति शून्यमा रहेको आभाष मिल्ने ती दृष्यलाई जानेर वा नजानेर कतिपय नेपाली नागरिकताधारीले नै बढावा दिइरहेका छन् ।

आफ्नो सरकारलाई गाली गरेबापत विदेशीबाट पाउने स्याबासी भनेको भात फ्याँकेर फोहोरमा रमाएजस्तो हो, बुझे हुन्छ । ज्यान हत्केलामा राखेर पीडितको उद्दार र राहतमा जुटेका सुरक्षाकर्मी, कर्मचारी र सरकारी संयन्त्र नै हुन् सरकार । मन्त्रीले नीतिगत निर्णयहरु गरेर कार्यन्वयनमा लैजाने हो ।

गृहमन्त्रीसँग भेट

दूतावास, दातृसंस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र उद्धारका नाममा विदेशबाट आएका प्रत्येक व्यक्तिहरु अहिले गृहमन्त्रीसँग एक झलक भेट्न चाहन्छन्, एउटा फोटो खिच्न चाहन्छन् र तुरुन्तै त्यो फोटोलाई प्रमाणका रुपमा जवाफदेही निकायमा पेश गर्दै आफू प्रभावित क्षेत्रमा पुगेको प्रमाणित गर्न चाहन्छन् ।

फाइल फोटो
फाइल फोटो

अहिले गृहमन्त्रीको निजी र स्वकीय सचिवालयका कर्मचारीहरु त्यस्ता भेटघाटका दबावबाट सर्वाधिक हैरान छन् । कूटनीतिक परम्पराअनुसार विदेशी दूतावासका अधिकारीले नेपालका कुनै अधिकारीसँग भेट गर्न चाहेमा परराष्ट्र मन्त्रालयमार्फत पत्रव्यवहार गर्दै आउनुपर्छ ।

तर, अहिले ती कुरामा बुझ पचाइएका छन् । उद्दारका नाममा अहिले कतिवटा विदेशी नियोग नेपाल भित्रिएका छन् ? तिनले कहाँ, कसरी र कतिजनाको उद्दार गरे ? संख्यामा यो कुरा हेर्दा लाजलाग्दो अवस्था छ ।

गृह प्रवक्ताले भनिसकेका छन् कि, उद्दार नगर्ने, तर उद्दारका नाममा नेपाल आएका विदेशी हो, तिमीहरु फर्किए हुन्छ । नामै नसुनिएका विदेशी टेलिभिजन च्यालनका पत्रकार गृहमन्त्रीको दुई शब्द ‘बाइट’ का लागि दूतावासबाट फोन गराउँछन् । थाहा छैन, गृहमन्त्रीको त्यो ‘बाइट’ कहाँ, कति पैसामा विक्री गरिन्छ ?

स्वदेशकै एउटा प्रतिष्ठित टेलिभिजन च्यानलका समाचार प्रमुखले मापसे गरेकै अवस्थामा गृहमन्त्रीसँग अन्तर्वार्ता लिनुभयो । पत्रकारले अन्तर्वार्ता लिने नाममा मन्त्रीसँग हाकिमी शैलीमा ‘हाँ-हाँ, हुँ-हुँ’ गर्न मिल्थ्यो कि मिल्दैनथ्यो ? पत्रकारिताका पण्डितहरु नै जानुन् । त्यही टेलिभिजनमा काम गर्ने एकजना पत्रकारले पंक्तिकारलाई तुरुन्तै भन्दै थिए, कतै किन्न पाइने भए ती साथीलाई अलिकति ‘तमिज’ उपहार दिनुपर्ने ।

गृहमन्त्रीको सचिवालय अहिले अन्तर्वार्ता र भाषण हैन, उद्दार र राहतका कामलाई पहिलो महत्व दिइरहेको छ । तर, विदेशतिर देखाउनका लागि यता गृहमन्त्री भेट्न चाहनेहरुबाट हैरान छ, सचिवालय ।

अहिलेको समय कसैलाई खुइल्याएर आफ्नो काममा सफल हुने समय होइन । राम्रो मनले राहत र उद्दारका लागि उद्दत विदेशी दातालाई पनि भाँड्ने गरी सरकारको आलोचना गरेर व्यक्तिहरु के कति फाइदा-घाटामा होलान्, तर देशलाई घाटा छ । घाटा मात्र छैन, आलो घाऊमा नुनचूक दलेजस्तो भएको छ ।

(पत्रकार सुवेदी गृहमन्त्री गौतमका प्रेस संयोजक हुन् । यो लेख उनको व्यक्तिगष्त विचार होे )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment