१५ चैत, काठमाडौं । चिनियाँ अनुसन्धानकर्ताहरूले सिलिकनमा आधारित क्वान्टम प्रोसेसरमा पहिलो पटक पूर्ण ‘लोजिकल अपरेसन’ सफलतापूर्वक सम्पन्न गरेर कम्प्युटिङको दुनियाँमा नयाँ इतिहास रचेका छन्।
‘सेन्जेन इन्टरनेशनल क्वान्टम एकेडेमी’ को टोलीले विकास गरेको यो चिपले क्वान्टम गणनाका क्रममा हुने त्रुटिहरूलाई आफैँ पत्ता लगाउने र त्यसलाई सच्याउने क्षमता राख्दछ। यसअघि यस्तो सफलता ‘सुपरकन्डक्टिङ सर्किट’ मा मात्र देखिएको भए पनि आधुनिक इलेक्ट्रोनिक्समा प्रयोग हुने ‘सिलिकन’ मा यो पहिलो पटक सम्भव भएको हो।
क्वान्टम प्रणालीहरू बाह्य ‘नोइज’ वा अवरोधप्रति निकै संवेदनशील हुने भएकाले गणनामा त्रुटि हुने सम्भावना बढी हुन्छ। यो समस्या समाधान गर्न वैज्ञानिकहरूले फस्फोरसका परमाणुहरूलाई सिलिकनमा निकै सूक्ष्म ढंगले राखेर ‘लोजिकल क्युबिट्स’ तयार गरेका छन्।
यस प्रविधिको परीक्षण गर्न टोलीले पानीको अणुको ऊर्जा अवस्था गणना गर्ने जटिल एल्गोरिदम चलाएको थियो, जसको नतिजा सैद्धान्तिक मानको निकैनजिक पुगेको देखिन्छ।
सिलिकन चिपहरूलाई अहिलेकै सेमिकन्डक्टर कारखानाहरूमा ठूलो मात्रामा उत्पादन गर्न सकिने हुनाले, यो सफलताले भविष्यमा सस्तो र शक्तिशाली क्वान्टम कम्प्युटर निर्माण गर्ने बाटो खोल्ने विश्वास गरिएको छ।
प्रतिक्रिया 4