नेपाली बजारमा सामसुङको बहुप्रतिक्षित ग्यालेक्सी नोट फाइभ बिक्री सुरु भएको छ । अत्याधुनिक प्रविधियुक्त नोट फाइभ सोमबारदेखि नेपालमा बिक्री सुरु गरिएको हो ।
कोरियन स्मार्टफोन निर्माता सामसुङले यस अघिका नोटहरु भव्य समारोह मार्फत सार्वजनिक गर्दै आएको थियो । नोट फाइभ भने सुटुक्क बजारमा पठाइएको छ । नेपालमा नोट फाइभको मूल्य ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
पूर्णतया नयाँ डिजाइनमा रहेको नोट फाइभमा अपत्यारिला उपकरणहरु समावेश गरिएको छ । यसमा रहेको सिग्नेचर एस-पेनले उक्त उपकरण चलाउन थप सहजता प्रदान गर्ने छ । नेपालमा नोट फाइभ अहिलेसम्मकै अत्याधुनिक स्मार्टफोन भएको कम्पनीको दाबी छ ।
उच्च प्रविधियुक्त नोट फाइभमा ५.७ इञ्चको क्वार्ड एचडी सुपर एमलोइड डिस्प्ले रहेको छ । यसमा ४ जीबी र्याम रहेको छ । अक्टा कोर (२.१ गीगाहर्ज क्वाड + १.५ गीगाहर्ज क्वाड) प्रोसेसर, ओएस इन्ड्रोइड ५.१ ललिपप अपरेटिङ सिष्टम लगायतका विशेषताले नोट फाइभ उच्च गतिमा चलाउन सकिने छ ।
नोट फाइभ नेपालमा ३२ जीबी मेमोरीमा उपलब्ध छ । ब्ल्याक सेपियर, गोल्ड प्लाटिनियम र सिल्भर टाइटानियम गरी तीन आकर्षक कलरमा उपलब्ध भएको सामसुङ इलेक्ट्रोनिक्स नेपालले जनाएको छ । नोट फाइभ खरिदमा १ जीबी एनसेल थ्रीजी डाटा ६ महिनाका लागि निःशुल्क प्राप्त हुनेछ ।
सामसुङले सन् २०११ मा ग्यालेक्सी नोट सार्वजनिक गरेयता नेपाली उपभोक्तालाई ठूलो डिस्प्ले भएको स्मार्टफोन उपलब्ध गराउन थालेको हो ।
नोट फाइभको बाहिरी भाग मेटल र ग्लास प्रयोग गरेर आकर्षक डिजाइनमा तयारी पारिखएको छ । मोबाइलमा आकर्षक डिजाइन र कलरको संयोजन गरिएको हुँदा निकै आकर्षक देखिन्छ । यो विश्वकै मोबाइल बजारको ‘आइकोनिक डिभाइस’ भएको सामसुङ नेपालका प्रमुख प्रणयरत्न स्थापित बताए ।
उच्च क्षमताको क्यामेरा
नोट फाइभमा १६ मेगापिक्सेल क्यामेरा रहेको छ । यसअघि बजारमा आएको नोट फोरमा पनि १६ मेगापिक्सेल क्यामेरा रहेको थियो । अगाडिको क्यामेरा भने बढाएर ५ मेगापिक्सेल पुर्याएको छ । नोट फोरमा अगाडिको क्यामेरा ३.७ मेगापिक्सेल रहेको थियो ।
पछिल्लो समय विकास भएको सेल्फी कल्चरलाई मध्यनजर गर्दै सामसुङले नोट फाइभमा अगाडिको क्यामेराको क्षमता बढाएको हो । अहिले ग्राहकले मोबाइल खरिद गर्दा सेल्फी क्यामेरामा विशेष ध्यान दिन थालेका छन् ।
नोट फाइभमा अगाडिको क्यामेरामा पनि अटो रियल टाइभ एचडिआर प्रविधि अपनाइएको छ । नोट फोरमा यो सुविधा पछाडिको क्यामेरामा मात्र थियो । यो प्रविधिले भिडियोलाई स्थिर बनाउन मद्दत गर्छ ।
एस-पेन
नोट फाइभमा अर्को आकर्षक बिशेषताका रुपमा एस-पेन रहेको छ । जसले मोबाइलमा रहेका अपत्यारिला उपकरण चलाउन सहजता प्रदान गरिदिने छ । एस-पेनबाट मोबाइलका एपहरु चलाउन र नोट लेख्न सकिन्छ । यसले उत्पादकत्व समेत बढाइदिने दाबी गरिएको छ ।
नोट फाइभको ब्याट्री क्षमता घटाइएको । यसमा ३००० एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ । जबकी नोट फोरमा ३२२० एमएएच क्षमताको ब्याट्री राखिएको छ । तर, चार्ज हुने समय भने नोट फोरको तुलनामा फाइभमा घटेको छ ।
नोट फोरको ब्याट्री ९९ मिनेटमा फुल चार्ज हुन्थ्यो भने फाइभको ब्याट्री ९० मिनेटमा फुल चार्ज हुने कम्पनीले जनाएको छ । नोट फाइभमा वायरलेस -तारबीना) चार्जिङ सुविधा समेत रहेको छ । वायरलेस चार्ज गर्दा मोबाइल १२० मिनेटमा मात्र फुल चार्ज हुने छ ।
प्रतिक्रिया 4