Comments Add Comment

काठमाडौंमा क्यान्सर निम्त्याउने प्रदूषण

१२ भदौ, काठमाडौं । उपत्यकामा क्यान्सरको कारकका रूपमा रहेको हानिकारक प्रदूषणको मात्रा उच्च भेटिएको छ।
Brick Bhaktapur (18)
विश्वभरिका विज्ञहरूले काठमाडौं आसपासका क्षेत्रमा गरेको अध्ययनले वायु प्रदूषणको एउटा तत्वका रूपमा रहेको पोलिसाइक्लिक अरोम्याटिक हाइड्रोकार्बन (पीएएचएस) तथा टक्सिक इक्युभेलेन्ट क्वान्टिटी, (टीईक्यू) विशालु तत्व विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा ८० गुणसम्म बढी भेटिएको अन्नपूर्ण पोस्टमा खबर छ ।

अध्ययनमा संलग्न डा. महेश्वर रूपाखेतीका अनुसार प्रदूषणको यो अवस्थाले मानिसमा क्यान्सरलगायत रोगको खतरा बढी हुन्छ। काठमाडौंमा भेटिएको पीएएचएसको मात्रा बेइजिङ र नयाँदिल्लीलगायतका सहर बराबर हो।

चाइना एकेडमी अफ साइन्स, एकेडेमी अफ फिनल्यान्ड तथा नेपाली वैज्ञानिकहरूको संयुक्त अनुसन्धानले पीएएचएसले मानिसको फोक्सोमा सीधा असर गर्ने उल्लेख गरेको छ। राम्ररी नडढेको कृषिजन्य सामग्री तथा डढेलोबाट निस्कने धुवाँ तथा इँटाभट्टाबाट निस्कने धुवाँ यसको मुख्य स्रोत हो।

काठमाडौंमा २० वर्षभन्दा पुराना डिजेल इन्जिनका गाडीबाट राम्ररी नजली निस्किएको धुवाँ यस्तो प्रदूषणको अर्को महत्वपूर्ण स्रोत हो। भारतका विभिन्न स्थानमा जलाउने कृषिजन्य सामग्रीबाट निस्किएको धुवाँको नमुनासमेत वैज्ञानिकहरूले उपत्यकामा प्रमाणित गरेका थिए।

काठमाडौं उपत्यकामा वायु प्रदूषणका विभिन्न तत्व तथा त्यसको संयोजन र रासायनिक पदार्थको मिसावटको प्रतिशतसमेत अध्ययनकर्ताले विश्लेषण गरेका थिए । वायु प्रदूषण विज्ञ डा. रूपाखेतीले अन्नपूर्णसँग इमेलमा भने, ‘यस्तो प्रदूषणले क्यान्सर निम्त्याउँछ। यसको मात्रा मनसुनका समयमा झन् धेरै देखिएको छ, यो आश्‍चर्यजनक पनि छ।’

पीएएचएसको मात्रा १ नानोग्राम परमिटर क्युब हुनुपर्नेमा उपत्यकाका विभिन्न ठाउँमा दुईदेखि ८० गुणासम्म बढी देखिनु स्वास्थ्यका लागि सबैभन्दा खतरा हो। त्यस्तै पीएएचएसमा टक्सिक इक्युभेलेन्ट क्वान्टिटी (टीईक्यू) विषालु तत्वको मात्रा २.७४ देखि ८१.५ नानोग्राम मिटरक्युब भेटिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment