१८ चैत, काठमाडौं । वैज्ञानिकहरूले प्रकाशको साटो ध्वनिको कम्पनबाट चल्ने अत्यन्तै सटिक ‘फोनोन लेजर’को विकास गरेर नयाँ इतिहास रचेका छन्।
युनिभर्सिटी अफ रोचेस्टर र रोचेस्टर इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताहरूले विकास गरेको यो प्रविधिले क्वान्टम भौतिकशास्त्र, गुरुत्वाकर्षणको अध्ययन र भविष्यको ‘क्वान्टम कम्पास’ निर्माणमा क्रान्ति ल्याउने सम्भावना बढाएको छ ।
‘नेचर कम्युनिकेसन’ जर्नलमा प्रकाशित शोधका अनुसार, प्रोफेसर निक भामिभाकास र उनको टोली फोनोन अर्थात् ध्वनिका व्यक्तिगत कणहरूलाई लेजरको रूपमा नियन्त्रण गर्न सफल भएको छ।
सन् १९६० को दशकमा आविष्कार भएको साधारण लेजरले फोटोन (प्रकाशका कण) नियन्त्रण गर्छ भने यो नयाँ लेजरले पदार्थको मेकानिकल चाल वा कम्पनलाई नियन्त्रण गर्दछ। यसअघि यस्तो लेजरमा ‘नोइज’का कारण सटिक मापन गर्न कठिन हुने गर्थ्यो।
तर, वैज्ञानिकहरू प्रकाशको प्रयोग गरी ती कम्पनहरूलाई खुम्च्याएर थर्मल नोइजलाई निकै कम गर्न सफल भएका छन्।
यो सफलताले गर्दा अब गुरुत्वाकर्षण र प्रवेगलाई हालसम्मकै सबैभन्दा सटिक रूपमा मापन गर्न सकिने भएको छ। यसको सबैभन्दा ठूलो प्रयोग ‘स्याटेलाइट’बिना चल्ने नेभिगेसन प्रणालीमा हुनेछ, जसलाई कसैले पनि अवरोध गर्न सक्ने छैन।
प्रतिक्रिया 4