Comments Add Comment

एमालेका मधेसी, थारु र जनजातिको अर्कै अभियान

३० भदौ, काठमाडौं । संविधान जारी गर्ने पक्षकै अन्य दलका कार्यकर्ता मधेशी मोर्चा र थरुहट आन्दोलनमा पनि सहभागी भइरहेका बेला एमालेका मधेसी, थारु र जनजातिहरु भने सदभाव अभियान चलाउन जुटेका छन् ।

Dang-ma-Sadvab-Rallyपार्टीको निर्देशनबमोजिम तराई मधेसका जिल्लामा सामाजिक सदभाव, शान्ति र संविधानको पक्षमा जनतालाई एकतावद्ध बनाउन सदभाव अभियान चलाइएको एमाले केन्द्रीय सदस्य तथा सभासद बैजनाथ चौधरीले बताए ।

विशेष गरी नवलपरासीदेखि कैलालीका बिभिन्न जिल्लामा थरुहट आन्दोलन चलिरहेका बेला एमालेको लोकतान्त्रिक थारु संघले ती जिल्लामा शान्ति र सद्भावका लागि र्‍यालीहरु आयोजना गरिरहेको छ ।

सोमवार दाङमा आयोजित सदभाव र्‍यालीमा १० हजार भन्दा बढी थारु तथा अन्य जनजाति समुदायको सहभागिता रहेको दाबी एमाले नेतृ शान्ता चौधरीको छ । ‘जनता हिंसात्मक आन्दोलनको पक्षमा छैनन्, उनीहरुले आन्दोलन होइन संविधान चाहेका छन्’ चौधरीले भनिन् ।

लोकतान्त्रिक थारु संघले कैलाली, बर्दिया, बाँकेलगायतका जिल्लामा पनि यस्तै कार्यक्रम गरिरहेको लोकतान्त्रिक थारु संघका मेटमणि चौधरीले बताए । ‘बहुसख्ंयक थारु समुदाय संविधानको स्वागत गर्न आतुर छन्’ उनले भने ।

एमालेको लोकतान्त्रिक मधेसी संगठनले पनि तराई मधेसका जिल्लामा सदभाव र्‍याली आयोजना गर्न खोजे पनि धेरै ठाउँमा कफ्र्यु र निशेधाज्ञाका कारण सम्भव नभएको पोलिटब्यूरो सदस्य तथा सभासद शत्रुघन महतोले बताए ।

महतोले भने- अहिले मधेसका जिल्लाहरुमा एमालेले जनतालाई संविधान किन जारी हुन आवश्यक छ र मधेसका मुद्दा कसरी समेटिँदैछन् भन्ने ढंगले सचेत गराउँदैछ । संविधान जारी भए लगत्तै हामी गाउँमा गएर जनतालाई प्रष्ट पार्छौं ।

एमालेको केन्द्रीय निर्देशनअनुसार बिभिन्न जातीय र अन्य भातृ संगठनले पनि सदभाव र्‍याली निकालिरहेका छन् । संविधानमा आदिवासी जनजाति, मधेसी, थारुलगायत समुदायका हक अधिकार समेटिएकाले जनतालाई यसको जानकारी गराउन लागिएको अनेरास्ववियुकी महासचिव नवीना लामाले बताइन् ।

एमाले सम्बद्ध युवा संघले तराई मधेसका मधेसी तथा थारु कार्यकर्ताहरुको भेला, प्रशिक्षण र सामाजिक सदभावका लागि र्‍यालीहरु गरिरहेको महासचिव राजिव पहारीले बताए ।

shanta-chaudhari-sadvab-ral

झापादेखि कञ्चनपुरसम्मका जिल्लामा २० वटा टोली बनाएर युवा संघले मधेसी कार्यकर्ता परिचालन गरिरहेको उनको दाबी छ । ‘हामी असोज ३ गते साँझ देशभर दिपावलीको तयारी गर्दैछौं’ पहारीले भने ।

संविधान जारी हुनै लाग्दा अरु दलका कार्यकर्ता अन्योलमा रहे पनि एमाले पंक्ति संविधानको पूर्ण स्वामित्व लिन आतुर रहेको एमाले नेता तथा सभासद प्रेम आले मगरले बताए ।

मगरले भने- यो संविधान आदिवासी जनजाति, मधेसी, थारु, महिला, दलित सबैको हितमा छ । एमालेको सिंगो पंक्तिमा कुनै भ्रम छैन । हामी कुनै पनि खाले आन्दोलन वा विरोधमा छैनौं ।

एमालेका लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, लोकतान्त्रिक मधेसी संघ, लोकतान्त्रिक थारु संघ, मुस्लिम इत्तेहाद संगठनहरुका र्‍यालीमा आ आफ्नो पहिरन र सांस्कृति झाँकीसहित जनतालाई सहभागी गराइने एमाले सचिव पृथ्वीसुब्बा गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment