Comments Add Comment

बाबुरामको अर्थपूर्ण मधेस भ्रमण

-रामरिझन यादव

मधेसमा बाबुरामलाई अपमानित गरियो, लखेटियो, मञ्च नै जलाइयो र कार्यक्रम हुन दिइएन भन्ने समाचारहरुलाई खुबै प्रमुखता दिइयो । थोरैमात्रले अहिलेको विषम तथा प्रतिकूल परिस्थितिमा उहाँको महान मधेस भ्रमणको औचित्य तथा महत्वमाथि सन्तुलित टिप्पणी गरे । थोरैले मात्र सही र तथ्यगत कुरा प्रसारित गरे ।

RamRijhanयति हुँदाहुँदै पनि बाबुरामको इच्छाशक्तिमा कुनै कमी देखिएन । र, शायद त्यसैले होला, उहाँले आज पनि मधेस भ्रमणको निरन्तरतालाई कायम राख्नुभएको छ । अस्ति भरखरै पश्चिमतिर लाग्नु त्यसको ज्वलन्त दाहरण हो ।

तर, उदेक लाग्दो कुरा के छ भने आˆनो गृहजिल्ला गोरखा पुग्दा नपुग्दै कैलाली जिल्ला प्रशासनले उहाँको टीकापुर भ्रमणमा रोक लगाएको छ । आखिर बाबुरामबाट सरकार किन डराएको होला ? के बाबुरामले त्यहाँ आगोमा घिउ थप्न जाँदै थिए कि आगोमा पानी हाल्न ?

थारु, मधेसी र पहाडीवीचको बढ्दो ध्रुवीकरणलाई न्यूनीकरण गर्न मधेस भ्रमणको हिम्मत जुटाएका बाबुरामलाई अहिले टीकापुर जानबाट रोक्ने जुन प्रयास भएको छ, त्यसको बिउ जनकपुरमा नै छोड्ने दुष्प्रयास सरकारले गरेको थियो ।

स्थानीय प्रशासनले बाबुरामलाई झण्डै विमानस्थल पुर्‍याएका थिए । तर, आयोजकको दृढता र जुझारुपनको अगाडि प्रशासनको केही चलेन । बाबुरामले हजारौं हजार मिथिलावासीलाई सम्वोधन गर्न भ्याए । मन्त्रमुग्ध पारे ।

यसमा कैलाली प्रशासनले जनकपुरको निरन्तरतालाई पुनरावृत गर्न खोजेको देखिन्छ । यसमा वर्तमान सरकारको निहीत स्वार्थ प्रष्ट रुपमा लुकेको दृष्टिगोचर भएको छ ।

दस वर्षको जनयुद्ध तथा तत् पश्चात झण्डै एक दशकको शान्ति प्रक्रियामा बाबुरामले खेलेको भूमिका अब प्रत्येक नेपालीको मानसपटलमा स्थायी रुप धारण गरिसकेको छ ।

भीषण जनयुद्धलाई संविधानसभामार्फत सुरक्षित अवतरणको प्रश्न होस् वा शान्ति प्रक्रियाको सबैभन्दा जटिल मुद्दा जनमुक्ति सेनाको समायोजन, यसमा बाबुरामले खेलेको भूमिकालाई नजरअन्दाज गर्न सकिँदैन ।

कतिसम्म भने पहिलो संविधानसभा असफल भएपछि दोस्रोमा पार्टीको हैसियत नराम्ररी खस्के पनि संविधान निर्माणको प्रक्रियामा अत्यन्तै जिम्मेवारीबोधका साथ पदीय कार्यभार सम्हालेका बाबुरामले आˆनो तर्फबाट थोरैमात्र पनि गुनासो पोख्न दिने ठाउँ छाडेका छैनन् ।

अखण्ड सुदुर पश्चिम पक्षधरवादीहरुको नाजायज दबावले कुल्चिन पुगेका थारु बाहुल्यताको पक्षमा शेरबहादुरसँग भनाभान हुनुदेखि आˆनो तत्कालीन पार्टीको दीपावली मनाउने निर्णयको विरुद्धमा उभिने बाबुराम तराई मधेसमा एकमात्र विश्वासिलो प्रतिनिधि पहाडी पात्र हुन पुगेका छन् ।

हो पनि, एउटै मुलुकमा एकातिर उज्यालो र अर्कोतर्फ अँध्यारो कसरी सम्भव हुन्छ भन्नेे बौद्धिक मनले बाबुरामलाई सही निस्कर्षमा पुर्‍याएको देखिन्छ ।

एकीकृत नेकपा माओवादीका रामचन्द्र झा, प्रभु साह, महेन्द्र पासवान, रामरिझन यादव, रामकुमार शर्मा, घनश्याम यादव, उपेन्द्र साह र चिनक कुर्मीजस्ता केन्द्रीय नेताहरुले पार्टीको अनाहक र अपत्यारिलो निर्णयबाट आफूहरुको मन टुटेकाले नेतृत्व गर्न अनुरोध गरेपछि बाबुराम अवश्य हौसिएको हुनुपर्छ । पार्टीभित्र सिंगो मधेसका नेताहरुको एउटा ठूलो पंक्तिले साथ दिने वचनवद्धता प्रकट गरिरहँदा बाबुरामले मौकामा चौका हान्न पछि परेनन् । पार्टीभित्रको यो पराकम्पनले कामरेड प्रचण्डलाई धोबीघाटको धक्का महसुस नगराए पनि मातृका यादवको बहिर्गमनकालको अवस्था अवश्य सिर्जना गरेको हुनुपर्छ ।

जीवनका ३५ वर्ष कम्युनिष्ट आन्दोलनमा बिताएका क. रामचन्द्र झाको शब्दमा पार्टीको दीपावली गरेर विजयोत्सव मनाउने निर्णयले आफ्नो राजनीतिक जीवनलाई हत्या मात्र होइन, नरसंहार गर्‍यो । यस्तो अवस्थामा कुन मुखले मधेसी जनताको माझमा राजनीति गर्ने भन्ने प्रश्न हाम्र सामु खडा गर्‍यो । तर, बाबुरामको दृढ साहस र बुद्धिमत्ताले आफूहरुलाई संरक्षण गर्ने काम गरेको छ ।

वास्तवमा अहिले संविधानमा हस्ताक्षर गरेका मधेसी नेताहरुलाई नै मधेस टेक्ने साहस छैन भने पहाडी समुदायको कुनै नेता पुग्नु धेरै टाढाको कुरा हो । बाबुरामको जनकपुर आगमन ऐतिहासिक घटना हो । त्यसैले दीपावली र विजयोत्सवले मुलुकलाई यस्तो ठाउँमा पुर्‍याएको छ, जहाँ नेपाल आजसम्म कहिल्यै पुगेको थिएन । यसप्रकारको दुई समुदाय वीचको ध्रुवीकरणले अझ केही महिना निरन्तरता पाउने हो भने कहिल्यै नसोचेको घटना नेपालमा हुन सक्ने सम्भावना छ ।

सबै राजनीतिक नेताहरु एकैखाले हँुदैनन् । केही अध्ययनशील हुन्छन् त धेरैले किताबको नाकमुख नदेखेको वर्षौं भइसकेको हुन्छ । अधिकांशले एक्कादुक्का किताब पढेर र समाचार सुनेर नै सबैथोक जाने बुझेको रवाफ फलाक्छन् । यस्ता धाक देखाउनेहरु नै चलनचल्तीमा रहेका हुन्छन् आजभोलि हाम्रो समाजमा । उनीहरु नै सधैं ठूलै पद ओगटेर बसेका हुन्छन् ।

केही पढेकाहरुमा रहेका अभिजातीय संस्कारले उनीहरुलाई जनतासम्म पुग्नै दिँदैनन् । त्यसैले यस प्रकारका नेताहरु कहिल्यै दुरद्रष्टा बन्न सकेको देखिन्न । तर, दुखको कुरा के छ भने यस्ताखालेहरुले नै बाबुरामको दूरदृष्टिलाई मजाकको विषयवस्तु बनाउँछन् ।

मधेसमा पहाडी र मधेसीबीचको बढ्दो ध्रुवीकरणले चिन्तित बनाएको बाबुरामलाई आज राजीनामासम्म पुर्‍याएको तथ्य जगजाहेर छ । होइन भने अहिले नै पार्टीबाट राजीनामा दिने मन बाबुरामले बनाइसकेका थिएनन् । यो कुरा मधेसी समुदायले पनि आत्मसात गरेको हुनुपर्छ ।

जनयुद्धकालमा महिनौंसम्म पार्टीले घेराबन्दीमा राखेको कारण पनि उनको दूरदृष्टि नै हो । अन्ततोगत्वा पार्टीले उनकै एजेण्डा संविधानसभा अवलम्वन गर्‍यो । लोकतान्त्रिक गणतन्त्रको ‘लो’ सम्म उचारण गर्न नचाहनेहरु अहिले सबैभन्दा ठूलो लोकतन्त्रवादी भएका छन् । त्यसैले बाबुरामको राजीनामा अहिले तिनीहरुलाई मन पर्दैन र बाबुरामले गल्ती गर्नु भयो भन्ने ढोल पिट्छन् । उनीहरु कतिसम्म भने मधेस भ्रमणमा रोक लगाउने मात्र होइन, कार्यक्रम असफल पार्न रतिभर लाज मान्दैनन् ।

तिनीहरुले मधेस आन्दोलनलाई पनि नजायज भन्छन् । औचित्यहीन बताउँछन् र मधेसी जनताका सबै माग पूरा भैसकेको डिङ हाँक्छन् । अहिलेको आन्दोलन भारतले गराएको हो रे ! यस्ता कुराहरुले मधेस र मधेसीको जायज मागप्रति सहानुभूति देखाउनेहरुलाई समेत भारतीय दलालको संज्ञा दिन बाँकी रख्दैनन् । त्यसैले यहाँ के प्रश्न उठ्छ भने भारतले सिर्जना गरेको हालको राष्ट्रिय संकटको प्रमुख कारण मधेसी समुदाय हो भने नेपालको भविश्य खतरामा छ भन्ने कुरा पनि बुझ्नु अहिलेको टड्कारो आवश्यकता हो । त्यसकारण एक होइन, दुई होइन, तीन होइन अहिले थुप्रै बाबुरामहरुको आवश्यकता छ ।

आमा बुबावाट छोराछोरी अलग भएपछि कति दःख हुँदो हो । त्यस्तै आफैले बनाएको पार्टी छोडदा बाबुरामलाई कतिको पीडा परेको होला ? अनुभूत गर्ने विषय हो । यो व्यथालाई सबैभन्दा बढी क. प्रचण्डले नै महसुस गरेको हुनुपर्छ । तर, मद्यपानभन्दा राजनीति नसाको अवधि लामो हँदोरहेछ भन्ने कुरा थाहा नपाएर नै होला, बबुरो बाबुरामले प्राणभन्दा प्यारो पार्टी त्यान गर्नुपर्‍यो । त्यसमा पनि साधारण सदस्यताबाट समेत राजीनामा दिनुपर्ने अवस्थाको सिर्जना गरियो । किनकि त्योबाहेक कुनै आधिकारिक नासो बाबुरामसँग रहन दिइएको थिएन ।

वरिष्ठ नेता भनेको मानार्थ पद मात्र हो । यस्तो अवस्थामा मधेस थरुहट आन्दोलनको उत्कर्षमा उहाँको राजिनामाले सिंगो मुलुकलाई तरंगित पारेको छ । एउटा संजीवनी बुटीको काम गरेको छ ।

तराई मधेसमा आन्दोलनरत पार्टीहरुमा इमान्दार, कर्तव्यनिष्ठ, योग्य र क्षमतावान नेतृत्वको अभाव रहेका बेला बाबुरामलाई साथ दिने वाचा गरेका वामपन्थी नेताहरुले यो ठाउँलाई पूर्ति गर्नसक्ने उपयुक्त पात्रहरु हुन् भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ । त्यसमा पनि बाबुराम जस्तो राष्ट्रिय तथा अन्तरराष्ट्रिय ख्यातिप्राप्त व्यक्तिको नेतृत्वमा राजनीतिक दिशाबोधले मुलुकलाई नै नयाँ स्वरुप धारण गर्न पक्कै पनि अहम भूमिका निर्वाह गर्ला भन्ने कुरामा दुई मत हुन सक्दैन । त्यसमा पनि यसको शुभारम्भ बाबुरामको मधेस भ्रमणवाट हुने भएको छ ।

यस दृष्टिकोणले बाबुरामको मधेस भ्रमणले आउने दिनमा सिंगो मुलुकलाई नयाँ सोच, नयाँ दृष्टिकोण र नयाँ विचारलाई संश्लेषण गरेर नयाँ शक्तिको उदयले मूर्त रुप धारण गर्ने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment