Comments Add Comment

सरकारसँग झाडापखालाको औषधि सकियो

विनोद घिमिरे

१८ असार, काठमाडौं । वर्षायाम झाडापखालाको प्रकोप फैलिने मौसम हो । तर, सरकारसँग झाडा पखाला लाग्दा खुवाउने औषधिको अभाव खड्किएको छ ।

Drug-Law-Department,-Ausash

ओरल रिहाइड्रेसन साल्ट (ओ.आर.एस.) पर्याप्त नभएपछि औषधि व्यवस्था विभागले आपतकालीन टेन्डर आह्वान गरेको छ ।

ओआरएस औषधि आपूर्तिको जिम्मा नेपाली कम्पनी क्यूरेक्स र भारतीय कम्पनी हस्पिटेकले पाएका छन् । तर, दुबै कम्पनीले कच्चा पदार्थको अभावले उत्पादन हुन नसकेकाले तत्काल आपूर्ति गर्न नसक्ने जवाफ दिएका छन् ।

‘जिल्लामा १०-१५ हजार प्याकेट मात्रै छ भन्ने रिपोर्ट आएको छ, यसले धेरै नधान्ला,’ औषधि व्यवस्था विभाग आपूर्ति व्यवस्था महाशाखाका प्रमुख भिमसिंह ठकुरीले अनलाइनखबरसँग भने, ‘त्यही भएर आपतकालीन टेन्डर आह्वान गरेका हौं ।’

पटक-पटक ताकेता गर्दा पनि ती कम्पनीहरुले कच्चा पदार्थ नभएकाले तत्काल आपूर्ति गर्न नसक्ने जवाफ दिने गरेकाले समस्या आएको ठकुरीले बताए ।

‘क्युरेक्स कम्पनीले केही समय अगाडि कम्पनीमा आगो लागेको र कच्चा पदार्थ अभाव भएको जवाफ दिने गरेको छ । भारतीय कम्पनी हस्पिटेकले पनि कच्चा पदार्थ कै अभाव भन्छ,’ ठकुरीले भने, ‘भारतबाट जुलाई महिनामा औषधि आउनुपर्ने हो, तर कुरा सुन्दा नआउला जस्तो छ ।’

ORS

झाडा पखालाका बिरामीको शरीरमा पानीको मात्रा कम नहोस् भनेर ओआरएस औषधि खुवाइन्छ ।

विभागले साढे २० ग्राम तौलका ४ लाख ७० हजार प्याकेट ओरएस औषधिका लागि टेन्डर खोलेको छ । शुक्रबार खोलिएको आपतकालीन टेन्डरको म्याद आइतबार मध्यान्ह १२ बजेसम्म मात्रै तोकिएको छ ।

गत जेठ महिनामा पनि ३ दिने म्यादसहित आपतकालीन टेन्डर खोलिए पनि ‘क्राइटेरिया’भित्र नपरेको भन्दै रद्ध गरिएको थियो । गत जेठ २२ गते विभागले ६ लाख ट्याब्लेट जिंक चक्की, ५ हजार बोतल पानी शुद्ध पार्ने क्लोरिन झोल र २ लाख ६८ हजार ६१५ प्याकेट ओआरएस औषधिका लागि आपतकालीन टेन्डर आह्वान गरिएको थियो ।

‘त्यतिबेलाको टेन्डरमा क्राइटेरियाभित्र आवेदन नपरेपछि फेरि आह्वान गर्नुपरेको हो,’ स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाका एक कर्मचारीले भने ।

महामारीको जोखिम

अहिलेको वर्षा र गर्मी मौसममा अस्पतालहरुमा बिरामीको चाप बढेको छ । चिकित्सकहरुले समयमै पूर्वसतर्कता नपनाइए महामारीको रुपमा फैलिने र नियन्त्रणमा लिन कठिन हुने चेतावनी दिएका छन् ।

भूकम्पपछि शिविरहरुको अव्यवस्थित बसाइँ, असुरक्षित खानपान र सरसफाइको कमीले झाडापखाला, आउँ तथा हेपटाइटिस ‘ए’ र ‘ई’ का बिरामी बढेका छन् ।

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालका डा. शेरबहादुर पुनका अनुसार अस्पतालमा एक सातायता झाडा पखालाका बिरामीको चाप बढेको छ । ‘अस्पतालमा यस्ता विरामी दैनिक २५-३० भन्दा धेरै आउँछन् । अन्य अस्पतालसँग गरेको समन्वयमा पनि यस्ता रोगका बिरामी बढेको पाइएको छ,’ उनले भने ।

सरकारी तथा निजी अस्पतालहरुमा पनि झाडापखाला र हेपाटाइटिस ‘ए’ र ‘ई’ का बिरामीको संख्या बढेको पाइएकाले प्रकोपको रुप लिन सक्नेतर्फ सरोकारवालाई सचेत गराइएको डा. पुनले जानकारी दिए ।

दुषित पानी रोगको खानी

drinking-waterचिकित्सकहरुका अनुसार झाडापखाला, आउँ, हेपाटाइटिस ए र ई रोग दुषित पानी पिउनाले लाग्दछ । त्यसैले पानी उमालेर पिउन, फिल्टर गर्न वा पिउसलगायतका औषधि राख्नुपर्ने उनीहरुको सुझाव छ ।

‘दुषित पानी रोगहरुको खानी हो, तर यही पानी शुद्ध पारेर प्रशस्त पिउने हो भने धेरै रोगहरु निको हुन मद्दत पुग्छ,’ डा. पुनले भने ।

नेपाल चिकित्सक संघका अध्यक्ष अञ्जनीकुमार झाले अत्यावश्यक औषधिहरु सरकारले तत्काल व्यवस्था मिलाउनुपर्ने बताए । ‘यो मौसम भनेको रोग फैलिने जोखिमको मौसम हो, यस्तो बेला पर्याप्त औषधिको व्यवस्था सरकारले गर्नुपर्छ,’ उनले भने, ‘कुनै पनि नेपालीलाई औषधि अभावले ज्यान गुमाउन नपरोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment