Comments Add Comment

मधेसी मोर्चाको विवादास्पद निर्णय : आन्दोलनमा मरे ५० लाख दिन्छौं

Mahanta,-Upendra-and-Ashok

२ भदौ, काठमाडौं । सीमांकनको विरोधमा आन्दोलरत मधेस केन्द्रित दलहरुको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बुधबार अान्दोलनमा मर्नेलार्इ ठूलो धनराशी दिने विवादास्पद निर्णय गरेको छ ।

मधेसी मोर्चाको बुधबार बसेको बैठकले गठवन्धनबाट आहृवान गरिएको बन्द र आन्दोलनका क्रममा कसैले ज्यान गुमाए प्रदेशिक सरकार बनेपछि पीडित परिवारलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । साथै उसले मृतकको परिवारका एक सदस्यलाई रोजगारी र निःशुल्क शिक्षा दिने बताएको छ ।

मोर्चाका शीर्ष नेताहरुद्धारा जारी विज्ञप्तिमा भनिएको छ-‘थरुहट/मधेश लगायत यस गठबन्धनमा आवद्ध रहेका घटकहरुको आव्हानमा आन्दोलनमा ज्यान गुमाउने शहिद परिवारहरुलाई आन्दोलनवाट बन्ने प्रादेशिक सरकारले ५० लाख आर्थिक सहयोग उपलब्ध गराउनुका साथै शहिद परिवारलाई निशुल्क शिक्षा र रोजगारीको जिम्मेवारी प्रादेशिक सरकारले बहन गर्ने छ भन्ने प्रतिबद्धता सहितको निर्णय गरिएको छ ।’

तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश यादवले यो आफूहरुको प्रतिवद्धता भएको बताए ।

मानिसलाई आन्दोलनमा आऊ, मर, पैसा दिन्छौं भनेको हो ? अनलाइनखबरको प्रश्नमा यादवले भने-‘हामी आन्दोलनमा छौं, भोलि संघीय प्रदेश बनेपछि त्यसका लागि ज्यान दिनेको परिवारलाई उचित सम्मान गर्नु त्यो सरकारको कर्तव्य हुन्छ ।’ उनले भने-‘अहिले पनि सरकारले १० लाख दिने गरेको छ, हामीले भोलि प्रादेशिक सरकार बनेपछि दिन्छौं भनेर प्रतिवद्धता जनाएका हौं ।’

मधेसी मोर्चाको बैठकले आन्दोलनको क्रममा घाईते आन्दोलनकारीको रेखदेख र उपचार खर्चको बन्दोबस्त गर्न एउटा केन्द्रीय उपचार समिति गठन गर्ने निर्णय गरेको छ ।

आन्दोलनलाई सशक्त र प्रभावकारी वनाउन एउटा केन्द्रीय आन्दोलन परिचालन एवं संयोजन समिति वनाउने मोर्चाको निर्णय छ ।

मधेसी मोर्चाले संघीयताको आन्दोलनलाई अझ शसक्त बनाउन समान अवधारणा बोकेका पार्टी, संगठन र संस्थाहरुसाग सहकार्य गर्ने उद्देश्यले गठबन्धन बनाउने निर्णय गरेको छ ।

Madhesi Morcha 50 Lakh

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment