२९ असोज, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय पोशाक दौरा सुरुवाल लगाएर आफूले देशलाई जोड्ने काम गरेको बताएका छन् । मधेस र पहाडवीच एकताको कुरा गर्दा आफू विवादमा परेको राष्ट्रपति यादवले गुनासो पोखेका छन् ।
गैरआवासी नेपालीहरुको सम्मेलन उदघाटनमा शुक्रबार प्रमुख अतिथिका रुपमा मन्तव्य व्यक्त गर्दै राष्ट्रपति डा. यादवले सुशील कोइरालाको सरकारलाई खुलेर आलोचना गरे ।
आफूले हिमाल, पहाड र मधेसलाई जोड्नुपर्छ भन्दा संविधानसभा र सुशील कोइरालाको सरकारले नसुनेको र आफूलाई विवादमा पार्न खोजेको उनले गुनासो गरे ।
त्रिभुवन आर्मी क्लबमा आयोजित सम्मेलनमा प्रमुख अतिथिका रुपमा लिखित सम्वोधन गर्नुपर्व मौखिक सम्वोधन गर्दै राष्ट्रपति डा. यादवले सुशील नेतृत्वको सरकार, प्रमुख राजनीतिक दलहरु र संविधानसभाको आलोचना गरे ।
‘म्याद थपेर संविधान बनाऔं भनेको थिएँ’
मधेसी समुदायलाई सहमतिमा नल्याई हतारमा संविधान जारी गरिएकोतर्फ लक्षित गर्दै राष्ट्रपति डा. यादवले भने- ‘१०/१५ दिन समय दिएर, सबै भएर अगाडि बढौं भन्दा म पनि ‘कन्ट्रोभर्सी’मा परें । तर, सत्य कुरा त कसै न कसैले भन्नैपर्ने हो ।’
राष्ट्रपति यादवले निवर्तमान कोइराला सरकार र दलहरुप्रति थप असन्तुष्टि व्यक्त गर्दै भने- ‘मैले अरु केही भनेको छैन, मैले भनें केही स्पेस निकालेर दुई दिन दिनुहुन्छ, पाँच दिन दिनोस्, संविधानसभाबाट स्पेस निकालेर, त्यसैबाट बाटो निकालौं । समय दिनोस् । ७ दिनदेखि १५ दिनमात्र..म्याद बढाऔं । आह्वान गरोस् सरकारले र त्यसलाई सम्बोधन गरेर जाऔं । यही व्यहोरा मैले भनेको थिएँ । राष्ट्रिय एकता र सम्प्रदायको सदभावलाई मजबुद गर्न यसो गर्नुपर्छ भनेर मैले भनें । तर, पोलिटिकल पार्टी, संविधानसभा, त्यसबेलाको सरकारले सुनेन ।’
भिडियो हेर्नुस्
राष्ट्रपति यादवले अब नयाँ सरकार र मुख्य दलहरुले मधेस, पहाड र हिमाल, सबैलाई समेटेर अघि बढ्नुपर्ने बताए । ‘मेजर पोलिटिकल पार्टी र परिवर्तित सभालाई म भन्न चाहन्छु, यो हाम्रो समस्या हो । मधेस रहे देशभित्र छ । सबै नेपाली हामी स्वाभिमानी छौं,’ राष्ट्रपतिले भने, ‘भूकम्पका बेला सबैको मन जुटेको थियो । त्यही मन जोड्ने काम अहिलेको प्रतिनिधिसभा, सरकार, मेजर पोलिटिकल पार्टिले गर्दियोस् भनेर मैले आशा लिएको छु । मैले घच्घच्याइरहेको छु ।’
मधेसका जनता दुई महिनादेखि तड्पिइरहेको र चाडबाडका बेलामा भइरहेको अवरोधले सम्पूर्ण देशवासीहरु चिन्तित रहेको राष्ट्रपति यादवले बताए । उनले भने- ‘त्यो मधेसको समुदाय, यत्रो भूगोल, यत्रो समुदाय, जहाँ दुई महिनादेखि तड्पिइरहेको छ । त्यसको प्रभावले, आज चाडबाडको सामुन्ने सम्पूर्ण देशबासीहरु दुःखी छौं ।’
दौरा सुरुवाल लगाएर राष्ट्रिय एकतालाई बलियो पारें
पहिले धोती, पाइजामा, गम्छा र कूर्ता लगाउने आफूले दौरा सुरुवाल र टोपी गाएर देशव्यापी घुमेको र राष्ट्रिय एकतालाई बलियो पार्ने काम गरेको राष्ट्रपतिले बताए ।
राष्ट्रपतिले एनआरएनको सभामा भनें- ‘तपाईहरुलाई याद छ मैले ७ वर्ष पहिले कूर्ता पाइजामा, बण्डी र गम्छी र टोपी लगाएर मैले देशभरि घुमें । हामी नेपाली मधेसी र पहाडी भाइभाइ छौं । त्यो मेरो उक्ति होइन, मैले महापुरुष (माहात्मा गान्धी) सँग सिकेको थिएँ । मैले देशभरि घुमें र मैले भन्दै आएँ, राष्ट्रियताको कुरामा वीपी कोइरालाको नीति थियो कि कि धोती, टोपी, लंगौटी, लुंगी, बख्खु, कछाड सबै हामी नेपाली छौं । मैले सम्पूर्ण हिमाल राष्ट्रिय पोशाक लगाएर, दौरा सुरुवाल लगाएर मैले देशलाई जोड्ने काम गरेको छु । भोलि पनि मेरो यही काम हुन्छ ।’
एकपटक गाउँ जानोस्
विभिन्न देशहरुबाट एन आरएनको सम्मेलनमा भाग लिन काठमाडौं आएका प्रवासी नेपाली अगुवाहरुलाई राष्ट्रपतिले एक पटक आफ्नो गाउँ जान आग्रह गरेका छन् । गाउँमा गएर विद्यालय वा त्यस्तै आवश्यक विकासका काममा ध्यान दिन उनले आग्रह गरे ।
एनआरएन प्रतिनिधिलाई राष्ट्रपतिले भने- ‘मैले भन्नेवाला थिएँ कि तपाईहरु सबै आफ्नो-आफ्नो गाउँमा पुग्नोस्, (बन्दहडतालाई सम्झँदै) तर मैले फेरि सोचें, जान्छ कसरी ? सबैले आफ्नो-आफ्नो गाउँमा टेक्नोलोजिकल स्कुलहरु…. भन्नेवाला थिएँ । तर, याद गर्नुहोला, निश्चय नै आएका बेलामा आफ्नो गाउँमा पुग्नुहोला । त्यहाँ के गर्नु छ, त्यसलाई गर्नुहोला ।’
राष्ट्रपति यादवले शेष घलेको अध्यक्षतामा विजयी बनेको एनआरएनको नेतृत्व टीमलाई बधाइ एवं शुभकामना दिए । घलेको टीमलाई उनले भूकम्पपछिको पुनिर्निर्माणमा सघाउनसमेत उनले आग्रह गरे ।
भाषणको अन्तिममा पनि राष्ट्रपतिले भने- साइकल चढेर भए पनि तपाईहरु एकचोटि आफ्नो गाउँमा जानोस् ।
सरकारलाई सुझाव- देशको समस्या आफैं समाधान गरौं
राष्ट्रपति डा. यादवले दिल्ली जान लागेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापातिर लक्षित गर्दै देशको समस्या हामी आफैंले समाधान गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा उपस्थित मन्त्री थापातिर संकेत गर्दै राष्ट्रपति यादवले भने- ‘सरकारलाई, डेपुटी प्राइममिनिस्टरलाई फेरि एकचोटि आग्रह गर्न चाहन्छु, हाम्रो देशको समस्या आफैं समाधान गरौं । तपाई स्किल मिनिस्टर पनि हुनुहुन्छ, सक्षम पनि हुनुहन्छ, मेरो शुभकामना छ, हाम्रो मित्र राष्ट्रसँगको सुक्ष्म, डिप्लोम्याटिक तरिकाले सौहादर््र गर्नुहोला, यही मेरो शुभकामना छ ।’
प्रतिक्रिया 4