Comments Add Comment

टीकापुर रिपोर्ट : झाडीमा लुकेर वालकमाथि गोली प्रहार

आरपी सुवेदी (टीकापुरबाट फर्केर)

१६ भदौ, नेपालगञ्ज । कैलालीको टीकापुरमा हिंसात्मक झडपमा परेर मत्यु भएका १८ महिने बालकका परिवारले आफूहरुलाई न्याय दिलाउनका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

Tekbahadur-Saud-Tikapur-Kail

आफ्नो छोरालाई झाडीमा लुकेर सानो हतियारले गोली हानिएको मृतकका पिताले पत्रकारहरुको अनुगमन टोलीसमक्ष बताए ।

टीकापुरमा भदौ ७ गते भएको थरुहट र प्रहरीको बीचको झडपका क्रममा गोली लागी डेढ वर्षीय बालक टेकबहादुर साउदले समेत ज्यान गुमाएका थिए ।

मृतकका पिता सशस्त्र प्रहरी सहायक हवल्दार नेत्रबहादुर साउदले घाइते तथा मृतकको उद्दारमा लागेका कारण आफ्नो १८ महिने छोरालाई गोली हानी निर्ममता पूर्वक हत्या गरिएको दाबी गरे ।

घटनाका बारेमा व्याख्या गर्दै उनले भने- ‘म घटनाका बेलामा डिउटीमै थिएँ । घटना सकिएको केही बेरपछि घर आउँदा घर वरिपरि घाइते र शव थिए । कोही पानी भन्दै कराइरहेका थिए । मैले पानी खुवाएर घाइतेलाई अस्पताल पठाउन सघाएँ । तर घटना साम्य भैसकेको करिब डेढ घन्टापछि एक्कासी गोली चल्यो र बराण्डामा खेल्दै गरेको बाबुलाई लाग्यो ।’
घटनास्थलको वस्तुस्थिति

साउदकोे दक्षिण-पूर्व फर्केको घरको बरण्डामा त्यसबेला अन्य बालबालिका पनि खेल्दै थिए । उनी सो घटनालाई सम्झँदै भन्छन्- ‘साँझ करिव साढे ४ बजेको थियो होला, पूर्वपट्टिको झाडीबाट एक्कासी ४-५ राउण्ड गोली चल्यो । हामी सबै त्रसित भयौं र आफू जोगिनेतिर लाग्यौं, बाबुलाई नजिकै रहेकी बहिनीले उठाएर लैजान खोजिन् तर ढीलो भैसकेको थियो ।’

सो घटनामा सानो हतियार प्रयोग भएको र बालबालिकालाई नै ताकेर गोली हानिएको साउदले दाबी गरे ।

उनले घटना अघिसम्म कहीँ कतैबाट घरपरिवारमा कुनै धम्की नआएको र कसैसँग रिसईवी नभएको बताए । उनले सो दिनको घटनापछि आफ्नी पत्नी र ४ वर्षीया  छोरी घरमा डरले बस्न नसकी माइत गएको सुनाए ।

प्रत्यक्षदर्शीको भनाइ

घटना हुँदा नजिकै रहेकी बालककी फुपू तथा नेत्रबहादुरकी बहिनी दुर्गा कठायतलेे घटना सम्झँदै भनिन्- ‘आँगन र बराण्डमा बच्चाहरु खेल्दै थिए, एक्कासी गोली चल्यो । ठूला बच्चाहरु भागेर घरभित्र पसे । तर, सानो बाबु पनि त्यहीँ खेल्दै थियो, भित्र लैजानका लागि उठाउँदा टाउकोमा गोली लागेको रहेछ, मैले उठाउँदा बाबु थिएन ।’

Tikapur-Kailali
दूर्गाले भावविह्वल हुँदै भनिन्- ‘डेढ वर्षको बच्चाको के दोष थियो र ताकेरै गोली हानियो ? राज्य र आन्दोलनकारी दुबैले यसको जवाफ हामी पीडित परिवारलाई दिनुपर्छ ।’

बालबालिकामा त्रास

घटना नजिकबाट हेर्ने बालबालिकाहरुमा डर र त्रास अहिलेसम्म हटेको छैन । सो घटना देख्ने सबै बालबालिकाहरुमा एक किसिमको डर र त्रासमा रहेको दूर्गाले बताइन् ।

उनले भनिन्- ‘दिनभरि त खेल्छन् हाँस्छन तर, साँझ हुन थालेपछि टोलाउँदै बस्ने र घरमा पस्नै नमान्ने गर्दा उनीहरुमा ठूलो त्रास देखिन्छ, कसरी उनीहरुलाई सम्झाउने ?’

मृतक वालककी छिमेकी मनसरा भण्डारीले आफ्नो १४ वर्षको छोरा गोकुलराज भण्डारी टोलाइरहने, घरमा आउनै नमान्ने घरमा बसे पनि टेबुलमुनि बसेर गोली हान्छ भन्दै बर्बराउने गरेको बताइन् ।

Fulbari-FM-Kailali-Tikapur

घरनजिकै सशस्त्र प्रहरीका ललितबहादुर साउदलाई भाला, खुकुरी र बञ्चरोले हानेको र केहीबेरमै गोली लागेर टेकबहादुर साउदको ज्यान गएको देखेपछि आफ्नो छोरामा मानसिक समस्या देखिएको मनसराले बताइन् । छोरालाई टीकापुर अस्पतालमा लगेर औषधि गर्दा पनि ठीक नभएको उनले सुनाइन् ।

अर्का छिमेकी श्यामप्रसाद भट्टले सो घटनापछि सबै बच्चाहरुमा त्रास र डर उत्पन्न भएको बताए । अँध्यारो हुनेबित्तिकै फेरि झडप हुने हो कि, कसैले फेरि हान्ने हो कि भन्ने डर उनीहरुमा कायमै रहेकाले जति गर्दा पनि घरमा बस्नै नमान्ने गरेको बताए । उनले प्रहरी निरीक्षकद्वयको शवलाई आफ्नी श्रीमतीको चुन्नीको सहायताले घटनास्थलबाट अस्पताल लैजानका लागि सहयोग गरेको बताए ।

टीकापुरमा खाद्यान्न अभाव

गत भदौ ४ गतेदेखिको निषेधाज्ञा र ७ गतेको घटनापछि लगाइएको कर्फ्युका कारण टीकापुरका सर्वसाधारणमा खाद्यान्न संकट पर्न थालेको छ । ७ गतेदेखि लगातारको कर्फ्युका कारण खाद्यान्न अभाव भएको टीकापुर-९ ब्लक नं ८ का ज्ञानीबहादुर कुमालले बताए । उनले भने-‘ कर्फ्युका कारण पसल बन्द छन्, पैसा भएर पनि के गर्ने, पसल नै नखुलेपछि ।’

कुमालले घरमा भएको रासन सकिएको बताउँदै भने- ‘घरमा सञ्चित गरेर राखेको रासन सकिन थाल्यो । बजार खुल्दैन, खुले पनि अति नै महंगो छ, बाँच्नै गाह्रो भयो ।’

सोही ठाउँकी विन्दु विष्टले घरमा खाने कुरा केही नभएको बताइन् । गहुँ केलाउदै गरेको अवस्थामा भेटिएकी उनले भनिन्-‘मेरो ७ जनाको परिवार छ, घरमा भएको अनाज सकियो किन्नलाई पैसा छ तर बजार खुल्दैन । यो गहुँ जाँतोमा भए पनि पिँधेर गुजारा चलाउनु पर्ला भनेर निफन्दै गरेकी हुँ ।’ उनले बजारमा खाद्यान्न महंगिएर आकाशमै पुगेको बताइन् ।

Tikapur-Kailali-2

राज्यले यस्तोबेला केहीमात्र भए पनि व्यवस्था गर्नुपर्ने तर, केही पनि नगर्दा जसलाई पर्‍यो, त्यसैले मात्र भोग्यो हुने परिपाटी रहेको उनले दुखेसो पोखिन् । उनले दाल र चामल मात्र भए पनि नून, तेल र पकाउने ग्यास पनि नहुँदा कसरी गर्जो टार्ने हो, आफू चिन्तित भएको बताउँदै भनिन्, ‘केही दिन यताउता छिमेकी गुहार्दै काटें तर, उनीहरुसँग पनि भए पो दिन्थे, नभएपछि कसरी दिउन् ।’

पत्रकार महासंघको अनुगमन

मध्य तथा सुदूरपश्चिममा भएका घटनाहरु तथा प्रेस स्वतन्त्रता उलंघनका घटनाको स्थलगत अवलोकनका लागि नेपाल पत्रकार महासंघको केन्द्रीय मिसन टोलीले मध्यपश्चिमको बाँके तथा सुदूरपश्चिमको कैलालीको स्थालगत अवलोकन गरेको छ ।

Tikapur-Kailali-3

मिसन टोलीले कैलालीको फूलबारी एफएम तथा कैलालीका अन्य सञ्चार माध्यमहरुको अवलोकन गरेको थियो । साथै बाँकेमा पनि पत्रकारहरुको अवस्था सञ्चारगृहका बारेमा टोलीका प्रतिनिधिले जिज्ञासा लिएका थिए ।

यसैबीच कैलालीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईंले जिल्लाको अवस्था विस्तारै सामान्य बनाउँदै लैजाने प्रयासहरु भएको बताएका छन् । उनले कर्फ्यूको समय घटाउँदै लगिएको र बजार पनि केही समयका लागि खोलिने प्रबन्ध मिलाइएको बताए ।

उनले कर्फ्यूका कारण खाद्यान्न अभाव भएको कुनै जानकारी आफूकहाँ नआएको र आएमा तत्काल आवश्यक पहल गरिने बताए ।

स्थानीय प्रशासनले टीकापुर र धनगढी नगरपालिकामा कर्फ्यू लगाउँदै आएको छ ।

यो पनि पढ्नुस्

टीकापुरमा न गौराको रौनक, न अट्वारीको तयारी

टीकापुर घटना छानविन टोली कैलालीमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment