Comments Add Comment

असुरक्षित कोठाभित्र सुरक्षित भविष्य खोज्दै

नवराज पथिक
१८ असार,रामेछाप । कक्षा कोठाको एउटा कुनामा असुरक्षित भनेर खतराको ठूलो लोगो झुण्ड्याएको छ । सोही असुरक्षित लेखिएको लोगो मुनि बसेर झण्डै एक सय जना विद्यार्थीहरु आफ्नो सुरक्षित भविष्य खोजि रहेका छन् ।

Ramechap-school12

भूकम्पले विद्यालय भवनमा क्षति पुर्‍याए पछि  विद्याार्थी राख्ने वैकल्पिक व्यवस्था मिलाउन नसक्दा जिल्लाको गोकुलगंगा उमावि रस्नालुले विद्यार्थीहरुलाई असुरक्षित भनिएको भवनमा नै राखेर पठनपाठन गरी रहेको छ ।

भुकम्पले विद्यालयका अधिकाँस भवनमा क्षति पुगेको छ । विद्यालयमा रहेको भवन मध्ये एउटा भवन मात्र बस्न हुने अवस्थामा छ ।

विद्यालयका भवनमा ठूलो क्षति पुगे पनि अस्थाई सिकाई केन्द्र निर्माणको लागि जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको रकम अपुग भएपछि विद्यालयले असुरक्षित कोठामा नै पढाउन बाध्य भएको हो ।

विद्यालयका सबै भवनलाई असुरक्षित भनेपछि विद्यालयले अर्काे व्यवस्था गर्न सकेको छैन । अहिले अधिकाँस कक्षा असुरक्षित लेखेको भवनमा नै सञ्चालन भई रहेका छन् ।

विद्यालयका प्रधानाध्यापक छत्र सुनुवारले जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको बजेटले एउटा टहरो बनाउन पनि नपुगेकेा बताए ।

Ramechap-school-3

‘ शिक्षा कार्यालयले पठाएको पैसाले एउटा टहरो पनि बनाउन पुग्दैन । ९ कक्षामा मात्रै करिव १ सय जना विद्यार्थी छन् । १० मा सो भन्दा बढी छन् । अन्य कक्षामा पनि अवस्था त्यस्तै छ । यस्तो अवस्थामा असुरक्षित भनिएका कोठामा विद्यार्थी राखेर पढाउनुको विद्यालयसंग विकल्प नै भएन’- उनले भने ।

जिल्लाको फर्पू गाविसमा को श्री मावि फर्पूको अवस्था अझ खराव छ । सो विद्यालयमा कुनै पनि कक्षा कोठा वस्न हुने छैनन् । तर तिनै कोठामा राखेर पढाई सञ्चालन भई रहेको छ ।

विद्यालयको कार्यालय समेत असुरशितको लोगो टाँसिएको भवनमा छ ।  विद्यालयका प्रअ राजकुमार खड्काका अनुसार विद्यालयका सबै भवनहरुमा क्षति पुगेको छ ।

‘जिल्ला शिक्षा कार्यालयले दिएको अस्थायी सिकाई केन्द्र बनाउने पैसाले एउटा कोठा पनि बार्न पनि पुगेन । विद्यालयमा करिव ४ सय विद्यार्थी छन् । यत्रा विद्यार्थीहरुलाई कहाँ लगेर राख्नु’- उनले गुनासो गरे ।

रामेछाप जिल्लामा गएको बैशाख १२, १३ र २९ गते गएको विनासकारी भूकम्मको कारण भौतिक संरचनाको ठूलो क्षति भएको छ । जिल्लामा भुकम्पको कारण कुल ४ सय ७४ विद्यालयमध्ये २ सय ७५ विद्यालयमा क्षति पुगेको छ  ।

भुकम्पले विद्यालयका एक हजार ९ सय २६ कक्षा कोठामा क्षति  पुगेको छ । विद्यालयलाई अस्थाई शिक्षण सिकाई केन्द्र निर्माणको लागि सरकारले उपलब्ध गराएको रकम अति न्युन हुँदा अधिकाँस विद्यालयले असुरक्षित भवनमा नै पठनपाठन गरी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment