Comments Add Comment

तराई-मधेसको आन्दोलनमा दमन भयो : आयोग

सुभाषप्रसाद साह

१७ भदौ, कलैया । राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता मोहना अंन्सारीले तराई-मधेसमा अधिकारका लागि भइरहेको आन्दोलनमा राज्यले दमन गरेको बताएकी छन् ।

manab-adhikar-aayog-at-Bara
मधेसी मोर्चाका नेताहरुहरुसँग छलफल गर्दै मानवअधिकार आयोगको टोली

कलैया-१० रंगपुरका २५ वर्षीय हिफाजत मियाको गत मंगलबार प्रहरीको गोली लागेर मृत्यु भएपछि सोको वास्तविकता बुझ्न आयोगको टोली कलैया आएको छ ।

विहीबार पत्रकारसँग कुरा गर्दै आयोगकी प्रवक्ता अन्सारीले भनिन्, ‘मानव अधिकारको पहिलो मापदन्ड जीवन रक्षा गर्नु हो, तर कलैयामा त्यस्तो देखिएन, यहाँ मानव अधिकारको रक्षा राज्यबाट हुन सकेन ।’

उनले आन्दोलनकारीलाई पनि संयम हुन र हिंसात्मक गतिविधि नगर्न आग्रह गरिन् ।

प्रहरीले आन्दोलनकारीलाई लखेटी-लखेटी मारेको, घरमा पसेर ७५ बर्षका आँखा देख्न नसक्ने बुढो मान्छेलाई समेत कुटेको लगायतका घटनाबाट राज्यले दमन गरेको प्रस्ट देखिएको उनले बताइन् ।

गोली चलेको भरतचोकमा रहेको पसलको सटरबाट दुई थान गोलीका छर्रा, म्याद सकिएको अश्रु ग्यास आन्दोलनकारीहरु माथि प्रहार गरेको समेत फेला परेको उनले जानकारी दिइन् । म्याद गुज्रेको अश्रुग्यास प्रहार गर्नु निदनीय भएको बताउँदै उनले यसबारे छानबिन हुनुपर्ने माग समेत गरिन् ।

आयोगका प्रवक्ता अन्सारीको नेतृत्वको ५ सदस्यीय आयोगको टोलीले स्थानीय प्रहरी प्रशासन प्रमुख, आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता-कार्यकर्ता, आन्दोलन भएको कलैयाको भरतचोकका सर्वसाधारण र स्थानीय अधिकारकर्मी लगायतसँग भेटघाट गरेको छ । टोलीले मृतकका परिवार र घाइतेहरुसँग पनि छुट्टाछुट्टै भेटघाट गरेर कलैयाको अवस्थाबारे जानकारी लिएको मानव अधिकार आयोगको क्षेत्रीय कार्यालयका प्रमुख बुद्धनारायण सहनीले जानकारी दिए ।

आन्दोलन जारी, मियाँको शव अझै उठेन

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा बिहिबार १९ औं दिन पनि बारा सदरमुकाम कलैयामा प्रदर्शन जारी छ । मोर्चाका कार्यकर्ताहरुले नाराजुलुस, भेला भाषण लगायतका क्रियाकलापलाई जारी राखेका छन् । आन्दोलनका कारण जनजीवन कष्टकर बनेको छ । उद्योग कलकारखाना, शिक्षण संस्था, यातायात ठप्प छन् ।

गत मंगलबार प्रहरीको गोली लागेर मृत्यु भएका हिफाजत मियाँको शव अहिले पनि कलैया अस्पतालमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment