Comments Add Comment

पहिरोले कालीगण्डकी नदी थुनियो, बेनीसहित दर्जनौं बस्ती जोखिममा

kaligandki-1

१० जेठ, काठमाडौं । म्याग्दीको राम्चे गाविस ९ बैसरीमा पहिरो जाँदा कालीगण्डकी नदी थुनिएको छ । नदी थुनिएपछि सदरमुकाम बेनीसहित नदीकिनार आसपासका बस्ती जोखिममा परेका छन् । स्थानीय प्रशासनले सुरक्षित स्थानमा जान र सतर्क रहन सबैलाई आग्रह गरेको छ ।

बस्ती नै पुरियो

पहिरोका कारण भगवती गाविस २ को बस्ती पुरिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक हिराबहादुर गिरीले अनलाइनखबरलाई जानकारी दिए । मानवीय क्षति भने नभएको उनले बताए ।

Kaligandaki-Pahiro
कालीगण्डकी नदी थुनिने गरी खसेको पहिरो

काफलडाँडाको चट्टानी पहाड झरेर नदीको ९५ प्रतिशत बहाव बन्द भएको स्थानीयको भनाइ छ ।

सो क्षेत्र भूकम्पलगत्तै कमजोर भएको थियो ।

आइतबार विहान २ बजेतिर नदी थुनिएको अनुमान गरिएको छ । विहान ३ बजेतिर नदी थुनिएको जानकारी पाएका स्थानीयबासिन्दा आतंकित हुँदै सुरक्षित स्थानको खोजीमा लागेका छन् ।

घतान, पिप्लेको घुमाउने ताल, भगवती, बेनीबजार, गलेश्वर, तातोपानी, तित्ल्याङ, बेगखोला, महभिर, घुरुङ तातोपानी, पोखरेबगर, घारखोलालगायतका स्थान जोखिममा छन् । बेनीबजारदेखि दक्षिणतर्फ खानियाँघाट, फर्चे, मालढुंगालगायत स्थानका बस्ती पनि जोखिममा छन् ।

सदरमुकाममा भागाभाग

जोखिमयुक्त बस्तीका बासिन्दा अग्लो स्थानतर्फ लागेका छन् । सदरमुकाम वेनीका अधिकांश बासिन्दाले घर छाडेका छन् । कालीगण्डकी नदी थुनिएको खबरपाएपछि सदरमुकाममा भागाभाग भएको थियो । सुरक्षाकर्मी, सन्चारकर्मीलगायतमात्रै सदरमुकाममा देखिन्छन् ।

आसपासका जिल्ला पनि जोखिममा

कालीगण्डकी नदी बेनीमा म्याग्दीखोलासँग जोडिएको छ भने दक्षिणतर्फ यो नदी चितवनको देवघाटमा नारायणी नदीसँग मिसिन्छ । एक्कासी बाँध फुटेमा म्याग्दी आसपासका जिल्लाका बासिन्दासमेत जोखिममा पर्ने अनुमान गरिएको छ । कालीगण्डकी थुनिएपछि सिन्धुपाल्चोक जुरेको जस्तै स्थिति आउनसक्ने स्थानीयको अनुमान छ । सिन्धुपाल्चोकको राम्चेस्थित जुरेको पहिरोले धेरै हताहती भएको थियो ।

कालीगण्डकी थुनिएको र यसबाट निम्तिन सक्ने संकटबारे केन्द्रमा जानकारी गराइसकेको प्रहरी नायव उपरीक्षक गिरीले बताए । नदी खुलाउने उपायबारे दैवी प्रकोप उद्धार समितिको बैठक समेत बसेर निर्णय लिइने उनले बताए । केन्द्रबाट हेलिकोप्टरमार्फत् घटनास्थलको निरीक्षणको तयारी भैरहेको छ ।

स्याङ्जा पनि जोखिममा

कालीगण्डकी नदी थुनिएपछि स्याङ्जा गुल्मी र पर्वत लगायतका बस्तीहरु जोखिममा रहेका छन् । राति दुई बजे गएको पहिरोले थुनिएको कालीगण्डकी नदीले स्याङ्जा, पर्वत र गुल्मीमा रहेका कालीगण्डकी नदी आसपासका बस्तीहरु जोखिममा रहेको हुदाँ जोखिममा रहेका बस्तीलाई जोखिम मुक्त ठाँउमा सारिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार वैदवारले जानकारी दिए ।

पर्वत, गुल्मी र स्याङ्जाको सीमाना सेतीवेणी, स्याङ्जाका गाविसहरु क्रमस कृष्णगण्डकी, तुलसीभन्ज्याङ्ग, मालुङ्गा, एलादी, चापाकोट नगरपालिका लगायतका वस्तीहरुलाई सर्तक रहन भन्दै जोखिम मुक्त ठाँउमा बसाई सारीएको डिएसपी बैदवारले बताए ।

वडा वडाबाट प्रहरीहरु रातिबाट नै जोखिममा रहेको बस्तीलाई सर्तक गराउदै घाँसपात गराउनबाट रोक लगाएको छ । जोखिम युक्त बस्तीका बासिन्दा अग्लो ठाँउ तर्फ लागेका छन् । कालीगण्डकी थुनिएको र यसबाट निम्तिन सक्ने संकटबारे केन्द्रमा समेत जानकारी गराइसकेको डिएसपी वैदवारले बताए ।

नवलपरासीमा उच्च सतर्कता

कालीगण्डकी नदी थुनिए पछि त्यसको असर नवलपरासीमा पनि पर्न सक्ने देखिएकोले सतर्क रहन जिल्ला प्रशासन कार्यालय नवलपरासीले आग्रह गरेको छ ।

नवलपरासीका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला दैवीप्रकोप व्यवस्थापन समितिका संयोजक हरिप्रसाद मैनालीले नवलपरासीमा पनि त्यसको जोखिम पर्न सक्ने भएकोले कालीगण्डकी नदी आसपासका पहाडी क्षेत्रका बासिन्दा र कालीगण्डकी नदी मिसिने नारायणी नदी आसपासका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह गरेका छन् ।

मैनालीले नारायणी नदीआसपासका बासिन्दाका साथै भारतको विहार र उत्तर प्रदेशमा पनि यसका असर पर्न सक्ने भएकोले भारतलाई समेत जानकारी गराइएको बताए ।

जिल्ला प्रशासन कार्यालय नवलपरासीले स्थानीय सञ्चारमाध्यम मार्फत सूचना समेत जारी गरेर सतर्क रहन आग्रह गरेको छ ।

नवलपरासीको पहाडी क्षेत्रका बुलिङटार, डेढगाउ, कोटथरका साथै पहाडका सात गाविस र तराईका गैडाकोट नगरपालिकादेखि त्रिवेणी सुस्ता, नर्सही, पक्लिहवा, कोल्हुवा, २० भन्दा बढी गाविस प्रभावित हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment