Comments Add Comment

विमानस्थलभित्रै खुकुरी प्रहार, एक घाइते

Madhusudan Paudel

९ जेठ, काठमाडौं । त्रिभुवन विमानस्थलको गेटमा सुरक्षा जाँच गर्ने व्यवस्था भएता पनि कमजोर सुरक्षाको फाइदा उठाउँदै विमानस्थलको आगमनकक्ष नजिकै एक युवकमाथि खुकुरी प्रहार भएको छ ।

सुरक्षाका लागि प्रहरी डीआइजीको पोष्टिङ रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अन्तरराष्ट्रिय आगमनद्वार अगाडि शुक्रबार साँझ यस्तो घटना भएको हो ।

विदेशबाट आएका आफन्त लिन विमानस्थल पुगेका काठमाण्डौं गौरीधारा निवासी ३३ वर्षीय मधुसुधन पौडेल खुकुरीको चोटले घाइते भएका छन् । उनलाई उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

खुकुरी प्रहारबाट पौडेलको दाहिने हातको तीन ठाउँमा गहिरो चोट लागेको छ ।

खुकुरी प्रहार गर्नेमा विमानस्थलमा पर्यटकहरुलाई सेवा दिने हरियो नम्बर प्लेटको ट्याक्सी बा १ य १०५७ का चालक राजकुमार गुरुङ्ग रहेको पीडितले बताएका छन् ।

गुरुङ्ग विमानस्थलमा यातायात सेवाका लागि आधिकारिक सस्था हवाइ यातायात सेवा यात्रु लिमिटेडका शेयर सदस्यसमेत रहेको बताइएको छ ।

आफन्त लिनका लागि पौडेल निजी नम्बर प्लेटको सवारी साधनमा विमानस्थल पुगेका थिए । हरियो नम्बर प्लेटको कमाइमा घाटा लगाउन खोजेको भन्दै हरियो प्लेटका गाडी चलाउने व्यवसायीले उनीमाथि आक्रमण गरेको यातायात स्वतन्त्र यातायात मजदुर संगठनका महासचिव भीमज्वाला राईले अनलाइनखबरलाई बताए ।

उनले भने- ‘एयरपोर्टमा पहिलेदेखि नै उनीहरुको यस्तो दादागिरी चल्दै आएको छ ।’

पीडितका अनुसार आगमनद्वार अघि हवाइ यातायात सेवा यात्रु लिमिटेडद्वारा सञ्चालित काउण्टरमा आफन्त पर्खिएर बसेका पौडेललाई यो क्षेत्रमा आएर यात्रु बोलाउन पाइँदैन भन्दै गुरुङले सुरुमा हप्कीदप्की गरेका थिए ।

विवाद भएको केही समयपछि केही अन्य व्यक्तिसहित खुकुरीसमेत लिएर आई एकाएक आक्रमण गरेको पीडित पौडेलले बताए ।

खुकुरी प्रहार गरेको आरोपमा गुरुङलाई पक्राउ गरिएको गौशाला प्रहरी स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment