Comments Add Comment

काँकडभिट्टाबाट मात्रै एक अर्ब मूल्यका सामग्रीमा भन्सार छुट

१५ जेठ, काँकडभिट्टा । पूर्वी नाका काँकडभिट्टाबाट एक महिनामा ९८ करोड ५६ लाख २९ हजार ७ सय ९८ रूपैयाँ बराबरको राहत सामग्री भन्सार छुटमा भित्रिएको छ ।

त्रिपाल, चामललगायत राहत सामग्री गत वैशाख १२ गतेको भूकम्पपछि भन्सार छुटमा सो नाका हुँदै नेपाल भित्रिएको मेची भन्सार कार्यालयका निमित्त प्रमुख कृष्णप्रसाद न्यौपानेले बताए ।

“जेठ १२ गतेसम्ममा बङ्गलादेश सरकारबाट पठाइएको रु ४५ करोड मूल्यबराबरको १० हजार मेट्रिक टन चामल भित्रिएको छ” उनले भने ।

सोही अवधिमा भारतका विभिन्न सरकारी तथा गैरसरकारी संस्था र व्यक्तिगत रुपमा  ४९ करोड ३३ लाख ७३ हजार ७०७ बराबरको त्रिपाल, दाल, चामल, ब्लाङ्केट, मेट्रेस, पिउने पानी, सुक्खा खानेकुरा, आलु, औषधिलगायतका राहत सामग्री काँकडभिट्टा नाकाबाट भित्रिएको न्यौपानेले जानकारी दिए ।

भूकम्पपछि बढी माग भएको त्रिपाल व्यावसायिक प्रयोजनका लागिसमेत भन्सार छुटमा आयात भएको छ । जेठ १२ गतेसम्मको एक महिना अवधिमा चार करोड २२ लाख ५६ हजार ९१ मूल्यको ४२ हजार २ सय ५१ थान त्रिपाल व्यावसायिक प्रयोजनका लागि भित्रिएको भन्सारको तथ्याङ्कमा उल्लेख छ । जसमा एक करोड ९८ लाख १८ हजार १ सय २३ रूपैयाँ भन्सार छुट गरेको छ ।

सरकारले भूकम्पपीडितका लागि विभिन्न मुलुकबाट भित्रिने राहत सामग्रीमा जेठ १२ गतेसम्म भन्सार नलाग्ने घोषणा गरेकामा जेठ २० गतेसम्मका लागि भन्सार छुटको म्याद थप गरेको मेची भन्सार कार्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment