Comments Add Comment

काठमाडौंका भारतीय भन्छन् -‘मोदीजीले गाँस खोसिदिनुभो’

anish-rahaman

  • अनिस रहमान

१९ असोज, काठमाडौं । भारत सुगौली घर भएका मोहन साह काठमाडौंमा ३४ वर्षदेखि  साइकलमा फलफूल बेच्ने काम गरिरहेका छन् । यही पेशाले उनले आफ्नो घर परिवारको गुजारा चलाएका छन् । तर, भारतले नेपालमा नाकाबन्दी लगाएपछि उनको व्यापार सुकेको छ ।

भारतबाट आउन रोकिएपछि बजारमा भनेजति र राम्रा फलफूल पाइन छाडेका छन् । उनले बल्ल-बल्ल भेट्ने फलफूल पनि महंगो भएका कारण किन्ने ग्राहक खासै छैनन् । साह ३४ वर्षमै पहिलोपटक आफू यस्तो समस्यामा परेको बताउँछन् ।

साहलाई आफ्नै भारत सरकारले नेपालमा लगाएको नाकाबन्दी पटक्कै चित्त बुझेको छैन । ‘भारतमा त हामीले काम नै पाएनौं, छिमेकी देश नेपाल आएर केही गरेर परिवारको गुजारा चलाइरहेका बेला अब मोदीजीले हाम्रो गुजारा खोस्दिनुभयो,’ उनले आक्रोस पोख्दै भने ‘नेपालमा नाकाबन्दी लगाउँदा नेपालीले मात्रै दुख पाउँछन् भन्ठान्नेहरु मूर्ख हुन् । हामी सामान्य काम गरेर खान नेपाल आएकालाई यसले बढी मार परेको छ ।’

भारतीय नागरिक साहले ग्यास नभएपछि धेरै दिनदेखि होटलमा खाना खाएर बसेको बताए । उनले भारत सरकारको विरोध गर्दै भने- ‘छिमेकीसँग त राम्रो सम्बन्ध पो बनाउने हो त । यस्तो झगडा गरेर मोदीजीलाई के फाईदा हुन्छ ?

भारतबाट नेपालमा केही गर्छु भनेर आएका धेरैले अहिले मोदीको गलत नीतिका कारण  सास्ती पाएको मोहनले बताए ।

यस्तै भारतको दरभंगा घर भई काठमाडौंको ठमेलमा टिर्सटमा बुट्टा भर्ने व्यवसाय गर्ने अनिस रहमानलाई आजभोलि आफू भारतीय भनेर चिनाउन पनि अप्ठेरो लाग्न थालेको छ ।

मोहन साह
मोहन साह

भारतीय नाकाबन्दीले ब्यापार चौपट भएको व्यथा अरुलाई सुनाउन पनि उनलाई असहज भएको छ । आफ्नै मुलुकले लगाएको नाकाबन्दीको मार आफैँले खेपिरहेका अनिसलाई अरुले भारतको आलोचना गरेको सुन्दा नमीठो लाग्छ ।

‘आफ्नै ब्यापार चौपट भएको छ, भूकम्पपछि विस्तारै सपि्रएको ब्यापार भारतले नाकाबन्दी लगाएछि सुकेको छ,’ उनले अनलाइनखबरसँग भने, ‘बोर्डरबाट सामान नछुट्दा पसलका लागि चाहिने माल पनि आएको छैन, ब्यापार हुनै छाडेको छ । कोठामा ग्यास सकिन लागिसक्यो, सबै कुरामा तनाव छ । यसको कारण आफ्नै देश भारत हो भन्दा नमज्जा लाग्छ ।’

रहमानले छिमेकी मुलुकसँगको सम्बन्ध यसरी बिगार्न नहुने बताए । ‘मालसामन रोकेर कसैको हित हुँदैन । यहाँ को नेपाली, को भारतीय सबै मिलेर बसेका छौं । त्यसैले सामान रोक्दा सबैलाई दुख हुन्छ,’ उनले दुखेसो पोखे, ‘मेरो एउटा साथीको त ग्यास सकिएर होटलमा खाना खाएको कति दिन भइसक्यो, घर जाउँ भने पनि बोर्डर सबै सिल छ । हामीलाई भारत सरकारले नेपालमै आएर दुख दिएजस्तै भयो ।’
उनले बुट्टा भर्न बजारमा धागोसमेत नपाएको गुनासो गरे ।

भारतीय नागरिकहरु मोहन र अनिस प्रतिनिधि पात्र मात्रै हुन् । भारतबाट नेपालमा आएर गुजाराका लागि विभिन्न काम गर्नेहरु अहिले भारतीय नाकाबन्दीका कारण नै प्रभावित छन् ।

काठमाडौंमा अहिले ग्यास सकिएर धेरैको चुलो नबल्दा त्यसमा भारतीयहरु पनि अछुतो छैनन् । सडक किनारामा पानी-पुरी व्यवसाय सञ्चालन गर्नेहरु पुरी पकाउने ग्यास नभएर हैरान छन् ।

चटपटे बनाउनेहरु आलुसम्म उसिन्न नपाएको सुनाउँछन् । यस्तै सडकमा विभिन्न व्यवसाय गर्ने भारतीय एवं नेपाली नागरिकहरु भारतबाट समान नआएपछि कामविहीन जस्तै भएका छन् ।

नेपाल र भारतवीचको सम्बन्धमा खटपट आए पनि जनस्तरमा दुबै देशमा नागरिकवीच राम्रो सम्बन्ध छ । काठमाडौंमा रहेका भारतीय नागरिकहरु पनि नेपालीसरह दुख भोगिरहेका छन् र उनीहरु पनि नेपाली नागरिकले जस्तै भारतीय नाकाबन्दीको आलोचना गरिरहेका छन् ।  नेपाली जनता र भारतीय जनतामा राम्रै सदभाव र एकता देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment