Comments Add Comment

सभासद भन्छन्-गृहमन्त्रीको जवाफ यथार्थ भन्दा बाहिर

२ भदौ, काठमाडौं । व्यवस्थापिका संसदको बैठकमा गृहमन्त्री बामदेव गौतमले सप्तरी घटनाबारे दिएको जवाफ यथार्थ भन्दा बाहिर रहेको भन्दै सभासदहरुले आपत्ती जनाएका छन् । शान्तिपूर्ण आन्दोलनमा सरकारले अनावश्यक दमन गरेको भन्दै उनीहरुले सप्तरी घटनाबारे छानविन गर्न आयोग गठनको माग पनि गरेका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

सभामुखसँग समय लिएर बोल्ने सभासदहरुले तराई/मधेसको आन्दोलनमा सरकारले दमन नीति लिएको आरोप समेत लगाए । सभासद उमेशकुमार यादवले सप्तरीको भारदहमा प्रहरीले नै शान्तिपूर्ण प्रदर्शनलाई उत्तेजित बनाएर दमन गरेको आरोप लगाए । उनले साँचो कुरालाई गृहमन्त्रीको जवाफमा नसमेटिएको भन्दै आपत्ति जनाए ।

एकवाल अहमद साहले पनि नवलपरासीमा शान्तिपूर्ण प्रदर्शन माथि सरकारले दमन गरेको र गृहमन्त्रीले दिएको जवाफ यथार्थभन्दा बाहिर रहेको जिकीर गरे ।

छानविन आयोग गठन गर्न माग

सकलदेव सुतिहारले संविधान निर्माणको विषयलाई लिएर सप्तरीका बासिन्दाले भारदहमा गरेको शान्तिपूर्ण प्रदर्शनमाथि सरकारले दमन गरेको भन्दै त्यसको निष्पक्ष छानविन गर्न आयोग गठनको माग गरे । उनले शान्तिपूर्ण आन्दोलनमा दमन नगर्न सरकारको ध्यानाकर्षण गराए ।

मानबहादुर थारुले बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा थारु समुदायले गरिरहेको आन्दोलनलाई सरकारले दमन गरेर शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संवैधानिक अधिकार हनन गरेको आरोप लगाए ।

एकनाथ ढकालले शान्ति सुरक्षा प्रभावकारी बनाउन र आन्दोलनमा घुसपैठ गर्नेलाई कारबाही गर्न माग गरे ।

मोहनसिंह राठौरले बिभिन्न जिल्लामा सामाजिक सदभाव बिथोलिने गरी प्रदर्शन भैरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment