Comments Add Comment

कास्कीमा पहिरोले मृत्यु हुनेको संख्या ३० पुग्यो, १५ बेपत्ता

सन्देश श्रेष्ठ
१५ साउन, कास्की । कास्कीका छुट्टाछुट्टै तीन गाविसमा बुधबारराति गएको पहिरोमा परी मृत्यू हुनेको संख्या ३० पुगेको छ । प्रहरीले दिएको जानकारी अनुसार पहिरोले लुम्लेमा २३, भदौरे तामागीमा पाँच र ढिकुरपोखरीमा दुई जनाको मृत्यु भएको हो ।
Lumle-land-Slide
त्यस्तै पहिरोमा परेर लुम्लेमा ३ जना, भदौरे तामागीमा १४ जना र ढिकुरपोखरीमा १ जना घाइते भएका छन् भने लुम्लेमा १२ र भदौरेमा ३ गरी १५ जना अझै बेपत्ता छन् । बेेपत्ताको शुक्रबार बिहानैबाट खोजी सुरु भएको प्रहरीले जनाएको छ ।

गएराति थप पाँच जनाको शव भेटिएपछि मृतकको संख्या लुम्लेमा मात्रै २३ पुगेको हो । लुम्ले-६ की २७ बषिर्या पार्वती देवकोटा, उनका १० बषिर्य छोरा सविन देवकोटा, ९ बर्षीया सविता पौडेल र ५५ बर्षकी लक्ष्मी देवकोटाको शव बिहीबार बेलुका भेटिएको हो । एक जनाको भने सनाखत हुन बाँकी छ ।

त्यसैगरी लुम्लेमा घाइते हुनेहरुमा २० वषिर्या रिता देवकोटा, उनको ८ महिना छोरा रितेश देवकोटा र १८ वर्षकी जुना सुनार रहेका छन् । उनीहरुको मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको  छ ।

लुम्लेको पहिरोमा इन्द्रप्रसाद देवकोटा र उनकी श्रीमती, गुरुदत्त देवकोटा र उनकी श्रीमती, देउताराम देवकोटा परिवारका चार जना, लक्ष्मण देवकोटाका श्रीमती र छोरा वेपत्ता छन् । आईबहादुर गुरुङको घरमा बसेका छिरिङ राईको पाँच जनाको परिवार पहिरोमा परेकोमा तीन जनाको शव फेला परेको छ । प्रहरीका अनुसार एकै परिवारका पाँच जना पहिरोमा परेका मृतक छिरिङ राईका दुई छोरीहरु अझै वेपत्ता छन् । उनीसहित तीन जनाको भने बिहीवारै शव भेटिएको थियो ।

पहिरोमा पुरिएकाहरुको खोजी कार्य भइरहेको छ । खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासी खटिएका छन् ।

भदौरेमा ५ को मृत्यु
भदौरेतामागीमा बुधवार राति आएको पहिरोमा परेका मध्ये अझै चार जना वेपत्ता रहेका छन् । उक्त पहिरोमा परेर पाँच जनाको ज्यान गएको थियो । सो पहिरोमा परेर विश्व पराजुली, समिर पराजुली र मनबहादुर सुनार वेपत्ता छन् ।

पहिरोमा परेका अन्य १४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गम्भीर घाइते भएका स्थानीय शान्ति पराजुली, विमला विक, सविना पराजुली, विनोद विक, नम्रता पराजुली, निरु पराजुली, अञ्जनी पराजुली, तुलसी पराजुली, खुशी विक, कमल सुनार, अन्तिम सुनार, सुस्मा सुनार र सोनाम सुनार र माया पराजुलीको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मनिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment