Comments Add Comment

भूकम्पपछि स्वास्थ्यमा ध्यान दिनुपर्ने कुराहरु

-डा. प्रमोद रेग्मी/निर्मल अर्याल

यहि वैशाख १२ गते नेपालमा गएको प्रलयकारी भूकम्पपछि देशले धेरै मानवीय र आर्थिक क्षति ब्यहोर्नुपरेको छ । तत्कालको प्राथमिकता कसरी उद्धार र राहत उपलब्ध गराउने एवम् स्वास्थ्य चुनौतीहरुको सामना गर्ने भन्ने नै हो । यस लेखमा हामीले भूकम्पपछिका जनस्वास्थ्य चुनौतीहरु के के हुनसक्छन्, कसरी सामना गर्ने र अन्य देशहरुमा भूकम्पपछि के कस्ता स्वास्थ्य समस्याहरु देखापरे भन्नेबारेमा चर्चा गर्नेछौं ।

Healthworker check baby healtn

धेरैलाई अचम्म लाग्न सक्छ, भूकम्पपछि नसर्ने खालका रोगहरु पनि बढेको विगतका अनुभवले देखाएको छ । सन् १९८१ मा ग्रीसको राजधानी एथेन्समा गएको भूकम्पपछिको पहिलो तीन दिनमा हृदयाघातबाट मृत्यु हुनेको संख्या ५० प्रतिशतले बढेको पाइएको थियो ।

त्यस्तै १९९५ मा जापानमा गएको भूकम्पपछि मधुमेहका विरामीहरुमा चिनीको मात्र नियन्त्रण गर्ने क्षमतामा कमी आएको पाइएको थियो भने औसत रक्तचापमा वृद्धि भएको पाइएको थियो । भूकम्पपछि प्रभावितहरुमा मनोवैज्ञानिक समस्याहरु देखिनु स्वभाविक हो ।

आफन्त गुमाएको पीडा, आर्थिक क्षति, जीविकोपार्जनमा समस्या, भूकम्पको त्रास जस्ता दीर्घकालीन असर पार्ने अवस्थाले सिर्जना हुनाले केही हप्तासम्म डिप्रेसन, निद्रा खल्बलिने, बेलाबखत तर्सिनेजस्ता लक्षणहरु देखिन सक्छन् । सान्त्वना, सहयोग प्रदान गर्ने र सकारात्मक भविष्यका लागि प्रेरित गर्नाले पनि मानसिक समस्याहरु कम हुन सक्छन् ।

विगतको तथ्यांकलाई हेर्ने हो भने के देखिन्छ भने तनाव कारक तत्व भएका रोगहरु-जस्तै हृदयाघात, उच्चरक्तचाप, मधुमेह, मानसिक रोग) को असर भूकम्पपछि झन् बढ्न सक्छ । विशेषतः ६५ वर्ष वा सो भन्दा बढी उमेरका वृद्धवृद्धाहरुमध्ये कम्तिमा ८० प्रतिशतमा यस्ता रोगहरु देखिनेहुनाले यी उमेर समूहका मानिसहरुलाई विशेष ध्यान दिनु आवश्यक छ ।

गर्भवती र सुत्केरी महिला एवम् नवजात शिशुहरुको नियमित स्वास्थ्य जाँच एवम् आवश्यक उपचारलाई पनि भूकम्पले प्रभावित पार्न सक्ने देखिन्छ ।

प्राकृतिक प्रकोपहरुमध्ये भूकम्प सबैभन्दा विनाशकारी मानिन्छ । गएको एकदशकमा भूकम्पबाट ७ लाख ८० हजार मानिसहरुको मृत्यु भएको तथ्यांकले देखाउँछ जुन सबै प्रकोपहरुको कारण भएका मृत्युको ६० प्रतिशत हुन आउँछ ।

भूकम्पपछि प्रत्यक्षरुपमा तीनप्रकारका स्वास्थ्य चुनौतीहरु देखापर्दछन् । पहिलो चारदिनसम्म भौतिक संरचना भत्कँदा हुने मृत्यु र चोटपटक, पाँचदिन देखि चारहप्तासम्म विस्थापितहरुमा देखिने दुषित हावा, पानी र खानेकुराका कारण हुने संक्रमण र सरुवा रोगहरु एवम् चार हप्तादेखि पहिले सुषुप्त देखिएका तर विस्तारै देखापर्ने संक्रमणहरु । यो लेख तयारपार्दासम्म सातहजार भन्दा बढीको भौतिक संरचनामा चेपिएर, चोटपटक लागेर र समयमा उद्दार हुन नसकेर मृत्यु भइसकेको छ ।

भूकम्प प्रभावितहरु मात्र नभई उद्दारकर्मी र भौतिक संरचनाहरु ढलेका ठाउँहरु भएर आवत जावत गर्ने जोकोहीले पनि मास्क लगाउन जरुरी छ ।

संयुक्तराष्ट्र संघको अनुमानअनुसार यो भूकम्पबाट करिब ८० लाख नेपालीहरु प्रभावित भएका छन्,जसमा करिब १७ लाख बालबालिका र १ लाख २६ हजार गर्भवती महिला पनि रहेका छन् ।
भूकम्पपछि कस्ता रोगहरु देखिन सक्छन् भन्ने अड्कल काट्न कठिन छ । तापनि विगतका भूकम्पका अनुभवहरुलाई हेर्ने हो भने अबको करिब एक महिना स्वास्थ्यकर्मी र भूकम्पपीडितहरुले सरुवा रोग र संक्रमणका कारण देखिने स्वास्थ्य समस्याहरुमा ध्यान दिनु आवश्यक छ । सन् २०१० मा हाइटीमा गएको ७ रेक्टर स्केलको भूकम्पमा करिब दुई लाखको ज्यान गयो ।

त्यहाँको तथ्यांकलाई हेर्दापहिलो २६ हप्तासम्म सबैभन्दा बढी बिरामीको कारण श्वासप्रश्वास सम्बन्धी संक्रमण, दूषित पानीको कारण हैजा र झाडापखाला एवम् ज्वरो देखापर्‍यो ।

यस्तै पाकिस्तानमा सन् २००५ मा गएको भूकम्पपछि पीडितहरुमा संक्रमणकारी रोगहरुमा ४१ प्रतिशतले वृद्धि भएको पाइयो । यतिखेर सयौंको संख्यामा मानिसहरु अस्थायी शिविरहरुमा कोचिएर बस्न बाध्य छन् ।

काठमाडौं उपत्यकामा मात्र १३ वटा शिविरमा करिब २५ हजार बसिरहेका छन् । यस्तो अवस्थामा फोहोर शौचालय, अशुद्ध पानीका कारणले झाडापखाला, हैजाजस्ता रोगहरु लाग्नसक्छन् । गर्मीयाम शुरु भइसकेकाले शिविरहरुमा लामखुट्टे, झिंगाले गर्दा लाग्ने रोगहरु पनि चाँडै फैलिन सक्छ ।

यस्तै भीडभाडमा बस्नुपर्ने हुनाले श्वासप्रश्वासको माध्यमले सर्ने रोगहरु जस्तै टीबी, फ्लुहरु पनि सर्ने अत्यधिक सम्भावना रहन्छ । नेपालमा टिबी संक्रमितहरुको संख्या उल्लेखनीय रहेको र हालसालै काठमाडौं उपत्यकालगायतका स्थानमा स्वाइनफ्लुका विरामीहरु पनि देखिएकोले शिविरमा बस्ने भूकम्प प्रभावितहरुले सावधानीको लागि अनिवार्यरुपमा मास्क लगाउनुपर्ने हुन्छ ।

यस्तै उमालेको वा शुद्धीकरण गरिएको पानी मात्र पिउने, राम्रोसँग पकाएको वा सिलप्याक गरिएको खानेकुरा मात्र खाने, साबुन पानीले नियमित हात धुनेजस्ता कार्यले रोगको संक्रमणबाट जोगाउँदछ । यतिखेर काठमाडौं उपत्यकाका भूकम्प प्रभावित शिविरहरुमा जनस्वास्थ्यकर्मीहरु स्वास्थ्य शिक्षा र स्वास्थ्य संरक्षणमा जुटिसकेका छन् ।

बलियो जनस्वास्थ्य प्रणाली भएको खण्डमा भूकम्प जस्ता विपदबाट हुने मानवीय क्षति र स्वास्थ्य समस्याहरुलाई धेरै मात्रामा न्यूनीकरण गर्न सकिन्छ ।

भूकम्पले प्रमुखरुपमा भौतिक संरचनाहरुले थिचिएर र चोटपटकले गर्दा मृत्यु र घाइते हुने गरे पनि स्वास्थ्यमा अरु समस्याहरु पनि देखिन सक्छ । जस्तै भग्नावशेषको धुलोले गर्दा श्वासप्रश्वासनलीहरु बन्द हुने, फोक्सोमा धुलो भरिने र फोक्सोमा तरल पदार्थहरु जम्मा भई मृत्युसमेत हुनसक्छ । तसर्थ भूकम्प प्रभावितहरु मात्र नभई उद्दारकर्मी र भौतिक संरचनाहरु ढलेका ठाउँहरु भएर आवत जावत गर्ने जोकोहीले पनि मास्क लगाउन जरुरी छ ।

धुलोले गर्दा आँखाको संक्रमण हुने सम्भावना पनि उत्तिकै रहन्छ । यस्तै चोटपटक लागेकाहरुमा मृगौलासम्बन्धी समस्याहरु देखिने गरेका छन् । एक अनुमानअनुसार भूकम्पपछि चोटपटक लागेकाहरुमध्ये १४ देखि १८ प्रतिशतमा मृगौलामा गम्भीर समस्या देखिन सक्छ ।

नेपालमा गएको यो भूकम्पले हाम्रा स्वास्थ्य संस्थाहरु भूकम्पजस्ता प्रकोपहरुको सामना गर्न कमजोर छन्भन्ने देखाएको छ । संचार माध्यमहरुमा आएको सूचनाअनुसार भूकम्पको लगत्तै सघन उपचार कक्षमा रहेकासहित विरामीहरुलाई चौरमा अलपत्र छोडिएको र दुई तीन घण्टासम्म कोही स्वास्थ्यकर्मीहरु नआएको अवस्था देखियो ।

यसको अर्थ अस्पतालहरुमा आपतकालीन योजना नभएको वा भएर पनि कार्यान्वयन गर्न नसकिएको स्पष्ट बुझ्न सकिन्छ । यसैगरी कैयौं अस्पतालहरु जस्तै त्रिपुरेश्वरको प्रसूती गृह, रसुवा जिल्ला अस्पताललाई भूकम्पले क्षतिग्रस्त बनाएको छ । स्वास्थ्य मन्त्रालयले करिब ७ सय हेल्थपोष्टमा क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । यसले हजारौं मानिसलाई स्वास्थ्य सेवाबाट बञ्चित गर्नसक्ने सहजै अनुमान गर्न सकिन्छ । विकसित राष्ट्रहरुमा अस्पतालहरु ठूला भूकम्पलाई थेग्ने गरी बनाइएको हुन्छ । उदाहरणको लागि लेखक संलग्न न्यूजिल्याण्डको ओटागो विश्वविद्यालय र वेलिङटन शिक्षण अस्पताल ९ रेक्टर स्केलसम्मको भूकम्पलाई थेग्न सक्ने गरी बनाइएको छ ।

नेपाल स्वास्थ्य नीति २०७१ मा स्वास्थ्य संस्थाहरुमा भवन संहिता र मापदण्डको पालना गर्ने, स्वास्थ्य क्षेत्रमा निर्माण गरिने सबै संरचनाहरु भूकम्प प्रतिरोधी बनाउने, बनिसकेका पूर्वाधारहरुको सबलीकरण गर्ने र विपदलाई सामना गर्न बहुपक्षीय कार्ययोजना निर्माण गर्ने प्रतिवद्धता जनाइएको छ । तथापि अस्पतालमा भूकम्प लगायतका विपदको पूर्वतयारी र स्वास्थ्य संस्था एवम् अस्पतालको प्रबलीकरणलाई प्रमुख चुनौतीका रुपमा स्वीकार पनि गरिएको छ ।

समग्रमा भन्नुपर्दा बलियो जनस्वास्थ्य प्रणाली भएको खण्डमा भूकम्प जस्ता विपदबाट हुने मानवीय क्षति र स्वास्थ्य समस्याहरुलाई धेरै मात्रामा न्यूनीकरण गर्न सकिन्छ ।

विपदलगत्तै दिइनुपर्ने आपतकालीन सेवा, लगत्तै शिविरमा बस्नुपर्ने प्रभावितहरुमा सरुवा र संक्रामक रोगको रोकथाम र त्यसपछि दीर्घकालीनरुपमा असर गर्ने रोगहरुको पहिचानमा स्वास्थ्यकर्मीहरु प्रशिक्षित गर्नुपर्ने देखिन्छ ।

स्वास्थ्य संस्थाहरुको बलियो भौतिक संरचनाको अलावा विपद पूर्वतयारी योजना खासगरी औषधिहरुको जगेडा, विरामीलाई सुरक्षितरुपले राख्ने रणनीति, धेरै बिरामीहरुलाई एकैचोटि ब्यवस्थापन गर्नसक्ने दक्षता, महत्वपूर्ण उपकरणहरुको संरक्षणजस्ता कुरामा ध्यान दिनु आवश्यक छ ।

विस्थापितहरु तुरुन्तै पुर्नवास हुने अवस्था नरहने तर दुईतीन महिनापछि सहायता पनि घट्दै जाने हुनाले त्यसपछिको सम्भाब्य स्वास्थ्य समस्यालाई पनि ध्यान दिनु उत्तिकै आवश्यक छ ।
(डा. रेग्मी र अर्याल जनस्वास्थ्य अनुसन्धानकर्मी हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment