Comments Add Comment

जोन अस्टिन जस्ता सिटौला, सेभेग्नी जस्ता बाबुराम !

अरुण बराल

संविधान निर्माणको प्रक्रिया अन्तिम चरणमा पुग्नै लाग्दा नेपाली राजनीतिमा दुईवटा सिद्धान्तवीच टकराव देखिएको छ : एउटा- अल्पमत पक्षको असन्तुष्टिलाई ‘क्रस’ गर्दै ल्याङ-ल्याङ नगरिकन अगाडि जानुपर्छ भन्ने विचार । र, दोस्रो- असन्तुष्ट पक्षको आवाजलाई सम्बोधन नगरी राज्य अगाडि बढ्नुहुँदैन भन्ने विचार ।

Samsad-Sankalpa 650

सतहबाट हेर्दा असन्तुष्टि र विवादकै वीचबाट राज्य अगाडि बढ्छ र बढ्नुपर्छ भन्ने सोचाइ एमाले अध्यक्ष केपी ओली, कांग्रेस नेता शेरबहादुर देउवा, कृष्णप्रसाद सिटौलालगायतका नेताहरुमा देखिएको छ । राज्यले सबै पक्षलाई समेट्ने नीति लिनुपर्छ भन्ने लाइनमा आन्दोलनकारी शक्तिहरुका साथै एमाओवादी नेता डा. बाबुराम भट्टराई सतहमा देखिएका छन् ।

तर, यो नेपालका नेताहरुको मात्रै कित्ताकाटको विषय चाँहि विल्कुल होइन । विधिशास्त्रको इतिहासमा यी दुई धारावीचको विवाद सैयौं वर्षदेखि हुँदै आएको छ । चर्चित बेलायती विधिशास्त्री जोन अस्टिन सम्प्रभुको आदेश नै कानून हो भन्थे । अहिले सिटौलालगायतका नेताहरुले संविधानसभाको आदेश नै मुख्य हो भनिरहेका छन् । सिटौला र ओलीहरुको यो दृष्टिकोण जोन अस्टिनको विधिशास्त्रीय परिभाषासँग ठ्याक्कै मिल्दोजुल्दो प्रकारको छ ।

जर्मनीका अर्का चर्चित विधिशास्त्री सेभेग्नी चाँहि अस्टिनको ‘प्रत्यक्षवाद’ लाई मान्दैनन् । समाजशास्त्रीय विधिशास्त्री सेभेग्नीको विचारमा कानून, संविधान वा विधि भनेको कसैको ठाडो आदेश नभएर सामाजिक ईच्छाहरुको योगफल हो र हुनुपर्छ ।

यतिबेला नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, एमाओवादी नेता डा. बाबुराम भट्टराईलगायतले अघि सारेको विचार सेभेग्नीसँग मिल्दोजुल्दो छ । यद्यपि आफ्ना विचारहरु सत्तचारमाध्यममा प्रकट गरे पनि कोइराला र भट्टराईले संविधानको प्रक्रियाको विरोध गरेका छैनन् ।

कमल थापाले पनि आइतबार संविधानसभामा बोल्दा मधेसी र थारुहरुको मागलाई सम्बोधन गर्नुपर्ने वाक्यांश उधृत गरे, जुन सेभेग्नीको विधिशास्त्रसँग मिल्छ । समाजमा रहेका विविधता र तिनका मान्यतालाई राज्यले आत्मसाथ गर्ने कि राज्यले संसदबाट जारी गर्ने कानूनलाई सम्प्रभुको आदेशका रुपमा समाजमा लागू गर्ने भन्ने दुई विधिशास्त्रवीचको भिन्नता हो यो ।

कुन लाइन ठीक ?

नेपालमा यो एउटा रोचक विधिशास्त्रीय बहसको विषय बन्न सक्छ कि राज्यलाई शक्तिशाली एवं बलियो बनाएर आन्दोलनकारीको सामना गर्दै अघि बढ्ने या असन्तुष्टि एवं विभिन्न समुदायका मागहरुलाई सम्बोधन गर्दै सामाजिक सम्झौताको बाटोबाट अघि बढ्ने ?

यी दुईवटा राजनीतिक लाइनहरु आ-आफ्नो पाटोबाट हेर्दा दुबै सही जस्ता लाग्छन् । प्रहरीमाथि आक्रमण गर्ने, आगजनी गर्ने र हिंसाको माध्यमबाट आफ्ना माग पूरा गर्न खोज्नेलाई पेलेर राज्य अघि बढ्नुपर्छ भन्ने मत नेपाली राजनीतिमा कम शक्तिशाली छैन ।

सिटौलाले यही भएर आइतबार संविधानसभामा भनेका छन् कि संविधानसभा हतियारसँग झुक्दैन । एमाले अध्यक्ष केपी ओलीले पनि हिंसाको माध्यमबाट आफ्ना माग पूरा गर्न खोज्नु मान्य विषय नभएको बताएका छन् । सिटौला र ओलीको यो लाइन विधिशास्त्रीय सम्प्रदायमा अस्टिनको लाइन हो ।

तर, यसरी पेेलेर अघि बढ्न खोजियो भने त्यसले समाजमा असन्तुष्टि बढाउने र अल्पसंख्यक समुदायले न्याय नपाउने अनि भविश्यमा विद्रोह हुन सक्ने अर्को लाइन वा विचारलाई पनि गलत मान्न सकिँदैन, जुन कुरा डा. बाबुराम भट्टराईले पछिल्लो समयमा उठाइरहेका छन् ।

विधिशास्त्री सेभेग्नीले विद्रोहको कुरा त गरेका थिएनन्, उनले यसरी पेलेर आदेशहरु लाद्न खोज्दा समाजका विभिन्न जातजाति र समुदायमाथि अन्याय हुने बताएका थिए । विधिको उद्देश्य न्याय स्थापित गर्नु हो ।

देशको मूलकानून बनाइरहेका बेला नेपालमा यतिबेला हामीलाई जोन अस्टिन चाहिएको छ या सेभेग्नी ? यो गम्भीर बहसको विषयमात्रै होइन, विवादको विषय पनि हो ।

कुन विधिशास्त्रबाट बन्दैछ हाम्रो संविधान ?

कुनै उपद्रो भएन भने विहीबार नेपालको नयाँ संविधान आउँदैछ । तर, यो संविधान हामीले कुन विधिशास्त्रीय मान्यतामा टेकेर बनाउँदैछौं ? यो विषय महत्वपूर्ण छ ।

संविधानलाई सम्झौताको दस्तावेज भनिएको छ । सम्भलौता भनेको सामाजिक सम्झौता हो कि तीनदलीय सम्झौता मात्रै हो ? हब्स, लक र रुसोले प्रतिपादन गरेको सामाजिक सम्झौताको सिद्धान्तलाई अपभ्रंसित नपार्ने हो भने सम्झौता भनेको राज्यभित्रका विभिन्न जातीय एवं सांस्कृतिक ‘क्लष्टर’हरु वीचको सम्झौता नै हो ।

हामीले संविधानलाई सामाजिक सम्झौताको दस्तावेज बनाउन खोजेका हौं र सोही विधिशास्त्रीय मान्यतामा टेकेर संविधान बनाउन लागेका हौं भने थारु, मधेसी, जनजाति, दलित, महिला आदि सामाजिक समुदायसँग गरिएका सम्झौताहरुलाई सडकमा असरल्लै छाडेर बनाउने संविधान कसरी सामाजिक सम्झौताको दस्ताबेज बन्ला ? यो प्रश्नको विधिशास्त्रीय उत्तर सजिलो छैन ।

एमाले अध्यक्ष केपी ओलीले संविधानमा सबैले भनेको जस्तो गर्न सकिँदैन भन्दाभन्दै केही दलका केही नेताहरुले आफूले भनेजस्तो चाँहि सम्भव भएको देखिन्छ ।

शेरबहादुरले भनेको जस्तोचाँहि सम्भव हुने थारुले भनेको जस्तो विल्कुल नहुने सिद्धान्तका आधारमा संविधान बनेको हो भने यो संविधानलाई कसरी सम्झौताको दस्ताबेज भन्ने ? भविश्यमा गम्भीर प्रश्न उठ्न सक्छ ।

के हामीले जोन अष्टिनकै विधिशास्त्र अनुसार यो संविधान बनाउन लागेका हौं ? यति त्यसो हो भने नेपाली मूलका अष्टिनहरुले अन्तिमसम्म आफूलाई मेकियाबेलीले परिकल्पना गरेको उदार तानाशाहका रुपमा उभ्याएर देखाउनुपर्ने हुन सक्छ ।

इतिहासमा एकचोटि संविधान बनाइसकेपछि तत्कालै भोलि संशोधन गरिन्छ भनेर नेताहरुले किन बोल्ने ? उदार तानाशाह वा जोन अष्टिन नै जन्माउन खोजिएको हो भने सबैलाई समेट्ने वा लचिलो कुरा गर्ने कुनै आवश्यकता देखिँदैन ।

जोन अस्टिनको विधिशास्त्र अनुसार नै देश चलाउन खोजिएको हो भने संविधानलाई लचिलो होइन, सिमेन्टेड दस्तावेज बनाउनुपर्ने हुन्छ । लचिलो संविधानको दुई चढेर कडा राष्ट्रवादी एवं उदार तानाशाही नेता बन्न सम्भवै छैन । जस्तो नेतृत्व उस्तै संविधान र उस्तै विधिशास्त्र चाहिन्छ ।

अहिलेको संविधान निर्माणमा संस्थापन पक्षको सोचाइ, व्यवहार र उनीहरुले अपनाउन खोजेको विधिशास्त्रीय सिद्धान्तमा तादम्य देखिँदैन, जसलाई मिलाउन जरुरी देखिन्छ ।

केही विधिशास्त्रीय प्रश्नहरु

हाम्रो नेपाली समाज ‘होमोजेनियस’ नभएर ‘हेट्रोजेनियस’ प्रकारको भएकाले सम्प्रभुको आदेशले मात्रै सामाजिक इच्छाहरुलाई सम्बोधन गर्न सक्छ कि सक्दैन ? ‘सामाजिक सम्झौताको दस्तावेज’को मुरली बजाउँदै जारी गर्न लागिएको यो संविधान कुन विधिशास्त्रमा टेकेर ल्याइँदैछ ?

अब संविधान बनिसकेपछि नेपालका जोन अस्टिनहरु सम्प्रभु (संविधानसभा) को आदेश पालना गराउनतिर लाग्छन् या थप सम्झौता र वार्ता गर्नतिर लाग्छन् ? असोज लाग्नासाथ नेपाल र नेपालीको भविश्य यही क्रस रोडमा खडा हुने स्पष्ट देखिएको छ ।

संविधान बनेपछि पनि नेताहरुले फैसला गर्नु नै छ, देशलाई सामाजिक सम्झौताकै आधारमा हाँक्ने या सम्प्रभुको आदेशका आधारमा ? संविधानकै आधारमा देशलाई चलाउने हो भने किन गरिरहने वार्ता ? किन बजाइरहने बारम्बार संविधान संशोधनको बाजा ?

पछि पनि सहमतिकै आधारमा अघि बढ्ने हो भने अहिले किन थारु र मधेसीमाथि अछुतको जस्तो व्यवहार गर्ने ?
आखिर कुन विधिशास्त्रीय मान्यतामा टेकेर बनाउँदैछौं हामी नयाँ संविधान ? बाबुरामको या सिटौलाको ? सेभेग्नीको या अस्टिनको ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment