+
+
Shares

मधेस र थरुहट आन्दोलनकारीले संविधान स्वीकार गरे !

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २४ गते १७:१४
फाइल तस्वीर
फाइल तस्वीर

२४ असोज, काठमाडौं । नेपालको संविधान कार्यान्वयनको पहिलो चरणमै भाग लिएर मधेसवादी एवं थरुहट आन्दोलनकारीहरुले संविधानमा आफ्नो स्वामित्व ग्रहण गरेका छन् ।

असोज ३ गते साँझ संविधान जारी भए लगत्तै त्यसलाई अस्वीकार गर्दै तराई मधेसमा ब्ल्याक आउट गरेको मधेसवादी दल र थरुहट पार्टीहरुले अहिलेसम्म संविधानलाई अस्वीकार गरेका थिए । आइतबार व्यवस्थापिका संसदमा भाग लिएर मतदान गरेपछि उनीहरु संविधानको प्रक्रियाभित्र प्रवेश गरेका हुन् ।

संविधान पुनर्लेखनको माग गर्दै यो हाम्रो संविधान होइन भनेका मधेसवादी दलहरुले आइतवार नयाँ संविधानबमोजिम प्रधानमन्त्री निर्वाचन प्रक्रियामा भाग लिएपछि उनीहरुले संविधान स्वीकार गरेको स्वतःसिद्ध भएको छ ।

सभामुखको प्रतिक्रिया : सिंगो देशले संविधान स्वीकार गर्‍यो

प्रधानमन्त्रीको निर्वाचनपछि सभामुख सुवासचन्द्र नेम्वाङले अनलाइनखबरसँग कुरा गर्दै सिंगो देशले संविधानलाई स्वीकृति प्रदान गरेको प्रतिक्रिया दिएका छन् ।

‘आजको दिन संविधान पारित भएर जारी भएयताको ऐतिहासिक दिन हो रह्यो,’ नेम्वाङले अनलाइनखबरसँग भने, ‘सबै राजनीतिक दलहरु प्रधानमन्त्रीको निर्वाचन प्रक्रियामा सहभागी भएर आज सिंगो देशले संविधानलाई स्वीकृति प्रदान गरेको छ, आजको दिन सबैको जित भएको छ ।’Subash-Nembang

संविधान जारी हुँदा यसलाई मान्दैनौं भन्दै संविधान जलाएर आन्दोलनमा लागेका मधेसवादी दलहरु पक्ष वा विपक्ष जता भए पनि मतदान प्रक्रियामा आएपछि सभाध्यक्ष नेम्वाङले प्रशन्नता व्यक्त गर्दै यसलाई सबैको जीतको संज्ञा दिएका छन् ।

यसैवीच राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि मधेसवादी दलहरुले संविधानलाई स्वीकार गर्दै मदतान प्रक्रियामा सहभागी हुने स्वागतयोग्य कदम भएको सार्वजनिक प्रतिक्रिया दिएका छन् ।

सुशील कोइरालाको सकारात्मक योगदान

मधेसवादी दलहरुलाई व्यवस्थापिका संसदमा ल्याउने कार्यमा कांग्रेस सभापति सुशील कोइरालाले योगदान गरेका छन् । कोइरालाले उमेद्वारी नदिएको ओली सर्वसम्मत प्रधानमन्त्री बन्ने अवस्था भएको भए मधेसवादी दलहरु संसदमा नआउन सक्थे । तर, ओलीको विपक्षमा भोट हाल्ने बाहना पाएपछि मधेसी दलहरु संसदमा आएका छन् ।

संसदमा मधेसी दलहरु प्रवेश गरेकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केपी ओलीलाई टेलिफोन गरेर नयाँ प्रधानमन्त्रीका लागि बधाइ दिइसकेका छन् ।

मधेसवादी नेता के भन्छन् ?

तपाईहरुले अब संविधान स्वीकार गर्नुभयो होइन ? अनलाइनखबरकर्मीको प्रश्नमा तराई मधेस लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लले भने-हामीले केही अंश स्वीकार गरेका हौं, केही गरेका छैनौं ।’

‘मधेसवादी दलहरु संविधान स्वीकार गरेर मतदानमा आउनु र गच्छदारजीले ओलीलाई मत दिनु राम्रो संकेत हो’ कांग्रेस सांसद गगन थापाले भने ‘अब संविधानमा सबैको स्वामित्व स्थापित भयो ।’

रोचक पक्ष त के छ भने मधेसमा विभिन्न मोर्चा बनाएर आन्दोलन गरिरहेका सबै मधेसवादी दलले संविधानको धारा २९८ अनुसार प्रधानमन्त्री निर्वाचनमा भाग लिएर संविधान स्वीकार गरेका छन् ।

अझ तत्कालीन संविधानसभाबाट राजीनामा दिएर हिँडेको सद्भावना पार्टीका पाँचैजना सभासद मतदानमा सहभागी भए । जबकि त्यतिबेलै दलका नेता लक्ष्मणलाल कर्णले आफूहरुको राजीनामा संसदबाट पनि स्वतः भएको अनलाइनखबरलाई बताएका थिए ।

अरु मधेसवादी दलभन्दा क्रान्तिकारी देखिन सदभावना पार्टीले गरेको राजिनामाको नाटक पनि कलाविहीन रुपमा पटाक्षेप भएको छ । ‘त्यो राजीनामा नाटकमात्र थियो भन्ने पुष्टि भएको’ भन्दै एमाले नेता सत्रुघन महतोले भने ‘बाबुराम भट्टराईको राजीनामा स्वीकृत हुँदा उनीहरुको किन स्वीकृत भएन भन्ने कुरा प्रष्टै छ ।’

मधेस आन्दोलन दुई शिविरमा विभाजित

समग्रमा संविधान स्वीकार गरेको मधेसी मोर्चा र बिजय गच्छदारको फोरम लोकतान्त्रिकले प्रष्ट पारिसकेका छन् । आन्दोलनकारी मधेसी र थरुहट पार्टीहरु प्रधानमन्त्र निर्वाचनमा कांग्रेस र एमालेको पक्षमा बिभाजित भएका छन् ।

bijay-gachhadarअब मधेस र थरुहट आन्दोलनको स्वामित्व पनि स्वतः एमाले एमाओवादी गठनबन्धन र कांग्रेसमा समेत पुगेको छ । गच्छदारसँग ओली र प्रचण्डले आठबुँदे सम्झौता नै गरेर मधेस तथा थरुहट आन्दोलन समाधानको जिम्मा लिइसकेको अवस्था छ ।

नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले एमाओवादी र बिजय गच्छदारँग अलग-अलग १४ बुँदे तथा ८ बुँदे सहमति गरेर मधेस तथा थरुहट आन्दोलनको समाधान राजनीतिक ढंगले समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

संविधान संशोधनका लागि संसदमा दर्ता भएको संशोधन प्रस्ताव अघि बढाउदै सीमांकनलगायतका मधेस तथा थरुहटले उठाएका कतिपय विषयमा सर्वस्वीकार्य समाधान खोज्ने दिशामा अघि मुुलुक अघि बढ्नेछ ।

पूरै संविधान अस्वीकार गरेर हिँडेका दलहरु संविधान कार्यन्वयनमा सहभागी भइसकेको अवस्थामा अब एक कदम सकारात्मक पाइला अघि बढेको प्रतिक्रिया नेताहरुले दिएका छन् ।

यद्यपी मधेस आन्दोलन गरिरहेका मधेसी मोर्चाले भने आन्दोलन जारी नै रहेको प्रष्ट पारेका छन् । आन्दोलन चलिरहेका बेला प्रधानमन्त्री निर्वाचनमा भाग लिनुपर्ने अवस्थामा उनीहरु किन पुगे ? यसको जवाफ खोजेपछि मात्र मधेस आन्दोलनले निकास पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?