
४ भदौ, लन्डन । किताब यात्रा फाउन्डेशनले मंगलबार किताब जात्रा फेस्टिभल गरेको छ । लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा दूतावास भवनमा अवार्ड वितरण, कविता वाचन, अन्तरक्रिया तथा पुस्तक प्रदर्शनसहित यूकेको दोस्रो संस्करण भएको हो ।
वि.सं. २०७५ बाट सुरु भएको किताब जात्रा फेस्टिभल भारतमा ४ र नेपालमा ६ पटक भइसकेको छ भने यूके दोस्रो संस्करण भएको आयोजकले जनाएका छन् ।
प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले नेपाली कला संस्कृति र साहित्यलाई डायष्पोरामा समेत प्रवर्द्धन गर्न फाउण्डेशनले निर्बाह गरेको भूमिका प्रशंसनीय भएको बताए ।
सञ्चारकर्मी टिकाराम यात्री मोडरेटर रहेको पहिलो सेसनमा राजदूत घिमिरेले निजामति कर्मचारी छँदा सिंहदरबारमा थिचिएको अनुभूति हुने भए पनि राजदूत बनेपछि उन्मुक्त, स्वतन्त्र तर चुनौती भारी रहेको बताए । ‘विल्कुल अर्को समुदायमा नेपाल सरकारकै प्रतिनिधि भएर सबै आँफैंले जिम्मेवारी लिनुपर्ने हुँदोरहेछ’, उनले सुनाए, ‘गर्नुपर्ने धेरै हुन्छ। प्राथमिकता धेरै छन् । त्यसलाई साकार बनाउन लागिरहेको छु ।’
दूतावासको कन्सुलर सेवा चुस्त बनाउनुबाहेक आफू विशेष गरि इकोनोमी डिप्लोमेसीमा लागेको उनले बताए । ‘अहिलेसम्म यहांका प्रधानमन्त्रीको नेपाल भ्रमण नहुनु दुःखद् भएकाले त्यसका लागि पहल भइरहेको छ । दोहोरो कर उन्मुक्तिमा काम गरिरहेका छौं’, उनले थपे ।
राजदूत घिमिरेले एक प्रसंगमा बेलायतमा नेपाली संघसंस्था धेरै खोल्नु भन्दा राम्रो बनाउन सुझाव दिए ।
विशेष अतिथि लर्ड रेमी रेन्जरले डिजिटल युगमा सबै रमाइरहँदा आफ्नो कला संस्कृति, किताव पढ्ने बानी नबिर्सन आग्रह गरे । यस्ता महोत्सवले नयाँ पुस्तालाई पनि ऊर्जा मिल्ने जनाउँदै लर्ड रेन्जरले गोर्खा सैनिक रोल मोडल कम्युनिटी भएकाले आफूले सम्मान गर्ने बताए ।
विभिन्न व्यक्तित्वलाई अवार्ड प्रदान
सो अवसरमा किताव यात्रा फाउन्डेशनले बेलायतको समुदायमा रहेर विभिन्न क्षेत्रमा सफलता प्राप्त गरेका तथा योगदान दिएका व्यक्तिहरुलाई अवार्ड प्रदान गरेको छ ।
बीबीसी नेपाली सेवाका पूर्वप्रमुख खगेन्द्र नेपालीलाई ‘किताब जात्रा डायष्पोरा लाइफ टाइम अचिभमेन्ट अवार्ड’, साहित्यकार कृष्ण बजगाईंलाई ‘किताब जात्रा डायष्पोरा लिटरेचर अवार्ड’, अनलाइनखबरका बेलायत संवाददाता नवीन पोखरेललाई ‘किताब जात्रा डायस्पोरा जर्नालिज्म अवार्ड’, मिडियाकर्मी एवं भिडियो-फोटोग्राफर कुशल श्रेष्ठलाई ‘किताब जात्रा डायष्पोरा मिडिया अवार्ड’, उद्यमी डा. रक्षा थापालाई ‘किताब जात्रा डायष्पोरा अन्टरप्रिनरसीप अवार्ड (फिमेल)’, इरो सुसी सञ्चालक छोङ् शेर्पालाई ‘अन्टरप्रिनरसीप अवार्ड (मेल)’ र नेपाल फुड्सका सञ्चालक व्यवसायी विकास नेपाललाई ‘युथ आइकन’ अवार्ड प्रदान गरिएको छ ।
राजदूत घिमिरे र सञ्चारकर्मी टिकाराम यात्रीले अवार्ड प्रदान गरे ।
दोस्रो छलफलमा माइकल हट, संगीता स्वेच्छा, गोपी सापकोटा र कृष्ण बजगाईं प्रमुख वक्ता थिए । उनीहरुले ‘नेपाली कला, संस्कृति र साहित्यको विश्वव्यापीकरण’ विषयमा बहस गरे ।
सञ्चारकर्मी यात्रीले मोडरेट गरेको उक्त छलफलमा अन्तर्राष्ट्रिय जगतमा नेपाली साहित्यको अवस्था, डायष्पोरा साहित्यको गुणस्तर, चुनौती आदि विषयमा वक्ताहरुले आआफ्ना धारणा राखे ।
आयोजक किताब यात्रा फाउन्डेशनका निर्देशक ऋषिराम अधिकारीले सबैको साथ सहयोगप्रति आभार व्यक्त गर्दै पठन संस्कृतिलाई जनजीवनको अभिन्न अंग बनाउनु, किताब प्रदर्शनी, उद्यमशीलता प्रवर्द्धन एवं श्रष्टा सम्मान कार्यक्रमको उद्देश्य रहेको बताए ।
अधिकारीले फाउण्डेशनले साहित्यिक महोत्सवबाहेक नेपालका विभिन्न २० ठाउँमा पुस्तकालय निर्माण, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान समेत गरेको बताए ।
सिभिरा लामा रुइतले सञ्चालन गरेको कार्यक्रममा कविता वाचन समेत भएको थियो । साहित्यकारहरु जगत नवोदित, निर्भिकजंग रायमाझी, गजलकार नृपेश उप्रेती, भारतीय कवि शाहज खानले आआफ्ना रचना सुनाएका थिए ।
प्रतिक्रिया 4