+
+
Shares

पुरुषोत्तमलाई सौरभको ओठे जवाफ : हामीलाई बाटो बनाउन किन नदिएको ?

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २६ गते १८:२८

२६ भदौ, काठमाडौं । बाहिर झमझम पानी परिरहेको थियो । काठमाडौंको गैरीधारास्थित एक रेष्टुरेन्टमा पत्रकार एवं लेखक पुरुषोत्तम दाहालले ‘राष्ट्रवादी’हरुलाई गाली गरे । दाहालको कुरो सुन्दा यस्तो लाग्थ्यो, हामीले अहिलेसम्म भारतको आलोचना गरेकै कारण नेपाल गरीब र कंगाल भएको हो, लोडसेडिङ भएको हो ।

पुरुषोत्तम दाहाल
पुरुषोत्तम दाहाल

नेपाली कांग्रेससँग बैचारिक निकटता राख्ने दाहालले नेपालका वामपन्थीहरुलाईै लक्षित गरेर ‘फायर’ खोलेपछि त्यहाँको माहौल यस्तो बन्यो कि अहिलेसम्म भारतसँम्ग भएका जल सम्झौताहरुमा नेपालीहरुले ठूलो गल्ती गर्दै आएका छन् र यही कारणले हामीले लोडसेडिङ ब्यहोर्नुपरेको छ ।

लेखक अरुणकुमार सुवेदीको पुस्तक ‘जल सपना’ (नेपाल भारत जल तथा उर्जा सम्बन्धबारे) को विमोचन कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गरेका दाहालले ‘राष्ट्रवाद’को आफ्नै तरिकाले परिभाषा गर्दै भने- ‘हाम्रो पानी खेर गइराखेको छ, तर हामी स्वाभिमानको शीर ठड्याउनेहरुले पानीको कुनै पनि उपयोग गरिराखेका छैनौं । यथार्थमा भन्दा हामी अन्धकारमा बस्न रुची राख्ने प्राणीहरु हौं ।’

वामपन्थीहरुले भारतसँग भएका असमान सन्धीको विरोध गरेको सन्दर्भलाई लक्षित गर्दै दाहालले थपे- ‘पानीको कुरा गर्‍यो भने काठमाडौंका जम्मै सडक आगोले बल्छन् । हाम्रो स्वभाव यो छ । यो स्वाभावको शिकार हामी भइरहेका छौं ।’

तर, भारतको विरोध गर्नुहुँदैन भन्ने उनै दाहालले फेरि शुक्रबारकै भारतीय राजदूतको सक्रियतालाई आलोचना गरे । भारतीय राजदूतसँग नेताहरुले बढाएको सम्बन्धको पनि उनले विरोध गर्न भ्याए ।

दाहालले भने- ‘राष्ट्रवादको जुन ढंगको आवरण शैली छ, आवरण शैली भन्छु म त्यसलाई, बाहिरमात्रै राष्ट्रवाद । हिजोसम्म राष्ट्रिय स्वाभिमानको ठूलो चर्चा थियो, आजमात्रै दूतावास धाएर दुई दिनसम्म रोकियो । हामी कस्तो भयानक काम गर्छौं भने नि, बिहानै एम्बेसी धाइसकेपछि दुई दिनलाई स्थगन भयो संविधानसभा । हाम्रो राष्ट्रवाद त्यहीँनेर गएर पुग्दोरहेछ ।’

दाहाललाई सौरभको जवाफ

सौरभ
सौरभ

कार्यक्रमको प्रारम्भ नै भारतको आलोचना गर्नेहरुलाई अराष्ट्रिय तत्व हुन् जस्तो गरी सुरु भएपछि त्यहाँ उपस्थित लेखक सौरभलाई सैह्य भएन । उनले दाहाललाई मुखभरिको जवाफ फर्काउँदै नेपाल-भारत सम्बन्धको यसरी विश्लेषण गरे- ‘पुरुषोत्तम दहालले मजस्तो मान्छेलाई ठोकेर भनेको छ । मैले भन्नै पर्‍यो । भारतको विरोध गर्नु नै राष्ट्रवाद हो भन्ने नेपालमा परिराखेको छ भनेर जहिले पनि उहाँहरुले भनिरहनुभएको छ, यो मजस्तो मान्छेलाई अलि ओठे जवाफ हो कि भनेजस्तो लाग्छ ।

हामी हिमालयको दक्षिण ढालमा, भिरालोमा छौं, हाम्रो सबैभन्दा पहुँच भएको देश चीनभन्दा भारत नै हो । उसँग धेरै संस्कृति पनि मिल्छ, परम्परा मिल्छ । उसले गरेको प्रगतिलाई हामीले कदर पनि गर्नुपर्छ । तर, के भने राम्रो कुरालाई निन्दा गर्ने वा विरोधका लागि विरोध किन गर्ने ? तर ५ हजार हामीले डाटा बटुल्यौं भने मलाई लाग्छ ३५ सय डाटा यस्ता छन् कि हामीलाई नियतबस दुख दिइनै राखिएको छ । यो मैले अञ्दाज गरेर भनेको हैन, मैले डाटा टिपेको छु ।

जस्तो कि अहिले दुई तीनवटा उदाहरण दिऔं, विरोध गर्ने कि नगर्ने ? करारमा रहेका भारतीय शिक्षकहरुलाई उपादान दिँदाखेरि अहिले हामीले १२ करोड रुपैयाँ त दिन्छौं । १२ करोड देशका लागि ठूलो कुरा भएन, व्यक्तिका लागि ठूलो कुरा होला । तर, हामीले करारमा रहेका सारालाई अर्बौं दिनुपर्ने स्थिति आउनु भनेको त्यसको विरोध गर्ने कि नगर्ने ?

अनि सिन्धुली बर्दिबासको सडकको कुरा, त्यसमा असाध्यै दुख दिएर बल्लबल्ल बनेको छ । त्यो बाटो बन्न नदिने भन्दै दबाव दिइयो । दबाव सेक्युरिटीको कारणले भनियो । हामीलाई किन बाटोघाटो बन्न नदिएको ? यस्ता कुराहरुको विरोध गर्ने कि नगर्ने ? अनि त्यो विरोध गर्दाखेरि विरोधका लागि विरोध गरिँदैछ, त्यो राष्ट्रवाद होइन भन्दा मलाई चाँहि पच्दैन । म यो कुरालाई पचाउँदिन ।

म पनि ०३६ साल र ०४६ सालको आन्दोलनमा लागेकै मान्छे हुँ । ०१७ साल पुस १ गते आयो । तर, महेन्द्रले पहाडबासीलाई भन्दा तराईबासीलाई यति धेरै फाइदा भएको छ कि डरलाग्दो फाइदा भएको छ । पहाडलाई खास फाइदा भएको छैन महेन्द्रको नीतिले । तर, हृदयेश त्रिपाठीको मुखबाट दिनको २५ चोटि महेन्द्रीय राष्ट्रवाद भन्दा मलाई बडो हाँस उठ्छ क्या !

भारतसँगको सम्बन्ध सुध्रिँने भनेको चाहिँ भारतले नेपालबाट जति आफ्ना अनावश्यक प्रभुत्वहरु जति झिक्दै जान्छ, उति हामी प्रो- इण्डियन भएर जान्छौं

अरुण सुवेदीले आफ्नो किताब ‘जल सपना’को एउटा प्यारामा भन्नुभएको कुरा म चित्त बुझाउँछु, त्यहाँ उहाँले लेख्नुभएको छ,- ‘नेपाल भारत सम्बन्ध कहिल्यै ढुक्कको र विश्वासयोग्य भएन । यो सम्बन्ध अरु बिग्रन सक्ने सम्भावना छ । भारतसँग सम्बन्ध बिगि्रएमा स्वतः चीनसँगको सम्बन्ध पनि बिग्रन जान्छ । त्यो अवस्थामा पश्चिमा रणनीतिको विजय हुनेछ । नेपाललाई आर्थिक र राजनीतिक रुपमा असफल द्वन्द्वग्रस्त र उग्र भारतविरोधी भावनायुक्त मुलुकमा परिणत गराउने प्रयत्न सफल भएमा मानवीय हस्तक्षेपका नाममा नीलो झण्डामुनि पश्चिमा चासो स्थापित हुनेछ । हामीले त दुःख पाउने नै छौं, भारत र चीनले पनि दुःख पाउनेछन् ।’

यो एकदमै भएको कुरा हो । यसको म एकसय एक प्रतिशत समर्थन गर्छु । अहिले नेपालको राजनीतिक परिदृश्य जे देखिइरहेको छ, यसको निश्कर्ष यही हो । हामी सिभिल वारमा पुग्छौं कि भन्ने पनि हो । देश रहन्छ कि रहँदैन भन्ने पनि हो ।

जहाँसम्म भारतसँगको सम्बन्धको कुरा छ, मलाई चाँहि कस्तो लाग्छ भने म २५/३० वर्षदेखि भारतको नीतिको विरोध गरेर आइराखेको छु, तर मेरो भित्री धारणाचाहिँ भारतसँगको सम्बन्ध बिग्रनुपर्छ भन्ने होइन । भारतसँगको सम्बन्ध सुधि्रनुपर्छ ।

र, भारतसँगको सम्बन्ध सुध्रिँने भनेको चाहिँ भारतले नेपालबाट जति आफ्ना अनावश्यक प्रभुत्वहरु जति झिक्दै जान्छ, उति हामी प्रो- इण्डियन भएर जान्छौं । आखिर हामीलाई चीनले के गर्दिया छ र ? खासै केही गर्दिएको छैन । बोर्डर कन्ट्रोलमात्रै गर्दिएको छ । हामीलाई खासै चीनले केही गर्दिएको छ ।

हामीलाई भारतले पैसा दिएको छ, पेट्रोल दिएको छ, औषधि पनि दिएको छ, लुगाफाटो दिएको छ । तर, पनि यो वैरभाव जन्माइराखेको त अनावश्यक प्रभुत्व जमाउन खोजेर मात्रै हो । प्रभुत्व शून्य गरेका दिन भारतको सबैभन्दा नजिकको मित्र कोही हुन्छन् भने ती नेपाली नै हुनेछन् ।

यो कुरा हामी नेपालीले जति बुझेका छौं, त्यो उनीहरुले बुझ्न नखोज्नु मलाई लाग्छ त्यो गलत कुरा नै हो ।

महाकालीदेखि कोशी र कर्णालीसम्मका कुरा

नेपाल र भारतको जल सम्बन्धका बारेमा लेखिएको पुस्तकमाथि भएको छलफलमा क्रममा त्यहाँ महाकालीको पञ्चेश्वर परियोजनादेखि कोशी सम्झौता, गण्डक सम्झौता अनि कर्णालीमा भएको भारतसँगको सम्झौताका विषयमा पनि कुरा उठे ।

Jal-Sapana

विद्युत विकास विभागका पूर्वमहानिर्देशक डीपी सिंहले पञ्चेश्वर परियोजनाको विरोध गर्नेहरु राष्ट्रवादी नभएर अराष्ट्रिय तत्व रहेको बताए । सिंहले त्यसो भनिरहँदा पूर्व कम्युनिष्ट नेता नीलाम्बर अाचार्य उनकै बगलमा थिए ।

पूर्व जलस्रोत मन्त्री लक्ष्मण घिमिरेले चाँहि भारतले कोशी सम्झौतामा दिएको वचनसमेत अहिलेसम्म कार्यान्वयन नगरेको गुनासो पोखे । नेपालले भारतसँग गरेका सन्धीहरुमध्ये कोशीमा भन्दा गण्डकमा र अझ महाकाली सन्धीसम्म आइपुग्दा नेपालको हात माथि पर्दै गएको विश्लेषण सुनाए ।

तर, कांग्रेसलाई देश बेचुवा भन्ने कम्युनिष्ट नेताहरुले माथिल्लो कर्णालीमामा भारतसँग असमान सन्धी गरेर राष्ट्रघात गरेको घिमिरेले बताए । माथिल्लो कर्णालीको राष्ट्रघातमा विपक्षी दल एमाओवादीले समेत सहमति जनाएर गम्भीर गल्ती गरेको घिमिरेले गुनासो गरे ।

जल सपनाका लेखक अरुणकुमार सुवेदीले मोदी सरकारको नेपाल नीति असफल भएको टिप्पणी गरे । भारतले नेपालमा मन्त्री कसलाई बनाउने भन्नेजस्ता कार्यमा हात हाल्दा ऊ विवादमा पर्ने गरेको तर, पश्चिमाहरुले नीति निर्माणमा हस्तक्षेप गरेकाले आलोचनाबाट जोगिने गरेको सुवेदीले टिप्पणी गरे ।

नेपाल र भारतको जलसम्बन्धका विषयमा लेखिएको आफ्नो पुस्तक विवादास्पद भए पनि सन्देहास्पद नहुने उनले जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?