+
+
Shares

संविधान बनेको भोलिपल्ट झापादेखि कैलालीसम्म के भयो ?

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ४ गते १८:१२

Tudikhel Sava (5)

४ असोज, काठमाडौं । नयाँ संविधान जारी भएको समर्थन र विरोधमा काठमाडौं उपत्यकासहित देशभर प्रदर्शन भएका छन् । मधेसी मोर्चालगायतका असन्तुष्ट दलहरुले संविधानका प्रति जलाएका छन् भने प्रमुख तीन दलले अबीरजात्रा र विजयसभा गरेका छन् ।

काठमाडौंको सैनिकमञ्च टुँडिखेलमा संविधानको स्वागतमा सभा आयोजना गरियो । त्यसअघि बिभिन्न स्थानबाट निकालिएको स्वागत र्‍यालीमा दूर्गाको स्वरुपमा कलाकारहरु पनि सहभागी भए ।

तस्वीर सौजन्य : अर्जुन पाख्रिन
तस्वीर सौजन्य : अर्जुन पाख्रिन

स्वागत सभालाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्वोधन गरेका थिए ।

भोटाहिटीमा लाठीचार्ज

samedhan jalaudai (5)

स्वागत समारोह सकिए लगतै करिब तीन-चार सय मिटरको दुरीमा भने असन्तुष्ट दलहरुले नयाँ संविधानको प्रति जलाए । मधेसी र आदिवासी जनजाति आवद्ध संघीय गठबन्धन तथा वैद्य माओवादी नेतृत्वको ३० दलीयमोर्चाले संयुक्तरुपमा नयाँ संविधानको प्रति जलाएका हुन् ।

संविधान जलाउने कार्यक्रममा प्रहरीले लाठीचार्ज गरेको थियो । प्रहरीले हस्तक्षेप गरेपछि आन्दोलनकारी तितर-वितर भएका थिए ।

बर्दियामा अबीरजात्रा

नयाँ संविधान जारी भएको खुसियालीमा बर्दियामा अबीरजात्रा निकालिएको छ । स्थानीयले अबीरजात्रा गर्दै बाजागाजासहित र्‍याली निकाले । र्‍यालीमा बिभिन्न राजनीतिक दलका नेता-कार्यकर्ता र सर्बसाधारण सहभागी थिए ।

सदरमुकाम गुलरियासहित, भुरीगाउँ, ताराताल, बाँसगढी, सानोश्री, मगरागढी, शितलाबजार लगायतका क्षेत्रमा पनि नयाँ संविधानको स्वागत गरिएको छ ।

गुल्मीमा विजयसभा

गुल्मीमा बिभिन्न राजनीतिक दलहरुको संयुक्त आयोजनामा बिजयसभा आयोजना गरिएको छ । नयाँ संविधान जारी भएको खुशीयालीमा गुल्मीमा सोमबार पञ्चेबाजासहितको झाँकी निकालेर भव्य स्वागत गरिएको छ ।

तस्वीर : अनिल खत्री
तस्वीर : अनिल खत्री

र्‍यालीमा नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादी, राप्रपा, राप्रपा नेपाल, परिवार दल, अखण्ड नेपालका नेता तथा कार्यकर्ता सहभागी थिए । उद्योगी, व्यापारी, बुद्धिजिवी, पेशाकर्मी, महिला समूह, बिभिन्न कार्यालयका प्रमुखहरु, विद्यार्थी, सुरक्षाकर्मीलगायतको उलेख्य सहभागिता थियो ।

दलहरुले आ-आफना पार्टी कार्यालयबाट निकालेको र्‍याली बजारका बिभिन्न स्थानबाट संयुक्तरुपमा र्‍याली बजार परिक्रमण गरेका थिए । र्‍यालीमा सहभागीले ‘हिमाल पहाड तराई, कोही छैन पराई, दलीय एकता जिन्दावाद लगायतका नारा लगाउँदै अबीरजात्रा गरेर तम्घास बजार परिक्रमा गरेका थिए ।

बुटवलमा संयुक्त स्वागत सभा

नयाँ संविधानको स्वागतार्थ सोमबार रुपन्देहीको बुटवलमा बिभिन्न दलहरुले संयुक्त सभा आयोजना गरेका छन् । संविधान निर्माणको खुशियालीमा बुटवलको ट्राफिकचोकमा संयुक्त सभा भएको हो ।

तस्वीरः कपिल ज्ञवाली/अनलाइनखबर
तस्वीरः कपिल ज्ञवाली/अनलाइनखबर

सभाअघि प्रमुख दलहरुले केहिबेर छुट्टा-छुट्टै शक्ति प्रदर्शन गरेका थिए । त्यसपछि उनीहरु ट्राफिकचोकमा संयुक्त सभामा सहभागी भएका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै एमालेका उपमहासचिव विष्णु पौडेल, नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा सभासद अब्दुल रज्जाक, एमाओवादीका जिल्ला अध्यक्ष बामदेव क्षेत्रीलगायतले नयाँ संविधान कार्यान्वयनमा जोड दिँदै असन्तुष्ट दलहरुलाई सहमतिमा आउन आह्वान गरे ।

युवासंघ रुपन्देहीको आयोजनामा सोमबारै बुटवलदेखि भैरहवासम्म मोटरसाइकल र्‍याली निकालिएको छ ।

झापामा हवाइ फायर

सोमबार झापामा संविधान जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गरेको छ । झापाको विर्तामोडस्थित मुक्तिचोकमा आन्दोलनकारीले संविधान जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि स्थिति तनावग्रस्त भएको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायरसमेत गरेको छ । केही प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलालीमा जल्यो संविधान

कैलालीमा थरुहट पक्षधरले नयाँ संविधान जलाएका छन् । उनीहरुले नयाँ संविधानमा थारुहरुका हक अधिकार सुनिश्चित नभएको भन्दै आइतबार जारी नयाँ संविधान जलाएका हुन् ।

संविधानको विरोधमा कैलालीको सुखड, मसुरिया, राजीपुर, नुक्लीपुर लगायतका ठाउँमा बिरोध र्‍याली र कोणसभा आयोजना गरिएको थियो ।

हातमा कालोझण्डा बोकेर आन्दोलनकारीहरुले नयाँ संबिधान चाहिँदैन, हाम्रो माग पूरा गर, तीन नेताको रबैया मान्दैनौं लगायतका नारा लगाएका थिए । बिरोध कार्यक्रमलाई सम्वोधन गर्दै थारु नेताहरुले माग पूरा नभए झन् कडा आन्दोलन गर्ने चेतावनी दिएको पत्रकार रमेश भट्टराईले जानकारी दिए ।

इटहरीमा हिन्दुवादीको विरोध

तस्वीरः तेज वन
तस्वीरः तेज वन

नेपाललाई बैद्धिक सनातन हिन्दु राष्ट्रका पक्षधरले सुनसरीको इटहरीमा विरोध प्रदर्शन गरेका छन् । नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग नयाँ संविधानमा सम्वोधन नभएको भन्दै श्रीनिवासाचार्यको नेतृत्वमा हिन्दुवादीहरुले आँखामा पट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।

नयाँ संविधानको भाग १ धारा ४ अन्तरगत उपधारा १ मा उल्लेखित ‘धर्म निरपेक्षता’ शब्द हटाएर ‘सनातन हिन्दु राष्ट्र’ लेखिनुपर्ने उनीहरुको माग थियो ।

विराटनगरमा गोली चल्यो

rinku kesari

यसैगरी विराटनगरको महाविर चोकमा बन्दकर्ताहरुले टायरबाली प्रदर्शन गरिरहेका बेला प्रहरीले गोली चलाउँदा स्थानीय तीनजना घाइते भएका छन् ।

विराटनगर ७ स्थित महाविर चोकमा तनावपूर्ण स्थिति नियन्त्रणमा लिन भन्दै प्रहरीले हवाइ फायर गर्दा घरको छतमा बसीरहेका एकै परिवारका दुई दाजु-बहिनीसहित तीनजना घाइते भएका हुन् ।

कलैयामा प्रहरी र प्रदर्शनकारीबीच झडप, दर्जनौं घाइते

बाराको कलैयामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि स्थिति तनावग्रस्त भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?